आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकीका कुलपतिले जलाए आफ्नै किताब

गण्डकीका कुलपतिले जलाए आफ्नै किताब

सरकारकै डेढ लाख लगानी !


  • विकास मगर
  • चैत्र २० २०७८, आइतबार

पोखरा/ गुरुङ जातिबारे भ्रामक इतिहास लेखेको भन्दै गुरुङ समुदायले विरोध जनाएपछि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले शुक्रबार आफ्नै किताब जलाए । कात्तिक १७ गते प्रकाशित ‘लमजुङ र पृथ्वीसुब्बा’ नामक कृतिले गुरुङ समुदायमाथि नै फाटो ल्याउने काम गरेको आरोप लागेपछि उनले सो किताब जलाउँदै च्यातेका हुन् ।

उक्त कृतिको पृष्ठ १५ मा रहेको ‘पृथ्वीसुब्बा गुरुङ पुख्र्र्यौली’ खण्डमा पूर्वमुख्यमन्त्री गुरुङकोे परिचय दिँदै उक्त खण्डको दोस्रो अनुच्छेदमा बिखर्चीले लेखेका थिए, ‘गुरुङ जातिहरु मध्ये उच्चस्तरको चार जात र निम्नस्तरको सोह्र जात भनेर पनि चिनिन्छ । यिनी (पृथ्वीसुब्बा गुरुङ) चार जाते हुन् । तर, यिनी जातीय विभेदको विरोध गर्छन् ।’

गुरुङ जातिबारे ‘भ्रामक र गलत’ इतिहास स्थापित गरेर जातीय फाटो ल्याउन खोजेको भन्दै गुरुङ समुदाय विरोधमा उत्रेका हुन् । ‘… यसप्रकारको विखण्डनकारी सोच, चिन्तन दृष्टिकोण भएका व्यक्तिलाई गण्डकी प्रज्ञा प्रतिष्ठानको कुलपतिजस्तो गरिमामय पदमा एक मिनेट पनि बाहल गर्न मिल्दै मिल्दैन,’ अधिवक्ता मीन गुरुङले पुस्तकबारे प्रतिक्रिया दिँदै फेसबुकमा लेखेका थिए, ‘त्यसैले तत्काल राजीनामा दिएर आम गुरुङ समुदायसँग सार्वजनिक माफी माग्नुपर्छ ।’
गुरुङले फेसबुकमा किताबले निर्माण गर्न खोजेको गलत इतिहासप्रति विरोध जनाएपछि अन्य गुरुङ संघसंस्थाका अगुवाहरुले पनि सार्वजनिक रुपमै विरोधमा उत्रेका थिए । गुरुङ समुदायको तीव्र विरोध पछि बिखर्चीले फागुनमा उल्लेखित वाक्य सच्याउँदै ‘गुरुङ समुदायभित्र कुनै उच्च र निचस्तरको जाति हुन्छ भनी ज–जसले हल्ला चलाए पनि…’ उल्लेख गरेका थिए ।

तर, त्यसपछि पनि गुरुङ समुदायको भावनामाथि ठेस पु¥याएको भन्दै विरोध रोकिएन । बिहीबार गुरुङ संघसंस्थाका अगुवाहरुले कुलपतिलाई आफूले गलत इतिहास लेखेको विषयमा गुरुङ समुदायसँग माफी माग्न र पदबाट राजीनामा दिनसमेत बिहीबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए ।

दिएको समयमा माफी नमागे कुलपतिको कार्यालय घेराउ गर्ने र तालाबन्दी गर्ने उनीहरुको निर्णय थियो । सोही दबाबका कारण उनले शनिबार गुरुङ साहित्यिक मञ्चले आयोजना गरेको कार्यक्रममा उपस्थित भएर सार्वजनिक रुपमै आफ्नो कृति जलाएका हुन् ।
‘मैले लेख्दै गर्दा विवेक पु¥याउन सकिनँ । यसबारे आत्मालोचित छु । लेखेको त्यो सत्य छैन, त्यस्तो लेख्न मेरो नियत पनि होइन,’ कुलपतिले बिखर्चीले भने, ‘छापिइसकेको पहिलो संस्करणको बाँकी किताब प्रति र इलेक्ट्रोनिक कपीसमेत नष्ट गर्ने प्रतिवद्धता जनाउँदछु ।’

किताबमा सरकारी लगानी !

