पोखरा/ सानो टिनले छाएको २ कोठे झुप्रो । काँचो ब्लकको आडमा उभिएको भित्ता । पहिलो पटक नियाल्नेहरु त्यहाँ पनि मान्छे बस्छन् भन्ने अड्कल्नसमेत सक्दैनन् । तर, त्यही झुप्रोमा धनकुमारी दुरा (६०)ले आफ्नो जीवनको अमूल्य ३० वर्ष बिताइन् । आफ्ना छोराछोरीलाई जन्माइन्, हुर्काइन्, बढाइन् । दृश्य हो, पोखरा बसपार्क क्षेत्रमा रहेको सुकुम्बासी वस्तीको ।
बिहीबार ढोरपाटनकर्मी त्यहाँ पुग्दा दुरा आफ्नो घरबाहिर बसेर खाना खाँदै थिइन् । १२ बजेको हपहपी गर्मी । टिनले तातिएर बाफिएको कोठामा बस्न नसकेपछि उनी बाहिर आएकी थिइन् । तर, बाहिर पनि कहाँ शीतल थियो र ? उस्तै चर्को गर्मी ।
दुरा बसेको वस्तीको नाम गणतन्त्र टोल हो । उक्त वस्ती नियाल्दा लाग्छ, आफ्नै वस्तीको नामले उनीहरुलाई गिज्याइरहेको छ । जहाँका वासिन्दाले अझै गणतन्त्रको अर्थ बुझ्न त परै जाओस्, महसुससमेत गर्न पाएका छैनन् । उक्त टोल पहिले शिव टोल थियो । तत्कालीन संघर्षरत पार्टी माओवादी शान्तिप्रक्रियामा आइसकेपछिमात्रै गणतन्त्र टोल रहन गएको हो ।
‘यो ठाउँ कृष्ण टोलमा लैजाने कि शिव टोलमै राख्ने भन्ने तानातान हुँदा गणतन्त्र टोल भा’हो,’ दुरा सुनाउँछिन्, ‘तानातानमा टोलको त नाम फेरियो । यी हेर्नुस् त हामी उस्तै छौं क्यारे !’ पहिले उनी ज्याला मजदुरी गरेर जीविको चलाउँथिन् । बुढेशकाल लागेपछि अहिले त्यो पनि ठप्पै छ ।
दुराका जीवन साथीले छोडेर गएको पनि धेरै वर्ष भइसकेको छ । कहिले ? कुन मिति अब उनीसँग सम्झना पनि छैन । जीवनको अन्तिम ढिकमा उभिएकी दूराको अब एउटै सपना छ, आफू टेके, हुर्केको जमिन आफ्नो नाममा बनाउन पाए हुन्थ्यो ।
त्यही घरमा हुर्केकी छोरीको बिहे भइसकेको छ । अहिले उनको समाउने लठ्ठी नै छोरो हो । बिहीबार पनि छोरा मजदुरी गइसकेकाले उनी घरमा एक्लै थिइन् । ‘पहिले त म पनि सिमेन्ट बोक्थें, मसला (बालुवा र सिमेन्ट मिश्रण गर्ने काम) बनाउँथे । अहिले बुढी भएर छोडेको पनि ३ वर्ष भइसक्यो,’ उनी सुनाउँछिन् । गणतन्त्र टोलमा ६२ घरधुरीमा सुकुम्बासी बस्छन् ।
पोखरा ९ नम्बर वडा क्षेत्रमा पर्ने उक्त सुकुम्बासी वस्तीमा ५ वटा टोल छ । गणतन्त्र टोलजस्तै त्यहाँ रहेको कृष्ण टोल, शिव टोल, सहारा टोल, शािन्त टोल पनि सुकुम्बासीहरुले नै भरिएको छ । हेर्दा सामान्य लागे पनि यही सुकुम्बासी टोल नै समग्र पोखरामा राजनीतिक पर्दापर्ण गर्नेहरुको नक्षत्र भूमि पनि हो ।
८ सय १२ भन्दा बढी घरधुरी भएको उक्त सुकुम्बासी वस्तीका बासिन्दाले पोखराका जनप्रतिनिधिलाई जिताउने वा हराउने ल्याकत राख्दछन् । जसमध्ये ६ सयभन्दा बढी घरधुरी बसपार्क क्षेत्रमै छन् । यही कुरा पोखराबाट उठ्ने हरेक जनप्रतिनिधिलाई थाहा छ । त्यसैले त ती सुकुम्बासीहरु सधैं ‘प्रयोग’ भइरहन्छ, ‘भोट बैंक’ भइरहन्छन् ।
तर, दूरा पटकपटकको अवहेलनापछि यस पटक भोट बैंक नहुने बताउँछिन् । ‘सधैं भोट माग्न आउँदा यो गर्छु भन्छन्, त्यो गर्छु भन्छन्,’ उनी भन्छिन् । उनले आफूहरुको पहिल्यैदेखि लालपूर्जा दिने सपना देखाए पनि चुनावपछि सधैं वेवास्ता गरेको सुनाइन् ।
दुराले सबैको ‘तलब, ज्याला’ बढ्दा मजदुरहरुको भने जहाँको त्यहीं रहनु परेको सुनाइन् । ‘हाम्रो माग त के हुनु र ? राम्रोसँग बस्न पाउनुप¥यो, खान पाउनुप¥यो । हामीले खाजेको त्यति हो । सबै थोकको भाउ बढ्छ, मजदुर ज्यामीको भाउ नबढ्ने रैछ,’ भन्छिन्, ‘अहिले ६/७ सय ज्याला भा’छ । त्यो पनि केटाको छुट्टै हुन्छ, केटीको छुट्टै हुन्छ ।’
आफू बसेको घर मक्किन लाग्दासमेत टेकेको जमीन आफूहरुले आफ्नो भन्न नपाएको उनको दुखेसो छ । उनले कोरोनाको समयमा पनि जनप्रतिनिधिले राहतको व्यवस्था नगरेको गुनासो गरिन् । ‘यही घरमा छोराछोरी हुर्र्काएँ, बढाएँ । तर, यही जमिन हाम्रो भन्न पाछैन,’ उनले भनिन् ।





