आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कति घरधुरी अन्धकार ? थाहा छैन !

कति घरधुरी अन्धकार ? थाहा छैन !


  • विजय नेपाली
  • चैत्र २५ २०७८, शुक्रबार

मन्त्री आचार्यले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म नवीकरणीय ऊर्जामार्फत ६.४६ प्रतिशत र राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत ९२.७९ प्रतिशत गरी गण्डकीका ९९.२५ प्रतिशत घरधुरीमा विद्युतीय पहुँच पुगेको छ ।

पोखरा/ नगरपालिकाभित्रैका नगरवासी भएर पनि ढोरपाटन नगरपालिका वडा नम्बर ६ का वासिन्दा अझै अँध्यारोमुनी नै छन् । गाउँमा बिजुली नपुग्दा अझै उनीहरु टुकी र लाल्टिनको सहारामा आफ्नो दैनिकी गुजार्नु परिरहेको छ ।
बागलुङकै सबैभन्दा दुर्गम बस्ती मानिएको उक्त वडा ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्छ । यो बाग्लुङको माथिल्लो भेगको अन्तिम सीमाना वडा पनि हो । पूर्वमा म्याग्दी र उत्तरमा रुकुम‘पूर्व’सँग जोडिएको भेग पनि हो ।
ढोरपाटन नगरपालिका ६, का वडाध्यक्ष जीवनकुमार पुनमगर वडाको भण्डारी गाउँ र छ्यान्तुङ गाउँ पूरै अँध्यारोमै रहेको सुनाउँछन् । दुवै बस्ती गरेर ३ सय ३५ घरधुरी अहिलेसम्म बत्तीविहीन छन् । ‘वडाका अन्य ठाउँका घरसमेत जोडेर ४ सयको हाराहारीमा बिजुली पुग्न सकेको छैन,’ उनी भन्छन् ।

प्रदेश सरकारको सहयोगमा माइक्रो हाइड्रो बनाउनेबारे छलफल भए पनि जनताले किनेर पनि बाल्न सक्ने अवस्था नरहेको वडाध्यक्ष पुनमगर सुनाउँछन् । ‘कुनै ठाउँमा बिजुली नै नपुगेर बाल्न सकिरहेका छैनन् । बाँकी कसैले मिटरको शुल्कसमेत तिर्न नसक्ने अवस्था छ,’ उनी भन्छन्, ‘त्यसैले हाम्रो वडाको ठूलो जनसंख्या अहिले पनि टुकीकै सहारामा छ ।’

गाउँमा बिजुली बत्ती नहुँदा विपत्कोबेला पनि पूरै बस्ती नै सम्पर्कविहीन हुनुपर्ने स्थिति रहेको वडाध्यक्ष पुनले सुनाए । ‘बिजुली पुगे पो फोन हुन्छ, इन्टरनेट हुन्छ, वाइफाई होला ! अहिले त त्यहाँ केही पनि छैन । केही भइहाल्यो भने पनि थाहा हुनै गाह्रो हुने स्थिति छ,’ उनी भन्छन् ।

ढोरपाटनको भण्डारी गाउँ र छ्यान्तुङ गाउँलाई उज्यालो दिन हाललाई सोलार भए पनि उपलब्ध गराउन प्रदेश सरकारलाई आग्रह गरिएको वडाध्यक्ष पुनले जानकारी दिए । ‘वडाबाट हामीले मागिरहेका छौं । सक्दो कोशिस गरिरहेका छौं,’ उनले भने ।
वडाले आफ्नो वडाको वस्तुस्थिति राखेपनि आफ्नो अधिकार क्षेत्रभित्र पर्ने प्रदेश ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालयले भने प्रदेशभर कति जनता अँध्यारोमुनी छन् भन्ने तथ्यांक राखेको छैन । मन्त्रालयले बिहीबार मन्त्रालयको दोस्रो चौमासिक प्रगति विवरण सार्वजानिक कार्यक्रममा मन्त्री हरिशरण आचार्यले भने, ‘यो तथ्यांक हामीसँग छैन । र यो विद्युत प्राधिकरणसँग पनि छैन । बुझ्दैछौं ।’

प्रदेश सरकारले अब सके मुख्य प्रसारण लाइनबाटै विद्युत पु¥याउने नसके वैकल्पिक ऊर्जाको प्रयोग गरेरै भए पनि लाल्टिन र टुकीको प्रयोग हटाउने दाबी मन्त्री आचार्यको छ । उनका अनुसार राष्ट्रिय विद्युत प्रशारण लाइनम नजोडिएका क्षेत्र मनाङ, मुस्ताङ, म्याग्दी, र गोरखा का विभिन्न ७ स्थानीय तहमा अनुदानमार्फत सौर्य ऊर्जा वितरण कार्य सुरु भइसकेको छ । ‘अहिलेसम्म १ हजार २०५ घरधुरीमा प्रदेशले ७५ प्रतिशत अनुदानमा सौर्य ऊर्जा दिइसकेको छ,’ उनले भने ।
बिहीबारको पत्रकार सम्मेलनमा चालु आर्थिक वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए । ‘गण्डकी प्रदेशका सम्पुर्ण घरधुरीमा कुनै न कुनै किसिमको विद्युतको सुविधा पु¥याई गण्डकी प्रदेशलाई उज्यालो गण्डकी प्रदेश घोषणा गरिनेछ,’ उनले भने ।

मन्त्री आचार्यले सार्वजनिक गरेको प्रगति विवरणअनुसार हालसम्म नवीकरणीय ऊर्जामार्फत ६.४६ प्रतिशत र राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत ९२.७९ प्रतिशत गरी गण्डकीका ९९.२५ प्रतिशत घरधुरीमा विद्युतीय पहुँच पुगेको छ ।
खानेपानीमा पनि उस्तै बिजोग !

विद्युतमा मात्र होइन् खानेपानी तर्फ त झन बिजोग छ । गण्डकीले ‘एक घर एक धारा अभियान’ चलाइरहँदा समेत अझैपनि धेरै ग्रामीण क्षेत्रमा पानीको अभाव छ । पोखरामै पनि अझैसम्म बर्खाको समयमा हिलो पानी खानुपर्ने बाध्यता छ । खानेपानी तर्फ अझै ७ प्रतिशत बढी घरधुरीमा धारा पुग्न सकिरहेको छैन ।

मन्त्री आचार्यले गण्डकी प्रदेशका हरेक घरमा धारा पु¥याउन १३ अर्ब रुपैयाँ लागे पनि प्रदेशमा ४ अर्बमात्रै रहेकाले निकै समस्या रहेको सुनाए । हालसम्म ४ लाख ७२ हजार १ सय ९३ जना जनसंख्या लाभान्वित भएपनि सरकारले अलपत्र परेका आयोजनालाई सम्पन्न गर्न रकमान्तर गर्दै दोब्बर नतिजा निक्लिने तरिकाले लागि राखेको बताए ।

मन्त्रालयले सार्वजानिक गरेको प्रगति अनुसार आर्थिक वर्ष २०७७/०७८ मा खानेपानी तर्फ ९७ प्रतिशत, सिंचाइ, नदी नियन्त्रण ऊर्जा तर्फ ८९.०६ सोही वर्षको दोस्रो चौमासिक सम्म ६६ प्रतिशत र ५५ प्रतिशत र आर्थिक वर्ष २०७८/०७९ ६७.२० र ५८.७० प्रतिशत प्रगति गरेको छ । वित्तीयतर्फ भने कुल २८ प्रतिशत र ३१ प्रतिशत प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->