शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरा ४ : विकासको हुटहुटीले पृथक वडा

पोखरा ४ : विकासको हुटहुटीले पृथक वडा


  • ढोरपाटन संवाददाता
  • बैशाख ४ २०७९, आइतबार

कास्की/ पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सडक कुरुप बनाउने बिजुलीका गुजुल्टिएका तार हटाउने घोषणा गरे । केही गरौँ भन्ने भावनाका साथ पोखराको मुख्य बजार क्षेत्र पोखरा ४ को वडाध्यक्ष बनेका शंकर बास्तोलालाई घोषणाले उत्साहित बनायो । उनले मेयर जिसीलाई मुख्य बजार क्षेत्रबाटै यो अभियान सुरु गर्न राजी बनाए । २०७५ सालको मंसिर २७ गते सिद्धार्थचोकबाट अभियानको थालनी गरियो । तर, सोचेजस्तो प्रगति भएन । महानगरको यो योजना असफल बन्यो । ‘पोखराको मुख्य बजार क्षेत्र भनेकै वडा नम्बर ४ हो र यो क्षेत्र सुन्दर हुँदा सबै क्षेत्रमा राम्रो सन्देश जान्छ भनेर हामी उत्साहित भयौँ’,वडाध्यक्ष शंकर बास्तोला भन्छन्,‘ महानगरको नेतृत्व यत्तिकै सेलायो । तर,वडा नम्बर ४ को हकमा भने केही भयो ।’महानगरको नेतृत्वको कारणले नै यो योजना नगरका अन्य क्षेत्रमा लागू नभएको उनको गुनासो छ ।

जनप्रतिनिको रुपमा आएसँगै अध्यक्ष बास्तोलाले घोषणा गरे,‘पोखराको मुख्य बजार क्षेत्रको स्वरुप फेर्छु ।’ उनले पहिलो आँखा पालिखे चोक(साँघुको मुख)मा लगाए । पोखराको मुख्य बजार क्षेत्रमा भए पनि पालिखे चोक( साँघुमुख) साह्रै साँघुरो थियो । वडा नम्बर ४,३ र ९ मा पर्ने सो क्षेत्रको सडकमा मिश्री उदास, दूधमान उदास र वसन्त उदासको नाममा रहेको ढुंगामाटोको घर,प्रदीपशंकर पालिखेको नाममा रहेको २ तले घर, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको निजी जमिनमा कच्ची र सार्वजनिक जग्गामा बनाइएको एउटासहित ५ वटा घर थिए । कुल १९ बर्गमिटर जग्गा बाटो बीचमा थियो । सार्वजनिक जग्गामा बनाइएको घर त्यहाँको क्लबले प्रयोग गरेको थियो भने एउटा चौतारो पनि थियो । बाटोबीचमा भएका घर हटाउन सके स्वरुप अर्कै हुन्थ्यो । व्यक्तिको जग्गा मुआब्जा बिना हटाउन नमिल्ने ! तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले समेत फराकिलो बनाउन नसकेको सो बाटो फराकिलो बनाउन वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोलाको संयोजकत्वमा समिति बनाइयो । समितिमा अध्यक्ष बास्तोलालाई एकल अधिकार दिइएको थियो ।
महेन्द्रपुल–चिप्लेढुंगा क्षेत्रबाट जनप्रतिनिधि बनेका वडाध्यक्ष बास्तोलाको लागि पनि त्यो काम सजिलो थिएन । मान्छे रिसाउलान् भन्ने उनले सोचेनन् । पटक–पटक स्थानीय र घरधनीहरुसँग वार्ता गरे । स्थानीयलाई तोकिएको मुआब्जा लिएर हट्न सहमत गराए । पालिखेचोक सफा भयो ।

