बागलुङ/ जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो ।
सदरमुकाममा धौलागिरी आँखा अस्पताल र बाँकी तीनवटा नगरपालिकामा आँखा उपचार केन्द्रमार्फत सेवा प्रवाह भइरहेको नेपाल नेत्र ज्योति संघ बागलुङका अध्यक्ष भरत पुरीले बताए । यसअघि उपचार केन्द्र नरहेको जिल्लाको जैमिनीमा बिहीबार आँखा उपचार केन्द्र स्थापना भएपछि नगरपालिकामा आँखा उपचारको पहुँच पुगेको हो ।
गलकोटको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा यसअघि नै आँखा उपचार केन्द्र स्थापना भइसकेका थिए । नेत्र ज्योति संघ बागलुङले हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र जैमिनीको व्यवस्थापनमा आँखा उपचार केन्द्र स्थापना गरेको हो ।
बिहीबार पहिलोपटक आँखाको जाँच गरेर नगरप्रमुख इन्द्रराज पौडेलले उपचार केन्द्रको उद्घाटन गरे । उनले अब दक्षिण क्षेत्रका जनताले आँखाको सामान्य जाँच र उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए । उपयोगविहीन रहेको कृषि उपज संकलन केन्द्रको भवन प्रयोग गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएको हो ।
तत्कालका लागि नेत्रज्योती संघले कर्मचारीको व्यवस्थापन गर्ने र स्थानीय तहको निर्वाचन पछि नगरपालिकाले आँखा उपचार केन्द्रको सबै व्यवथापन गर्ने छ । प्राविधिक सहयोग भने हिमालयन आँखा अस्पतालसँग सहकार्य गरेर नेत्रज्योति संघले गर्ने अध्यक्ष पुरीले बताए ।
तत्कालका लागि आँखाको जाँच तथा उपचारको लागि आवश्यक १४ लाख मूल्य बराबरका उपकरण हिमालयन आँखा अस्पतालले सहयोग गरेको छ । उपचार केन्द्रको उद्घाटन समारोहमा बोल्दै हिमालयन आँखा अस्पताल पोखराका निर्देशक डा. एलिया श्रेष्ले आँखा जोगाउन नगरले र नेत्रज्योति संघले गरेको प्रयासको प्रशंसा गरिन् ।
नेत्र ज्योति संघका केन्द्रिय सचिव हरिप्रसाद शर्माले जिल्लाका सबै स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य रहेको बताए । कार्यक्रममा नगर उपप्रमुख लिला रानाले उपचार केन्द्रको उचित व्यवस्थापनमा नगर जिम्मेवार भएर लाग्ने बताए ।





