मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

बागलुङका बोर्डिङले शुल्क बढाउने

बागलुङका बोर्डिङले शुल्क बढाउने


  • ढोरपाटन संबाददाता
  • बैशाख ७ २०७९, बुधबार

बैठकको पहिलो चरणमै बोर्डिङ सञ्चालकहरुले शुल्क बढाउने एजेण्डा प्रस्तुत गरेपछि बैठकमा सहभागी विद्यार्थी नेताहरुले विरोध गरेका थिए ।

बागलुङ/ बागलुङ नगरस्थित निजी बोर्डिङहरुको शुल्क सिफारिस समितिले आगामी शैक्षिक शत्रबाट शुल्क बढाउन नगर शिक्षा समितिलाई सिफारिस गरेको छ । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलको अध्यक्षतामा बसेको समितिको बैठकले नगर शिक्षा समितिका लागि बढीमा ४० प्रतिशत शुल्क बढाउन सिफारिस गरेको हो । सोमबार उक्त समितिको बैठक बसेको थियो ।

बैठकमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, सामाजिक विकास समितिका अध्यक्ष गणेशबहादुर थापा, प्याब्सन र एनप्याब्सनका जिल्लास्थित प्रमुख र प्रतिनिधिहरु समेत सहभागी थिए । बैठकको पहिलो चरणमै बोर्डिङ संचालकहरुले शुल्क बढाउने एजेण्डा प्रस्तुत गरेपछि बैठकमा सहभागी विद्यार्थी नेताहरुले विरोध गरेका थिए । उनीहरुले शुल्क बढाउने हो भने शिक्षक र विद्यार्थीलाई के फाइदा हुने वा के कस्ता सेवा थप गरिनेछ भन्ने प्याकेजमा कार्यक्रम ल्याएर मात्र बढाउन सकिने बताएका थिए ।

बैठकमा सहभागि नेविसंघका सचिव श्रीकृष्ण पौडेलले शुल्क बढाउने विश्वासिलो आधार नभएकोले हस्ताक्षरसमेत नगरी हिंडेको बताए । ‘शुल्क बढाउनु होस्, त्यो पनि समय सुहाउने गरी मात्रै भनेका थियौं, तर बढेको शुल्क सञ्चालकले मात्रै पाउने भन्ने हुनु हुँदैन,’ पौडेलले भने, ‘त्यसबाट शिक्षकले के सेवा सुविधा पाउने ? र विद्यार्थीले नयाँ पाठ्यक्रम कस्तो पाउने भन्ने समेत स्पष्ट खाका आउनुपर्छ ।’ उनले बैठक लामो भएपछि निर्णय नहुँदै हस्ताक्षर पनि नगरी हिंडेको बताए ।

बैठकमा सहभागी अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन शर्माले शुल्क बढाउने निर्णयमा नोटअफ डिसेन्ट लेखेका छन् । उनले विद्यार्थीको हितविपरित र बोर्डिङ संचालकको फाइदाको लागि मात्रै शुल्क बढेको टिप्पणी गरे । ‘शुल्क बढेपनि सामान्य बढ्नुपर्छ, त्यो अतिनै भयो,’ शर्माले भने, ‘त्यसैले एकैपटक ४० प्रतिशत शुल्क बढाउने एजेण्डामा सहमत हुन सकिएन ।’ बैठकमा अनेरास्ववियुका जिल्ला सदस्य कुमार सापकोटा सहितका विद्यार्थी नेता पनि सहभागि थिए ।

सुझाव समितिले निर्णय गरेपनि उक्त शुल्क लागू गर्नका लािग शिक्षा समितिले निर्णय गर्नुपर्ने कानूनी प्रावधान छ । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलका अनु्सार निजी विद्यालयका संचालकले एकैपटक ७० प्रतिशत शुल्क बढाउने गरी एजेण्डा ल्याएको बताए ।
‘एकैपटक ७० प्रतिशत शुलक बढाउने गरी एजेण्डा आएको थियो, त्यो त संभवै हुँदैन भनेर क्यान्सिल गरेपछि सञ्चालकहरु ४० प्रतिशतमा झर्नु भएको हो,’ पोखरेलले भने, ‘यो शुल्क पनि महंगो हो, समितिले उचित ठहरेपछि मात्रै निर्णय होला ।’

समितिमा बढीमा २५ प्रतिशत मात्रै शुल्क बढाउन सकिने दबाव शुरु भइसकेको छ । शिक्षा समितिका पदाधिकारीले बैठकमा उक्त निर्णय गर्नेछन् । तर सोमाबारको बैठकमा सहभागि केही नगरपालिकाकै प्रतिनिधिसमेत निजी बोडिङका सञ्चालक भएकोले सिफारिस हुबहु कारवाही हुन पनि सक्ने एक बिद्यार्थी नेताले बताए ।

बैठकमा सहभागी एक विद्यार्थी नेताले नगरपालिकाबाटै सहभागि कतिपयको आफ्नै बोर्डिङ भएकोले शुल्क बढाउन मौन सहमति दिएको टिप्पणी गरे । उनले बैठकमा प्याब्सन र एनप्याब्सनबाट प्रस्ताव आउनु ठिकै हो, तर नगरका पदाधिकारीले पनि त्यसबारे चासो राख्ने कामले स्वार्थ जोडिएको देखिएको उनले बताए । प्याब्सनका पदाधिकारीले भने २०७२ देखिनै शुल्क नबढेकोले यो प्रस्ताव गरिएको दाबी गरेका छन् ।
बैठकले नगर शिक्षा अधिकारीको सयोजकत्वमा शुल्क बढाउने सिफारिस र विद्यालयको सेवा प्रवाहको अवस्था अनुगमन गर्न अधिकार दिएको छ । शिक्षा अधिकारीको संयोजकत्वमा निजी विद्यालयका प्रतिनिधि र अभिभावकसमेत सदस्य रहने अनुगमन समिति गठन गर्ने निर्णय भएको छ । ४० प्रतिशत शुल्क बढेमा नर्सरी तहमै २ हजार रुपैयाँ र कक्षा १२ मा पुग्दा ४ हजार ५ सय मासिक शिक्षण शुल्क पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->