पोखरा/ नेपाली लोक संस्कृति बचाऔं नाराका साथ पोखरामा क्रियाशिल संस्था हिमाली सांस्कृतिक परिवार २५औं वर्ष प्रवेशको अवसरमा स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
हिमाली सास्कृतिक परिवारका संस्थापक अध्यक्ष रुपेन बाबु थापाको स्मृतिमा स्थापित रुपेनबाबु स्मृति पुरस्कारबाट वरिष्ठ नृत्य निर्देशक गमबहादुर परियार(गम्बीर बर्देवा) र बोलमाया गुरुङ सम्मान पुरस्कारबाट मनसुवा नेपाली सम्मानित भए । यसरी नै हिमाली सांस्कृतिक परिवारको वर्ष उत्कृष्ठ कलाकारबाट मिनबहादुर गुरुङ र दिपा गुरुङ पुरस्कृत भए ।
कार्यक्रममा हिमाली साँस्कृतिक परिवारका स्वर्गीय अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ मैनाले परिवारका अध्यक्ष ज्ञानबहादुर थापालाई कोषका लागि संकलित ३४ लाख रुपैयाको चेक गरेकी थिइन् । यसैबिच उक्त कोषका लागि तमु धिं नेपालका तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङसहितले कोषका संयोजक रुद्रकुमारी गुरुङ मैनालाई २ लाख १ हजार ५ रुपैया हस्तान्तरण गरिएको थियो।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष गजबहादुर गुरुङको स्वागत र सचिव श्रीजंग गुरुङको संचालनमा भएको कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ मैना लगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले परिवारले लोक सँस्कृति संरक्षण र विकासमा पुर्याएको योगदानको प्रसंशा गरे ।





