कास्की/ गोरखापत्र संस्थानको सहप्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेसँग बालबालिका संवाद कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।
बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र प्राकृतिक चिन्तन फेवाताल लगायतको विषयमा प्रदेशको सरकारको भूमिका बारेमा मुख्यमन्त्रीसँग प्रश्नगरेका थिए । मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार सम्भावना बोकेको प्रदेश भएकोले पर्यटन, कृषि, उद्योगको क्षेत्रमा नियम कानुन निर्माण हुँदै आएको बताए ।
उनले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषण लगायतमा आगमी बजेटमा समावेश गरी बालबालिका मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । ‘यहाँका बालबालिकालाई गुणस्तरको शिक्षा दिनको लागि कटिबद्ध लागि परेका छौं,’ मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश प्रमुख शिक्षा कार्यक्रम मार्फत पनि बालबालिकाहरुले प्राविधिक कुरामा ज्ञान हासिल गर्न सक्नेछन् ।’
मुख्यमन्त्री पोखरेलले आफू सरकारमा आएपछि प्रदेशबासीहरुका लागि निशुल्क रगत, जेष्ठ नागरिकका लागि दिवासेवा र सरकारी अस्पतालहरुबाट पनि निशुल्क स्वास्थ्य सेवा लिने व्यवस्था मिलाएको सुनाए । विकास निर्माणको सन्दर्भमा पहिलाको सरकारले गरेका कामलाइ निरन्तरता दिँदै आएको उनको दाबी थियो ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बालबालिकाहरुलाई उचित शिक्षा दिन नसक्दासम्मसमाज परिवर्तन र्न नसकिने बताए ।नेपाली लेखक संघका अध्यक्ष एवं साहित्यकार तीर्थ श्रेष्ठले मुनाहरु भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउनको लागि अभिभावक र शिक्षकको भूमिका रहने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकोले अझै परिस्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामाग्रीहरु राख्न अनुरोध गरे ।
मुनाको ३२ औं वार्षिकोत्सवको अवसरमा ‘मुनादूत घोषणा’ गरिएको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्यनरत प्रेन्सा रेग्मीलाई गण्डकी प्रदेशको लागि मुनादूत घोषणा गरी सम्मान गरिएको थियो ।





