बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले निर्वाचन आचारसंहिता उलंघन गरेका छन् । आइतबार नगरपालिकाले आयोजना गरेको सम्मान कार्यक्रममा सहभागी भएर उनले मतदाता प्रभावित हुनेगरी विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका हुन् ।
चैत २५ गते रातीदेखि लागुहुनेगरी यस अघिनै निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७८ का लागि आचार संहिता लागु गरेको थियो । आचार संहिता लागू भएपछि मतदाता प्रभावित हुनेगरी कुनै पनि सम्मान र पुरस्कारका कार्यक्रममा जनप्रतिनिधि सहभागि हुन पाउँदैनन् ।
जैमिनी नगरपालिकामा जन्मेर राष्ट्रसेवामा विशिष्ट योगदान पु¥याउने व्यक्तिहरुलाई नगरप्रमुख पौडेलले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । विशेषगरि शिक्षा, स्वस्थ्य, संगितिक क्षेत्र, लेख तथा अन्य विभित क्षेत्रमा राष्ट्रियरुपमा उच्च ओदामा पुगेर सेवामा समर्पित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
‘पूर्वनिर्धारित कार्यक्रम भए, कर्मचारीले कार्यान्वयन गर्न पाउँछन् तर जनप्रतिनिधिले सम्मान गर्दा मतदाता प्रभावित हुनसक्छन्’, जिल्ला निर्वाचन कार्यालयका शाखा अधिकृत यज्ञप्रसाद रिजालले भने ‘गैरजिम्मेबार काम जनप्रतिनिधिले गर्नुहुँदैन् ।’
सम्मानित हुनेहरुमा पुर्व सचिव डा. महाश्रम शर्मा, वेगेन्द्रराज शर्मा, डा. दिनवन्धु शर्मा, डा. प्रमोद ढकाल प्र.डा. तरुण पौडेल, डा. माधव आचार्य, डा. रामु शर्मा, मुकुन्द शर्मा चालिस, जीवन शर्मा, ऋषिकेश शर्मा र नारायण शर्मा आचार्य लगायत छन् । ११ जना पूर्व बिशिष्टहरुलाई सम्मान गर्दै पौडेलले जैमिनीमा जन्मेर राष्ट्र सेवामा खटिएकोमा जैमिनीले गर्व गर्न पाएको बताए । कार्यक्रममा पुर्व सचिव डा. महाश्रमशर्माले जैमिनी नगरपालिकाले बिशिष्ट व्यक्तिहरुलाई सम्मान गरि नमूना काम गरेको बताए । सम्मान कार्यक्रम जैमिनी गरपालिकाका उपप्रमुख लिल रानाले स्वागत गरेका थिए ।





