बागलुङ/जिल्लाको बरेङ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । धौलागिरी आयुर्वेद औषधालयको सहयोगमा बरेङ गाउँपालिकाले आरोग्य सेवा केन्द्र स्थापना गरेको हो ।
स्वास्थ्य सेवा दिवसरको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले केन्द्रको उद्घाटन गरे । उनले कोरोना महामारीपछि आयुर्वेदको महत्व बढेको भन्दै स्वस्थ्य जीवन शैलीका लागि योग र आयुर्वेद आवश्यक रहेको बताए ।
गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. नारायण श्रेष्ठले सबै स्थानीय तहमा नागरिक आरोग्य सेवा केन्द्र पुर्याउने लक्ष रहेको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन, प्रमुख प्रसशाकीय अधिकृत जित बहादुर राना, धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा. सरोज कुमार राय, औषधालय व्यवस्थापन समिति सदस्य ललिता थापा, वरिष्ट कविराज निरीक्षक डा. कमल विक्रम पौडेल, डा. प्रदिप अधिकारी, वैद्य निरीक्षक एकराज ढुंगानाले बोलेका थिए ।
गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख पदम बहादुर पुनले गरेका थिए ।
यसैबीच, नागरिक आरोग्य सेवा केन्द्र स्थापनासँगै बरेङमा एक दिने वृहत निःशुल्क आयुर्वेदिक तथा वैकल्पीक चिकित्सा स्वास्थ्य शिविर पनि सम्पन्न भएको छ । शिविरमा २ सय १० जना विरामीहरुले सेवा लिएका छन् ।
शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. नारायण श्रेष्ठ, धौलागिरि आयुर्वेद औषधालय बागलुङका प्रमुख डा. सरोज कुमार राय, डा. कमल विक्रम पौडेल, डा. प्रदिप अधिकारी, एकराज ढुंगाना एवं नागरिक आरोग्य सेवा केन्द्र र हुग्दीशिर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरुले बिरामीको जाँच तथा उपचार गरेका थिए ।
शिविरमा निःशुल्क स्वास्थ्य परिक्षण, प्रगोगशाला सेवा, स्नेहन÷ स्वेदन कर्मद्वारा सेवाग्राहीले लाभ लिएका थिए । बरेङ गाउँपालिकामा पहिलो पटक आयुर्वेद सेवा सुरु भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।





