हेम्जा युनाइटेड क्लब पोखरा रंगशालामा जारी कास्की जिल्ला लिग च्याम्पियन बनेको छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा भएको फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड च्याम्पियन बन्न सफल भएको हो ।
निर्धारित ९० मिनेटको खेल ४–४ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । उपाधीसंगै हेम्जाले नगद ७५ हजार रुपैँयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त ग¥यो ।
उपविजेता शितलज्योतीले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे । एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने छ ।
एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता रहेको थियो । उक्त लिग गत २१ गतेदेखि पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो ।





