बेनी/ आसन्न स्थानीय तह निर्वाचनका लागि कास्कीसहित विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । कास्कीका मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराईले बिहीबार कार्यालय उद्घाटन गरेका हुन् ।
कास्कीमा पोखरासहित ५ पालिका छन् । कास्कीकामाछापुच्छ्रे गाउँपालिकामा नवराज दंगाल, मादी गाउँपालिकामा दुर्गाप्रसाद भट्टराई, अन्नपूर्ण गाउँपालिकामा विष्णुप्रसाद आचार्य र रुपा गाउँपालिकामा रुद्रप्रसाद सुवेदी निर्वाचन अधिकृत छन् ।
म्याग्दीमा पनि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी म्याग्दीका सबै स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।जिल्लाका पाँचवटै गाउँपालिकाको केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ भने बेनी नगरपालिकामा जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएको हो । जिससमा स्थापना भएको कार्यालयको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधिश तेजनाथ पौडेलले उद्घाटन गरेका छन् ।
कार्यालय उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै राजनीतिक दल सहित सरोकारवाला निकायको साथ आवश्यक रहेको बताए ।
अन्नपूर्ण गाउँपालिकामा जिल्ला समन्वय अधिकारी जानुका सुवेदी, मंगला गाउँपालिकामा जिल्ला न्यायधिवक्ता धर्मराज पौडेल, मालिका गाउँपालिका उपन्यायधिवक्ता गोविन्द उपाध्याय,धवलागिरी गाउँपालिकामा निर्देशक आन्तरिक राजश्व कार्यालय काठमाण्डौका हरिराम नागिला र रघुगंगा गाउँपालिका स्रेस्तेदार तेजप्रसाद पौडल छन् ।
निर्वाचनको कामका लागि खटिएको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई उम्मेदवारको मनोनयन दर्ता, मनोनयनउपर उजुरी लिने, उजुरीउपर छानबिन गर्ने, उम्मेदवारको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, निर्वाचन चिह्न दिने, आचारसंहिताको पालना गराउने, मतदानका लागि कर्मचारी खटाउने, मतदान र मतगणना गराउने, आफ्नो क्षेत्रको निर्वाचन विवाद निरुपण गर्ने तथा निर्वाचन परिणाम प्रकाशन गरी आयोगमा प्रतिवेदन बुझाउने लगायतका मुख्य जिम्मेबारी रहेको छ ।
‘भयरहीत निर्वाचनमा सबैको साथ आवश्यक छ’:पौडेल
म्याग्दीमा भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चत गर्नु राजनीतिक दलको मुख्य जिम्मेबारी रहेको मुख्य निर्वाचन अधिकृत तेजनाथ पौडेलले बताए । बिहिबार जिल्ला समन्वय समितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गदैं जिल्ला न्यायधिश पौडेलले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण तयार गरेर जनताको अधिकार रक्षा गर्नुपर्नेमा जोड दिए ।‘स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने निकाय हो,‘सबैको साथ र सहयोगबाट यो सम्भव छ’ पौडेलले भने । उनलेभयरहित वातावरणमा स्वच्छ, मर्यादित निर्वाचन गराउन सकेमा धेरै भन्दा धेरै मतदातालाई मतदान प्रक्रियामा सहभागी गराउन सकिने बताए‘जनसहभागिताले निर्वाचनप्रतिको विश्वास जगाउँछ,‘सबैको जिम्मेवारी निर्वाचन सफल बनाउनु रहेको छ’ पौडेलले भने ।
जिल्लामा रहेका सबै दल,सञ्चारकर्मी, नागरिक समाज लगायत सरोकारवाला निकायहरुले निर्वाचनलाई स्वच्छ र पारदर्शी ढंगले गराउने जिम्मेबारी भएको समेत बताए । जिल्लाका ६ वटै स्थानीय तहका १५ मतदानस्थलका २९ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाएको छ ।
त्यस्तै संवेदनशील ४९ र सामान्य १० मतदान केन्द्र रहेको जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका रानाको भनाई छ । जिल्लामा कुल मतदान केन्द्र ७४ र मतदान स्थल १ सय १० रहेको छ । म्याग्दीमा ८५ हजार ३७५ मतदाता रहेका छन् ।