‘स्थानीयलाई मनाउन धेरै मिहिनेत गरियो,मुआब्जामा चित्त बुझाउन तयार पारियो र मुआब्जा रकमको व्यवस्था पनि गरियो’,२०७५ साल साउनको घटना सम्झँदै वडाध्यक्ष बास्तोलाले भने,‘त्यसपछि त्यहाँ आइल्याण्ड बनाइयो,त्यसले बाटो फराकिलोमात्रै बनाएको छैन, सुन्दरता पनि थपेको छ ।’ वडाध्यक्ष बास्तोलाका अनुसार २० लाख ६४ हजारको लागतमा त्यहाँ आइल्याण्ड र नाला बनाइएको हो । त्यो काम भने २०७७ सालमामात्रै पूरा भएको थियो । बास्तोलाको प्रयासकै कारण आइल्याण्ड अहिले पोखरा महानगरकै देखाउने एउटा मुख्य काम बनेको छ ।

कार्यकालको उत्तरार्धमा छन्, बास्तोला । पालिखेचोकमा आइल्याड बनाएका उनी महेन्द्रपुलमा पार्क बनाउन चाहन्छन् । तर, त्यसको लागि महेन्द्रपुलको छेउमा अहिले सार्वजनिक शौचालय,पुस्तकालय,आर्ट ग्यालरी र केही सटरहरु भत्काउनुपर्छ । महानगरकै स्वामित्वमा रहेका ती संरचना मापदण्डविपरीतका छन् । भत्काउनैपर्छ । तर, उनको सुन्दर योजनामा महागनर नेतृत्व नै सहयोगी बनेन । ‘पोखरा महानगरको छैटौं नगरसभाले सो क्षेत्रमा रहेका भवन र सटर भत्काउने निर्णय गरेको हो’,उनी भन्छन्,‘ तर ३२ वटा सटर भत्काइएको छैन, मेरो सोचले मूर्तरुप पाएन,पार्क बनेन ।’

नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष बनेका शंकरले विकासमा नेतृत्वलाई साथ दिए । आइपर्दा प्रतिपक्षको भूमिका निर्वाह पनि गरे । ‘३३ वटामध्ये ११ वटामा मात्रै कांग्रेसका अध्यक्ष थियौँ, हामीले चाहेर पनि योजना कार्यान्वनय हुन सक्दैनथ्यो’,उनले भने,‘विकासे मुद्दामा सबै सत्तापक्ष भएर सघायौँ, गलत गर्दा सचेत गरायौँ तर नेतृत्वका कारण हाम्रा सपना तुहिए ।’ पोखरा उपत्यका नगर विकास समितिका सदस्यसमेत रहेका उनले सार्वजनिक सम्पत्ति संरक्षणबारे पटक–पटक आवाज उठाए पनि सफल नभएको पनि बताए । बजार, महेन्द्रपुल क्षेत्रको ट्राफिक व्यवस्थापन एवं स्मार्ट सिटी अनुरुपका रात्रिकालीन व्यवसाय संचालनमा नेतृत्वले साथ नदिएको उनको जिकिर छ । पोखराको मुख्य क्षेत्रमा फुटपाथ व्यवस्थापनमा भने सफलता मिलेको उनले बताए ।

पोखराको पुरानो बजार क्षेत्रको संरक्षणमा काम नभएकोमा उनी थकथकी मान्छन् । पोखराको ४ नम्बर वडा क्षेत्रमा पर्ने रामकृष्णटोल,गणेशटोलदेखि विन्ध्यवासिनीसम्मका पुराना घर संरक्षण गर्ने उनको योजना थियो । महानगरले यसमा सहमति जनायो । तर, कार्यान्वनयमा ध्यान दिएन । जनतालाई पुराना घरमै बस भन्न मिल्दैनथ्यो, त्यसका लागि उनीहरुलाई थप सुविधा दिनुपथ्र्यो । पुराना घरमा बसेको छु भन्नेमा गर्व गर्ने वातावरण बनाउनुपथ्र्यो । यी सबै काममा सहयोग नपाएको अध्यक्ष बास्तोलाले सुनाए । तर, यो योजनाबाट उनी पछि हटेका छैनन् । पुराना कुराको महत्व देखाउन उनले नालामुखमा रहेको बालधारालाई पुरानै शैलीमा पुनःनिर्माण गराएका छन् ।

