आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

जिल्लामा पुग्न सकेन मनोसामाजिक रोगको औषधि

जिल्लामा पुग्न सकेन मनोसामाजिक रोगको औषधि


  • ढोरपाटन संवाददाता
  • चैत्र २६ २०७८, शनिबार

पोखरा/ गण्डकी प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा ठुलो काम गरिरहेको बताइरहँदा मानसिक रोगीहरुलाई भने अझै निःशुल्क औषधि पाएका छैनन् । मानसिक रोगको उपचारका लागि संरचना र डाक्टरको अभावसंगै सबै जिल्लामा औषधि नपुग्ने समस्या देखिएको छ ।
शुक्रबार एक अभिमुखीकरण कार्यक्रमका वक्ताहरुले अझैपनि राज्यले मनोसामाजिक र मानसिक रागिका लागि काम गर्न नसकेको गुनासो गरे ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठनको सहकार्यमा गण्डकी प्रदेशका सञ्चारकर्मीहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गतासम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देसक खिमबहादुर खड्काले प्रदेशका सबै जिल्लामा औषधि वितरण गर्न नसकेको स्वीकारे । ‘अहिले पनि मानसिक विरामीका लागि आवश्यक पर्ने औषधि हामीले सहज रुपमा वितरण गर्न सकिरहेका छैनौ । जुन रुपमा प्रदान गर्नुपर्ने हो त्यो हुन सकिरहेको छैन्’, उनले भने,‘हामीसँग निःशुल्क वितरण गर्ने औषधि आइसक्यो तर वितरण गर्न सकिएको छैन् । यसलाई हामी स्थानीय स्वास्थ्य चौकीबाट समेत वितरण गर्ने गरी योजना बनाइरहेका छौँ ।’

उनले मानसिक रोगीको उपचारको लागि डाक्टर अभाव रहेको पनि सुनाए । ‘मैले भरर्खरै ठूलो पुर्वाधार निमार्ण गरेर उपचारका लागि सहज बनाउन सक्छु भनेर झुटो भाषण गर्दिन । हामीसँग समस्या धेरै छन् । अहिले भनेको औषधि कसरी विरामीलाई सहज बनाउन सकिन्छ भन्ने नै मुख्य कुरा हो’,उनले भने । मानसिक विरामीका लागि परिवार भन्दा ठुलो औषधि केहिपनि नरहेको उनको धारणा थियो । उनले परिवारको साथविना औषधिलेमात्रै पनि काम नगर्ने बताए ।
प्रदेश स्वास्थ्य आपुर्ति प्रमुख रोशन न्यौपानेले पछिल्लो समयमा मानसिक रोगि बढिरहेको जानकारी दिए ।

राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्बन संगठनका कार्याकारी निर्देशक मात्रिकाप्रसाद देवकोटाले कतिपय ठाउँमा मानसिक रोगिलाई पनि झाँक्रिकोमा लैजाने प्रचलन रहेको बताए । रोगीलाई नेपालमा मानसिक परामर्श दिने प्रचलन कम भएकाले आत्महत्याको घटना बढिरहेको उनको भनाइ थियो । मानसिक रोगिले आफुमा भएको पीडा अरुलाई नसुनाउदा समस्या थप बढ्ने उनले सुनाए ।
मनोसामाजिक डाक्टर लिपा विद्याले पोखरा स्वास्थ्य विज्ञान प्रतिठान एउटा कोठामा ५ जना डाक्टरले मानसिक रोगीको उपचार गर्नुपर्ने बाध्यता रहेको सुनाइन । उनले कोठामा पनि अन्य कोठाका होहल्ला आउने र गापनीयताको भंग हुने गरेको कारण उपचारमा पनि समस्या आइरहेको बताइन ।

कोभिडका कारण पनि मानसिक रोगिको संख्या बढ्दै गएको हुनसक्ने उनको अनुमान रहेको छ । आत्महत्या गर्ने मध्ये ९५ प्रतिशत मानसिक रोगी रहेको उनले जानकारी दिइन । मानसिक रोगीले खुलेर आफ्ना समस्या नभन्ने र राम्रो उपचार नपाएका कारण यस्ता समस्या आउनेगरेको विद्याले बताइन ।

नेपालमा चालु आर्थिक बर्षमा सबैभन्दा बढी ७ हजार १ सय १७ जनाले आत्महत्या गरेका छन् । अघिल्लो वर्ष ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका छन् । २०७६ सालमा पाँच हजार ७ सय ५४ जना, २०७५ सालमा पाँच हजार ३ सय १७ र २०७४ सालमा पाँच हजार १ सय २४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने मध्ये १६ प्रतिशतमा १२ प्रतिशत मानसिक रोगको कारण रहेको छ भने पछिल्लो चार वर्षमा देशभर १३ प्रतिशतका दरले मृत्युदर वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ । आत्महत्या रोकथाम र न्युनिकरणका लागि प्रदेशको हेल्पलाइन १०९२ चौविसै घण्टा खुल्ला रहने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->