पोखरा/ नाबालिग बलात्कार आरोप लागेका पोखराका व्यवसायी सुन्दर श्रेष्ठ र यौन दुव्र्यवहार आरोप लागेका बैंकर सुवास सुवेदीलाई जिल्ला अदालतले सफाई दिएको छ । कास्की अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलाशले बुधबार अभियोग दाबी नपुग्ने फैसला गरेर दुबै जनालाई सफाई दिएका हुन् ।
पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको हैसियतमा रहँदा श्रेष्ठ बलात्कार आरोपमा २०७५ चैतमा पक्राउ परेका थिए । श्रेष्ठसँग एनआइसी एसिया बैंक पस्र्याङ शाखा प्रमुखकै रुपमा काम गर्दागर्दै सुवेदी बैंकबाटै पक्राउ परेका थिए । अदालतले दुबै जनालाई सफाई दिने फैसलाको पूर्णपाठ भने आइसकेको छैन ।
पोखराको होटल दि कान्तिपुर र रत्नदेवी हाउसका कार्यकारी अध्यक्ष रहेका श्रेष्ठ क्षेत्रीय होटल संघ, पोखरा पर्यटन परिषद, रोटी क्लब अफ पोखरा लगायत संस्थाका पूर्व अध्यक्ष समेत हुन् । बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा श्रेष्ठ ५ लाख र सुवेदी ३ लाख रुपैया धरौटीमा छुटेका थिए ।
लेकसाइडमा पहारी परिवारमा बस्दै आएकी १६ बर्षीय नाबालिगले श्रेष्ठलाई बलात्कार आरोप लगाएकी थिइन् । नाबालिग एक दिन अचानक घर छडेर हिडिन् । साथीलाई भेटेर रुँदै आफु मर्न लागेको बताइन् । उनले साथीलाई श्रेष्ठले पटक पटक बलात्कार गरेको र सुवेदीले यौन दुव्र्यवहार गरेको बताएकी थिइन् ।
प्रहरीसँगको बयानमा पनि नाबालिगले उक्त बयान दिएकी थिइन् । नाबालिगले आश्रय लिएकै घरसँग श्रेष्ठको घर जोडिएको छ । नाबालिग सुत्ने कोठामा झ्यालबाट छिरेर श्रेष्ठले पटक पटक बलात्कार गरेको र सुवेदीले संवेदनशील अंग चलाएर यौन दुव्र्यवहार गरेको उनले बयानमा बताएकी थिइन् ।
जिल्ला अदालत उक्त आदेश दिएसँगै पीडित नाबालिग होस्टाइल भएको हुन सक्ने आशंका गरिएको छ । नाबालिगका तर्फबाट बहस गरेका जिल्ला न्यायाधिवक्ता रुद्र सुवेदीले अदालतमा बयान दिँदा नाबालिगले बयान फेरेको बताएका छन् ।
‘प्रहरीलाई दिएको बयान नाबालिगले अदालतमा हुबहु दिइनन्, केही फेरिएको थियो,’ सुवेदीले भने, ‘अदालतको यो आदेश हामीलाई चित्त बुझेको छैन, छिट्टै उच्च अदालतमा पुनरावेदन जान्छौं ।’




