पोखरा-गठबन्धनको कास्की बैठक विना निश्कर्ष टुंगिएको छ । बैठककै बीचमा कास्की कांग्रेसका सचिवद्धय भानु ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गर्दै कास्कीमा समाजवादीसँग गठबन्धन नहुने घोषणापछि कटुतापूर्ण बनेको बैठक भोलि बस्ने गरी सकिएको हो ।
बैठकमा कांग्रेसको एकोहोरो अडानपछि आक्रोशित बनेका एकीकृत समाजवादी कास्कीका अध्यक्ष धनराज आचार्यले यस्तै परिस्थिति रहे गठबन्धन नहुने बरु एमालेसँग सहकार्य हुनसक्ने अभिव्यक्ति दिएका थिए ।
‘यही बैठकमा पनि बस्ने,विज्ञप्ति पनि दिने कुरा भएन भनेको हो, सभापति (कांग्रेस) ले यो हाम्रो आधिकारीक धारणा हैन भन्नुभयो’,एकीकृत समाजवादीका अध्यक्ष धनराजले भने,‘८० प्रतिशत सहमति बनेको छ,बाँकी भोलि बस्ने गरी टुंगिएको छ ।’
यता, कास्की कांग्रेस गठबन्धनको विपक्षमा उभिएसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की सभापति किशोरदत्त बरालसँग पछिल्लो घटनाक्रमबारे जानकारी लिएका छन् ।
रामचन्द्रले केन्द्रीय गठबन्धनको बैठकमा समाजवादीले कास्कीमा आफू बलियो भएको जिकिर गरिरहेको र शक्ति प्रमाणित गर्न समय दिनेबारे छलफल चलाइएको जानकारी दिएको पनि बताए ।
‘तपाईंहरु बलियो नै हो भने दुबै पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गरौँ, प्रचारमा हिँडौं, जो शक्तिशाली देखिन्छ,अन्त्यमा त्यसैलाई समर्थन गरौँ भन्ने प्रस्ताव केन्द्रमा गरिएको रहेछ’,सभापति बरालले भने,‘हामी सबै सम्भावनाका बीच गुज्रिरहेका छौँ, गठबन्धन तोडौँ भन्ने हाम्रो आशय हैन तर हार्ने गठबन्धन किन भन्ने कार्यकर्तालाई उत्तर दिने ठाउँ पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’




