१५ वर्ष एमालेको नेतृत्वमा रहँदा पनि माधवकुमार नेपालको लागि गण्डकी र पोखराले खासै रुचाएन । कुनैबेला पोखराको पुरञ्चौरमा वामदेव गौतम र केपी ओलीले दिएको प्रशिक्षणबाट कम्युनिष्ट बनेकाहरु सधैं उनको विपक्षमा रहे ।
पोखरा – मोहनचन्द्र र केपी ओली २०३० जेठ ३० गते रौतहटबाट पक्राउ परेका एमाले अध्यक्ष केपी ओली जेलसार हुँदै २०३९ साल माघ ३ गते पोखरा कारागार ल्याइएका थिए । २०४२ माघसम्म पोखरा कारागारमा राजबन्दीको रुपमा रहेका उनलाई भेट्न जानेहरु कम नै हुन्थे ।
२०४२ सालमा सत्याग्रहसँगै भकाभक कांग्रेसी नेताहरु पक्राउ पर्न थाले । पोखराको जेल भरिँदै गयो । जेलमा आउनेहरुलाई केपी ओली स्वागत गर्थे । रामराजाप्रसाद सिंहले देशका विभिन्न ठाउँमा बिस्फोट गराएपछि भने कम्युनिष्टहरु पनि जेल पर्न थाले । तत्कालीन पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापति हितकाजी गुरुङलगायतका पक्राउ परे ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाहरुलाई केपी ओलीसँगै राखियो । कास्कीका सोमनाथ प्यासीहरुसँग पनि उनको संगत भयो । लामो जेल जीवन भोगेकाले उनी जेलभित्र पनि केही व्यवस्थित तरिकाले बसेका थिए । ओलीले राजबन्दीहरुलाई सहयोग नै गरे ।
जेलमा भेटेकाहरुलाई एमाले अध्यक्ष ओलीले अहिले पनि बिर्सेका छैनन् । पोखराको एक सार्वजनिक कार्यक्रममा कांग्रेस नेता यज्ञबहादुर थापालाई देखाउँदै उनले भनेका थिए, ‘मेरो जेल जीवनका साथी यज्ञजी यहीँ हुनुहुन्छ ।’ त्यो सुनेर यज्ञबहादुर मख्ख परेका थिए ।
२०४४ साल असार ११ गते ओली रिहा भए । रिहा भएलगत्तै उनलाई तत्कालीन मालेले लुम्बिनीको जिम्मेवारी दियो । उनै ओली २०४६ सालको जनआन्दोलन सुरु हुनुअघि यहाँको कास्कीकोटमा आयोजित भूमिगत कार्यक्रममा अतिथि बनेर भुल्किए । जेलबाट छुटेकाले उनलाई धेरैले चिन्थे । गफ गर्न सिपालु ओलीको वरपर नेता/कार्यकर्ता झुम्मिए ।
सँगै जेल जीवन बिताएका मात्र नभएर यस क्षेत्रका नेता/कार्यकर्ता ओलीसँग नजिकिनुको कारण थियो, ‘गण्डकीमा परेको नक्सलवादी आन्दोलनको प्रभाव ।’ नक्सलवादी आन्दोलनको प्रभावमा ओली झापा विद्रोहमा होमिनुअगावै २०२५ साल जेठ ३० गते यहाँका युवाहरुले नेकपा माक्र्सवादी लेनिनवादी क्रान्तिकारी कम्युनिष्ट दल (गण्डकी–धौलागिरी) गठन गरिसकेका थिए । त्यसैले नक्सलवादी ओली यो क्षेत्रका माले कार्यकर्ताका प्रिय थिए ।
तीक्ष्ण स्मरण शक्ति भएका ओलीले जेल र बाहिर बनेको सम्बन्धलाई बिगारेनन् । जेल र बाहिरको चिनजानलाई शक्ति आर्जनको माध्यम बनाइरहे ।
त्यसैको परिणाम, वीरगञ्जमा सम्पन्न एमालेको सातौं र बुटवलमा सम्पन्न आठौं र अध्यक्ष चुनिने नवौं महाधिवेशनमा गण्डकी–धौलागिरीबाट ओलीले दह्रो समर्थन पाए । भला, ८ औं महाधिवेशनमा उनले माधव नेपाललाई सघाएका किन नहुन् ?
