पोखरा । कास्कीमा कांग्रेस आफै बलियो रहेको भन्दै गठबन्धनको विरोध गर्दै असन्तुष्ट कार्यकर्ताले जिल्ला कार्यसमितिका पदाधिकारीलाई थुनिदिएका हुन् ।
उनीहरुले पोखराको निर्र्णय गर्दै केन्द्रले गठबन्धनलाई मेयर दिएको प्रति आपत्ति जनाएका छन् । पोखरामा कांग्रेसकै उम्मेदवार हुनुपर्ने माग सहित वडाहरुमा गठबन्धन नगर्न अपिल गर्दै पार्टी कार्यालयमा ताल्चा लगाएका हुन् ।


पोखरामा गठबन्धन स्विकार्य नभएको भन्दै पोखरा महानगरपालिका वडा १८ को संयोजकत्वमा ताल्चा लगाएका हुन । कार्यकर्ता टीका चापागाईंले गठबन्धनको विरोध गर्दै ताल्चा लगाएको बताए ।
उनले गठबन्धनमा भएको सहमति कुनै हालतमा नमान्ने उनले बताए । यस्तै तरुण दल वडा १८ का सभापती सागरजंग तिमिल्सिनाले गठबन्धन स्विकार्य नभएको र माग पूरा नभएसम्म थुन्ने बताए ।
‘हामी आफै यहाँ बलियो छौं । केन्द्रले त्यसै पोखरा अरुलाई दियो यो कुराको विरोध गर्दै आएका थियौ तर सुनुवाई भएन’ उनले भने,‘तल्लो स्तरसम्म नहेरी माथिबाटै लादने काम भयो ।’
जिल्ला सभापति किशोरदत्त बरालले भने ताल्चा लगाएको कुरा आफुलाई थाहा नभएको बताए । उनले प्रश्न गरेपश्चात मात्रै थाहा पाएको भन्दै शान्तिपुर्ण तरिकाले ताल्चा लगाएकोमा आपत्ति नरहेको बताए ।
‘अहिले जिल्लाको बैठक बस्दै छौ । हामीले जिल्लाका सबै पालिकामा टुंगो लगाउनु पर्नेछ’ उनले भने, ‘पहिला जिल्लाको बैठक सक्छौं अनिमात्र के भएको हो त्यसको निर्णय गर्छौ ।’
गठबन्धनको बैठक पोखराको लेकसाइडमा बसिरहेको छ । बैठक चलिरहँदा कार्यकर्ताले उठाएर जिल्ला सभापतिलाई पार्टी कार्यालयमा ल्याएका हुन् ।