भौतिक निर्माणमा भने अध्यक्ष शंकर अब्बल देखिए । महेन्द्रपुल क्षेत्रको बाटोमा सधैँ देखिने खाल्डाखुल्टी हटाउन बाटोमा अस्फाल्ट प्रविधिको पिच गराए । सहायक मार्गको पुनःनिर्माण र निर्माण गरे । चौतारा, मठमन्दिरलगायतको संरक्षणमा जोड दिए । वडा कार्यालयलाई प्रविधिमैत्री बनाउनु,गणेशटोलमा सहरी स्वास्थ्य केन्द्र निर्माण गरी सेवा प्रवाह गर्नुलाई अध्यक्ष बास्तोलाले जनप्रतिनिधिको नियमित कर्तव्यको रुपमा व्याख्या गरे ।
‘वडावासीलाई सहज र सजिलो सेवा दिनु, उहाँहरुलाई समस्या पर्दा समाधान खोज्नु र विकासे योजना कार्यान्वयन गर्नु हाम्रो दायित्व नै थियो’,अध्यक्ष बास्तोलाले भने,‘ती कामहरुको अलावा पनि हामी देखिने काम गर्न चाहन्थ्यौंँ, ती कामहरु भने बाँकी नै रहे ।’

नमूना कार्यहरु :

पालिखेचोक–महेन्द्रपुल–बीपीचोक सडक अस्फाल्ट पिच ।
पालिखेचोक–साँघुमुख सडक
सिद्धार्थचोक नाला तथा चोक बिस्तार ।
सहरी स्वास्थ्यकेन्द्र गणेशटोल ।
सिद्धार्थचोक–बीपीचोक–चिप्लेढुंगा–महेन्द्रपुल–साँघुमुख फुटपाथ व्यवस्थापन
गणेश गुठीमा थप भौतिक संरचना निर्माण । गुठी समितिसँगको समन्वयमा ३ जना अट्ने बहुपयोगी योग हल,ब्याटमिण्टन कोर्ट र सभाहल निर्माण ।
सर्वेश्वर,गोपालमार्ग,कालिमाटी,,ज्ञानमार्गलगायतको निर्माण तथा स्तरोन्नति
वडा नम्बर ४ मा रहेको एउटामात्र सामुदायिक विद्यालय नविन माविको भवन संरचना मर्मत, कम्पाउण्ड निर्माण तथा रङ रोगन ।
वुढानीलकण्ठ जेष्ठ नागरिक मिलन केन्द्रको भौतिक संरचना निर्माण ।
वडाभित्रका करिब सबै क्षेत्रमा सेन्सरसहितको रात्रीकालीन बत्ती जडान ।
वडाको पूर्वपट्टि रहेको विवादित जग्गा वडा मातहत ल्याउने सफलता ।
फिर्के पुल – सिद्धार्थचोक पस्र्याङ जोड्ने पुलको निर्माण )
बुढानीलकण्ठ नजिकको तटबन्ध (सेरवाल) को निर्माणको लागि १ करोड ८२ लाखको लागतमा स्टिमेट भएकोमा १ करोड ५ लाखमा ठेक्का तथा निर्माण सुरु ।
गैह्रापाटन मार्गमा अस्फाल्ट प्रक्रिया अगाडि बढाइएको । साथै फुटपाथ निर्माण सुरु ।
बालगोपाल मार्गको बाटो पिच (रिसोलिङ) अगाडि बढाइएको ,
गणेशमार्ग ( बाटो रिसोलिङ)
सडक विभागसँगको समन्वयमा गैह्रापाटन बाटो रिसोलिङ
नालाको मुखमा बालधाराको पुनर्निर्माण
सिद्धार्थचोकदेखि बीपीचोकसम्मको क्षेत्रमा भएका रुखहरुको संरक्षणको साथै चौतारी निर्माण
१ करोड ५० लाखमा बहुउद्देश्यीय भवन निर्माण
सिद्धार्थ चोकदेखि बीपी चोकसम्मका हरियाली संरक्षण अभियान । चौतारीका संरचना बन्दै ।
गणेशटोलमा ढुंगा बिच्छ्याउने कामको सुरुवात ।
विध्वासिनीमा निर्माणाधीन प्राकृतिक चिकित्सालयको एक नम्बर भवन निर्माण ।
जिल्ला अधिवेशन परिसरमा ३ वटा चौतारी निर्माणमा सहयोग ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->