ओलीको उल्टो १४ वर्ष पार्टी नेतृत्वमा बसेका माधवकुमार नेपाल गण्डकीमा सधैं कमजोर रहे । बरु, वामदेव गौतम,झलनाथ खनालले यहाँ थोरबहुत प्रभाव जमाए ।
त्यसैले हुनुपर्छ, गण्डकी र पोखरामा माधव नेपालले कहिल्यै राम्रो सम्मान पाएनन् । न त, उनले आफू निकटका कार्यकर्तालाई लाभको पद दिएर आफूसँगै राख्न सके । ‘माधव कमरेड पोखरामा कहिल्यै बलियो हुनुभएन, उहाँले पोखरामा राम्रो स्वागत पनि पाउनु भएन’, एकीकृत समाजवादीका एक नेताले भने, ‘उहाँ निकट हुनेहरुलाई पनि अवसरबाट बञ्चित गर्ने परम्परा नै बस्यो, हामी पीडित भयौं ।’
हुन पनि, केपी ओली पोखरा आउँदा उनको भव्य स्वागत हुन्थ्यो । नेता–कार्यकर्ता झुम्मिन्थे । कतिसम्म भने, ओलीले आफू इतरका योग्यलाई पनि अवसरबाट बञ्चित गराउँथे । उता, माधव नेपाल भने निष्ठाको कुरा गर्दै कार्यकर्तालाई निराश बनाउँथे । ओली आक्रामक थिए भने नेपाल समन्वयकारी । त्यसैले पोखरामा माधव नेपाल कहिल्यै बलियो भएनन् ।
उनै माधवले एमालेमा विद्रोह गरे । प्रधानमन्त्रीको कुर्सीबाट ओलीलाई झारिदिए र गएको भदौमा नयाँ पार्टी गठन गरे । नयाँ पार्टी गठन गर्दा यसअघि साथमै भएकाहरुले पनि छाडे । गण्डकीबाट प्रदेशका एउटै सांसद उनको पक्षमा देखिएनन् ।
गण्डकीका सांसद इन्द्रलाल सापकोटादेखि हिजो साथ दिने कास्कीकी सीता गिरी ओलीसम्मले पुरानै पार्टी रोजे । स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले मात्रै उनको साथ छाडिनन् । बरु, ओलीकै पक्षमा रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ माधव क्याम्पमा आइपुगे ।
गण्डकीमा कमजोर देखिएका माधवलाई यहाँका पुराना नेता तुलबहादुर गुरुङ, श्रीनाथ बराल,चुडामणि जंगली, विद्यार्थी राजनीतिबाट उदाएका धनराज आचार्यहरुले भने बेस्सरी सघाए । उनीहरुले एमालेमा रहँदा अवसर नपाएकाहरुलाई संगठित गरे । कास्कीका ७२ वटै स्थानीय तहमा संगठन विस्तार गरे । पोखराको सिर्जनाचोकमा कार्यालय उद्घाटन गर्न आइपुगेका माधव नेपालको कार्यक्रममा खचाखच मान्छे देखाए ।
‘पार्टी एक हुँदा पनि माधव कमरेडको कार्यक्रममा त्यत्तिका मान्छे हुँदैनथे, हामीले संगठन बनाएर देखायौं’, श्रीनाथ बरालले भनेका थिए, ‘हिजोदेखि एमालेभित्र पेलिएकाहरुको मत सानो छैन ।’ माधव उत्साहित भए । उनले पार्टी कार्यालय व्यवस्थित बनाएकोमा कास्की र धनराज आचार्यलाई धन्यवाद दिए । मञ्चबाट तल ओर्लेर पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे ।
एकीकृतले पोखरा पाउनुको कारण
१५ वर्ष एमालेको नेतृत्वमा रहँदा पनि माधवकुमार नेपालको लागि गण्डकी र पोखराले खासै रुचाएन । कुनैबेला पोखराको पुरञ्चौरमा वामदेव गौतम र केपी ओलीले दिएको प्रशिक्षणबाट कम्युनिष्ट बनेकाहरु सधैं उनको विपक्षमा रहे ।
