पोखरा/ युनाइटेड क्लवले पोखराका युवावर्गलाई लक्ष्य गरी साइबर क्राइमसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । साइबर अपराधबारे जानकारी दिँदै क्लबले आफ्नो साताव्यापी १२ औं वार्षिकोत्सव मनाएको हो ।
पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनरत विद्यार्थीसँग गरिएको सचेतनामूलक कार्यक्रममा वडा प्रहरी कार्यालय राम बजारका प्रहरी निरीक्षक किरण रावतले सहजीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी निरीक्षक किरण रावलले युवा पिँढी त्यसमा पनि माध्यामिक तहमा अध्ययनरत विद्यार्थीले साइबर क्राइमबारेमा विशेष ध्यान दिन आवश्यक रहेको बताए । कलेजस्तर युवाले कतिपय कानुनी कुरा बुझेर या नबुझेर साइबर अपराधमा फस्ने गरेको उनले सुनाए ।
‘अहिलेको युग आधुनिक युग भएकाले सबैको हातहातमा मोबाइल फोन हुने हुन्छ । त्यसकै प्रयोगकका कारण कहिलेकाहीं जानेर या नजानेरै पनि साइबर अपराधमा युवा पिँढी सामेल हुन्छन्,’ रावलले भने, ‘त्यसतर्फ युवाहरु सचेत बन्नुपर्ने अवस्था आएको छ ।’ सिद्ध माविका प्रध्यानाध्यापक गुरुदत्त कोइरालाले युनाइटेड क्लबले सामाजिक काममार्फत युवाहरुलाई सही मार्गमा लाग्न समेत प्रेरित गरिरहेको बताए ।





