पोखरा/पोखरामा भएका तालमध्ये फेवापछि बेगनासताल पनि प्राथमिकतामा आउँछ । बेगनास विशेषगरी डुंगा सयरका लागि परिचित छ । तर, त्यही तालमा डुंगा दुर्घटना भएमा उद्दार गर्न भने टोली छैन ।
२०७५ भदौमा बेगनासतालमा भएको डुंगा दुर्घटनाबाट ८ जनाको मृत्यु भयो । समयमै उद्दार हुन नसक्दा उनीहरुले ज्यान गुमाएका हुन् । त्यसअघि पनि तालमा थुप्रै पटक यस्ता घटना नघटेका होइनन् । तर, दुर्घटनाको एकीन तथ्यांक छैन ।
बेगनासतालमा त्यसरी नै डुंगा दुर्घटना हुँदा त्यहाँ आश्रित डुंगा चालक नै उद्दारमा खटिने गरेका छन् । स्थानीय र डुंगा व्यवसायीले पटकपटक यसबारे सम्बन्धित निकायलाई पत्राचार, खबरदारी गर्ने काम गरेपनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।
फेवातालमा संघ सरकारदेखि स्थानीय सरकार सबैले चासो राख्ने गरेका छन् । उद्दारका लागि नेपाली सेना र शसस्त्र प्रहरी बलको टोलीपनि २४ सै घण्टा खटिएका हुन्छन् । तर, त्यसको विपरीत बेगनास छ ।
पछिल्लो समय वेगनासताल पर्यटकहरुको रोजाइको गन्तव्य बनिरहेको छ । आन्तरिक पर्यटकको भिड लाग्ने गर्छ । तर, सुरक्षाका दृष्टिले अत्यावश्यक लाइफ ज्याकेटबाहेक अन्य व्यवस्था गरिएको छैन ।
कोरोना महामारीअघि २५० बढी डुंगा रहेको बेगनासतालमा अहिले भने २ सय डुंगा छन् । दैनिक एक सय भन्दा बढी पर्यटक घुम्न जाने वेगनासतालमा सुरक्षाका लागि उद्दार टोली भने छैन ।
३१ वर्षदखि वेगनासतालमा डुंगा खियाउँदै आएका महादेव कँडेलले फेवातालमा राज्यको लगाव र बेगनासतालप्रतिको बेवास्ता देखेर अचम्म मान्छन् । २०५१ सालमा बाँध बनेसँगै वेगनास तालमा पर्यटकको आगमन सुरु भएको थियो । डुंगामै आफ्नो ऊर्जाशील जीवन खियाएका महादेव २०७५ सालमा भएको डुंगा दुर्घटनामा उद्दार गर्न जाने पहिलो व्यक्ति समेत हुन् ।
कँडेल बेगनासताल राज्यले उद्दार टोली खटाएमा हुने गरेका ठूला दुर्घटनामा कमी आउने बताउँछन् । ‘बेगनास तालमा राज्यको तर्फबाट उद्दार टोली तथा टावरहरु केही पनि छैनन् । हामी आफैं केही भयो भने खटिने हो,’ उनले भने, ‘अचानक हावाहुरी आइहालेमा जता नजिक पर्ने उतैतर्फ डुंगा मोड्ने गरेका छौं ।’
राज्यबाट सहयोग नभए पनि आफूहरुसँग पेट्रोलबाट चल्ने मोटरवोट र सक्षम चालक रहेको कँडेल बताउँछन् । उनले महानगर, पर्यटनबोर्ड लगायत क्षेत्रमा पत्राचार गरेपनि अहिलेसम्म चाँसो नदेखाएको तर, आफूहरुले माग गरिरहेको सुनाए ।
यस्तै पीडा पोख्छिन डुंगा व्यवसायी चन्द्रा सापकोटा । उनले टोलीका लागि समितिले नै पहल गरिरहेको र उद्दार टोली नहुँदा निकै असहज हुनेगरेको बताइन् । स्थानीय डुंगा व्यवसायी आफैं तयारी अवस्थामा रहन्छन् ।
फेवातालमा आर्मी र शसस्त्र प्रहरी जसरी दुर्घटना घटिहालेको समयमा उद्धार गर्न जानका लागि टोली तमतयार खटिन्छन् वेगनासतालमा भने त्यो दृष्य देख्न पाइदैँन् । डुङ्गा व्यवसायीहरुले उद्धारटोलीको बारेमा बारम्बार सुरक्षा निकाय र नगरपालिकालाई गुहारी रहेपनि उनीहरुको आवाज कुनै निकायले पनि सुनेका छैनन् ।
सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै दुई वटा पेट्रोलबाट चल्ने मोटरबोट सधैँ तयारी अवस्थामा रहेको र डुंगा व्यवसायीहरुले अचानक मौसममा फेरबदली भइहालेमा तालमा रहँदा कुन दिशातर्फ जाँदा सुरक्षित भइन्छ भन्ने हिसाबले पनि आफ्नो सुरक्षा गरिरहेको अवस्था रहेको बेगनासताल डुाां व्यवसायी समितिका उपाध्यक्ष रविराज कँडेलले बताए ।