लामो जेल जीवनको एक कालखण्ड पोखरामा बिताएका ओलीको पक्षमा रहेको पोखराले उनी पराजीत जनकपुर र बुटवल महाधिवेशनमा पनि साथ छाडेन । ओली शक्तिमा आउँदा पोखरामा रहेका माधवपक्षीय नेताहरु यत्तिकै पछि परे/ पारिए ।
तुलबहादुर गुरुङ, सीता गिरि ओली र चुडामणि जंगलीलगायतबाहेकका हरु सधैं ओली पक्षको सेपमा परे । कतिसम्म भने, विद्यार्थी
राजनीतिबाट उदाएका श्रीनाथ बराल र रवीन्द्र अधिकारीहरुलाई पनि ओली समूहले अवसरबाट वञ्चित गराउने कोशिस गरिरह्यो ।
कतिसम्म भने, चर्चित नेता रवीन्द्र अधिकारीलाई ओली समूहले पदबाटै हटायो । उनी पुनः अध्यक्षमा बहाली भए पनि लामो समय सो पदमा बसेनन् । विद्यार्थी राजनीतिमा प्रखर तथा वामदेव गौतम निकट भएकाले उनी कालान्तरमा वामदेवसँगै ओली क्याम्पमै आइपुगे ।
तर, ओली पक्षधरले उनलाई अझै शंकाले हेर्थे । रवीन्द्र यो संसारमा छैनन् । २०७४ सालको चुनावमा सिंगो गण्डकीमै माधव पक्षीय नेताहरुलाई टिकट दिन कञ्जुस्याइँ गरियो । बागलुङबाट इन्द्रलाल सापकोटाबाहेक प्रदेशमा माधव पक्षले टिकट नै पाएनन् । गएको भदौमा पार्टी विभाजन हुँदा उनले पनि एमाले छाडेनन् ।
सीता गिरी, लमजुङका जविन्द्रमान घले, गुमानसिंह अर्यालहरु पनि एमालेमै रहे । माधव नेपाललाई स्याङ्जा आधीँखोलाकी उपप्रमुखलेमात्रै साथ दिइन् । कमजोर धरातलमा रहेका माधव नेपाललाई अन्तिम समयसम्म पोखरामा तुलबहादुर गुरु, श्रीनाथ बराल, चुडामणि जंगली, धनराज आचार्यहरुले साथ दिए ।
सत्ता गठबन्धनमा रहेका दलहरुले स्थानीय चुनावमा सहकार्य गर्ने निर्णय ग¥यो । महानगरहरु बाँड्ने सहमति बन्यो । त्यही सहमतिको जगमा उभिएर माधवकुमार नेपालले पोखराको मेयरमा दाबी गर्न थाले । माधव नेपाल टसमस नहुँदा प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवा पोखराको मेयर सुम्पन बाध्य भए ।
कास्कीका कांग्रेस नेता÷कार्यकर्ताको विरोधका बाबजुद एकीकृत समाजवादीले मेयरको भाग पायो । अघिल्लो चुनावमा मेयरमा मतान्तर १३ हजार ७०२ मतले जितेको एमालेको मत चोरेर आफ्ना उम्मेदवारले जित्नसक्ने दाबी गरिरहेका छन् ।
एकीकृत समाजवादीबाट पोखराको मेयरको उम्मेदवार हुन चाहने १३ जना छन् तर तीमध्ये श्रीनाथ बराल र धनराज आचार्यमात्रै मुख्य दावेदार हुन् । पछिल्लो समय धनराज अध्यक्ष नेपालसँग नजिक छन् । उनलाई मेयरको उम्मेदवार बनाउन केही व्यापारिक समूह पनि लागेकै छ ।
पोखराको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णयसँगै उत्साहित कास्की अध्यक्ष धनराज आचार्य बालुवाटार नै पुगेका छन् । ५ हजार संगठित सदस्य बनाएको दाबी गरे एमालेलाई हराउन उनलाई त्यति सजिलो छैन ।
असन्तुष्ट कांग्रेसलाई फकाउनु र पुरानो घरका एमालेको मत तान्नु फलामको च्यूरा चपाउनुजस्तै हो भन्ने ‘चतुर’ धनराजले पक्कै बुझेका छन् । तर, एउटा सत्य के हो भने, हिजो एमालेमा हुँदा सामान्य मान पनि नपाउने माधव नेपालले गठबन्धनबाट पोखराको मेयरको ‘भाग’ पाएका छन् ।





