बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा महिलाहरुका लागि एक हप्ते उद्घोषण ,भाषण तथा नेतृत्व विकास तालिमको शुरुवात भएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले महिलाहरुलाई समाजको मुलधारमा समाहित गर्न यो तालिमले विशेष भूमिका खेल्ने बताए ।
उनले महिला क्षमता अभिबृद्धिका लागि पालिकाले विशेष महत्व दिएर यस्ता कार्यक्रम सञ्चालन गरेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत जित बहादुर रानाले तालिमले सहभागीहरुमा विभिन्न कार्यक्रममा निर्धक्क बोल्न सक्ने तथा आफ्ना कुरा भन्न सक्ने क्षमताको विकास हुने विश्वास व्यक्त गरे ।
गाउँपालिकाका उपाध्यक्ष ढिकी गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कर्मचारी देवेन्द्र थापाले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ कविराज निरीक्षक जर्नादन आचार्यले गरेका थिए ।
कुल २५ जना सहभागी कार्यक्रममा सञ्चारकर्मी गोविन्द थापाले सहजीकरण गर्नेछन ।





