शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

बागलुङमा चैतेदशै मेला शुरु, पहिलो दिन भलिवल प्रतियोगिता

बागलुङमा चैतेदशै मेला शुरु, पहिलो दिन भलिवल प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • चैत्र २४ २०७८, बिहिबार

बागलुङ/ चैतेदशै बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा । यस्तै मौलिक र चर्चित भाखाको गीत बागलुङमा लाग्ने चैतेदशै मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन ५ सयबर्ष पुरानो हो । यो वर्षपनि चैतेदशैको अवसरमा बागलुङमा मेला शुरु भएको छ ।

कोरोना संक्रमणका कारण दुइ वर्षसम्म मेला भएको थिएन । यो वर्ष भने संक्रमण नभएको मौका परेकोले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैतेदशै मेला शुरु गरेको छ । बिहिबार गण्डकी प्रदेशका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाले मेलाको उद्घाटन गरे । उनले चैतेदशै मेला धार्मिक महत्वको मात्र नभई गीत संगीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वको रुपमा स्थापित भएको बताए ।

चैतेदशैमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामाग्री समेतको बजारीकरण गर्ने पर्वको रुपमा समेत वर्षौदेखि मनाइएको छ । चैतेदशै मेला कालिका मन्दिरमा लाग्छ । दुर्गा तिथिमा लाग्ने मेलालाई चैतेदशैको रुपमा मनाइन्छ । यो बेला टाटाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउनेहरु धेरै हुन्छन् । साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सिपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ ।

समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनहरुको बजार लागेको छ । कालिका मन्दिर परिसरमा तीनचार दिनदेखिनै मेलाझै बनिरहेको छ । साथै चैतेदशैको अवसरमा अष्ठमी र रामनबमीमा यहाँ बिशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ ।

गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन बिभिनन स्थानबाट १७ टिम दर्ता भएका छन् । बिहिबारदेखि नै खेलहरु पनि शुरु भएका छन् ।
त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारहरुको प्रस्तुती रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए ।
कार्यक्रमलाई गुठीले पछिल्लो १० वर्षदेखि लगातार गर्दै आएको थियो । कोरोनाका कारण गतवर्ष मेला संचालन भएको थिएन । चैतेदशै मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षहरुमा यहाँ बिक्री भएको नरिवलको संख्या र सोही अनुपातमा आउने भत्तजनको मूल्यांकन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताए ।

पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोको रुपमा कालिका मुर्ती ल्याएको इतिहास छ । राजाले उक्त मुर्ती घना जंगलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदशै र बडा दशैमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौं भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन ।

बागलुङको पर्यटक प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए । पछिल्लो समयमा अन्य गन्तव्य शुरु भएपनि बागलुङको पहिचान चैतेदशै मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयले पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->