बिखर्चीलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारले नै एमाले ‘कोटा’बाट प्रतिष्ठानको कुलपतिमा नियुक्त गरेको थियो । गण्डकी प्रदेश सरकारले प्रतिष्ठानका पदाधिकारीका लागि आह्वान गरेको आवेदनमा निवेदन बुझाएर ०७८ बैशाख १४ गतेको क्याबिनेटले कुलपति नियुक्त गरेको थियो । निर्वतमान मुख्यमन्त्री गुरुङले उनलाई बैशाख २१ शपथ खुवाएका थिए ।

कुलपति नियुक्त भएपछि बिखर्चीले मुख्यमन्त्री (निवर्तमान) पृथ्वीसुब्बा गुरुङको ‘गुणगान’सहितको कृति लेखेर कात्तिकमा प्रकाशित गरे । उनलाई त्यही कृतिले विवादितमात्रै बनाएर, सार्वजनिक रुपमै जलाएर नष्ट गर्ने अवस्थासम्म पु¥यायो । शुक्रबारको कार्यक्रममा उनले उक्त पुस्तकको सबै प्रति नष्ट गर्ने र विद्युतीय कपीसमेत हटाउने प्रतिवद्धता जनाउन बाध्य भए ।

लेखेको उक्त पुस्तकमा गण्डकी प्रदेशकै खर्चमा प्रकाशन गरेको खुलेको छ । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सरकारकै मन्त्रिपरिषद्ले निर्णय गरेर बिखर्चीलाई उक्त पुस्तक प्रकाशन गर्न फरकफरक मितिमा १ लाख ५० हजार रुपैयाँ बढी आर्थिक सहायता दिएको थियो ।

तत्कालीन मन्त्रिपरिषद्को २०७७ को आर्थिक वर्षको अन्त्यमा असार २५ गते बसेको बैठकले ‘पुस्तक प्रकाशनमा आर्थिक सहयोग’ शीर्षकमा सरकारी सहयोग दिएको थियो । तर, सरकारले असार मसान्तमा निर्णय गरेको भए पनि उनले भुक्तानी भने पहिल्यै लिइसकेको समेत खुलेको छ । उनले जेठ ३० मा १ लाख र असार ११ गते ५० हजार रुपैयाँ लिएको प्रमाण लिएका थिए ।

पुस्तक प्रकाशन गर्न दोहोरो सुविधा !

प्रदेश सरकारले जारी गरेको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७६ मा व्यक्तिगत सहायता २५ हजार र संस्थागत सहायता एक लाख रुपैयाँसम्म लिनसक्ने व्यवस्था छ । सोभन्दा माथि सहयोग चाहिएमा मन्त्रिपरिषद्को शिफारिस चाहिन्छ ।
तर, बिखर्चीले प्रदेशको सोही व्यवस्थाको ‘दुरुपयोग’ गर्दै पुस्तक प्रकाशन गर्न १ लाख ५० हजार रुपैयाँमात्रै लिएका छैनन्, दोहोर सुविधासमेत लिएको खुलेको छ ।

‘सरकारको वार्षिक कार्यक्रममा परेकाबाहेक कुनै पनि सरकारी तथा गैरसरकारी संस्थालाई आर्थिक सहायता र अनुदान नदिने, तोकिएको मापदण्डभित्र रहेर मात्र क्षतिपूर्ति, आर्थिक सहायता तथा औषधि उपचार खर्चवापत आर्थिक सहायता प्रदान गर्ने, यस्तो सहायता पाउने व्यक्ति तथा संस्थाको अभिलेख राखी एउटै व्यक्ति तथा संस्थालाई दोहोरो सुविधा उपलब्ध गराउन नहुने र उक्त व्यवस्था प्रदेश सरकारका सबै कार्यालयहरूले पालना गर्नुपर्ने’ उल्लेख छ ।

तर, कुलपति बिखर्चीले प्रदेश सरकारकै अभिलेखमा उनले एउटै शीर्षकमा २ पटक आर्थिक सहयोग लिएको खुलेको हो । उनले एकै आर्थिक वर्षमा करिब २ हप्ताको फरकमा एकै शीर्षकमा २ पटक प्रदेश सरकारबाट आर्थिक सहयोग लिएके भेटिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->