नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको नव निर्वाचित कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । चैत पाँच गते भएको मञ्चको अधिवेशनमा निर्वाचित नयाँ कार्यसमितिको पदस्थापना पत्रकार महासंघको सभाहलमा सम्पन्न भएको हो ।
पदस्थापना समारोहमा बोल्दै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशमा पर्यटन र खेलकुदमा अथाहा सम्भावना रहेको बताए ।
उनले गण्डकी प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्न खेलकुद पत्रकारको समेत ठुलो हात हुने बताए । खेलकुदको माध्यमबाट पर्यटन समेत वृद्धि गर्ने उनले बताए ।
कोरोनाले आक्रान्त बनाएको अवस्थामा देशलाई खेलकुदले नै उकास्ने काम गरेको र गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यताको प्रदेश भएकाले स्वदेशी तथा विदेशी खेलाडी लोभिने गरेको थापाले बताए ।
उनले सरकार र व्यक्तिगत रुपमा आफुले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा खेलकुद पत्रकारका लागि प्रशिक्षण दिने गरी बजेट विनियोजन गरिने बताए । उनले पोखरा स्पोट्र्स अवार्ड र प्रशिक्षणका लागि बजेट विनियोजन गराउनका लागि कार्यसमितिले परिषद्लाई आवस्यक सहयोग गर्न समेत आग्रह गरे ।
युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव बद्रीनाथ अधिकारीले खेलकुद मन्त्रालयले खेलकुदको क्षेत्रलाई अघि बढाउँदै गर्दा मञ्चको सुझावको अपेक्षा गरेको सुनाए ।
उनले गण्डकी प्रदेशमा १२ महिनानै खेलकुद गर्न सकिने हुदाँ हरेक वर्ष सबै खेलको प्रदेश स्तरीय र राष्ट्रिय स्तरका खेलकुद गर्न आवस्यक रहेको बताए ।
पदस्थापना लगत्तै मञ्चको पहिलो बैठक समेत सम्पन्न भएको छ । पहिलो बैठकले दुई सल्लाहकार मनोनित गरेको छ । निवर्तमान अध्यक्ष एकराज गिरी र रञ्जन अधिकारीलाई सल्लाहकारमा मनोनित गरेको छ ।
मञ्चका अध्यक्ष दिनानाथ बरालले अक्षयकोषको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी ३ वर्षभित्र अक्षय कोषको स्थापना गर्ने खेल पत्रकारका लागि प्रशिक्षणहरु समेत प्रदान गर्ने बताए ।
पाँच गते सम्पन्न अधिवेशनमा अध्यक्ष पदमा दिनानाथ बराल विजयी भएका थिए । उनले रन्जन अधिकारीलाई ९ मतले हराउँदै अध्यक्ष चयन भएका थिए । कुल ४९ मत खसेकोमा बरालले २९ मत र अधिकारीले २० मत प्राप्त गरेका गरेका थिए ।
उपाध्यक्षमा सुरज श्रेष्ठ, महासचिवमा राजाराम पौडेल, सचिवमा शशीकुमार पौडेल, कोषाध्यक्षमा कविता घर्तीमगर र सदस्यहरुमा दिपकराज मुल्मी, नारायण शाही, उमेश पुन, मानबहादुर घर्ती (एमबी आस्था) र राजु गिरी सर्वसम्मत निर्वाचित भएका थिए ।





