पोखरा/ ५ दलीय गठबन्धनबाट पोखराको मेयरका प्रत्यासी नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यले ‘समुन्नत पोखराको आधार ःसवल अर्थतन्त्र र पूर्वाधार’ नारासहित घोषणापत्र सार्वजनिक गरेका छन् ।
५ दलीय गठबन्धनका नेताहरु तथा उपमेयरमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेसकी कोपिला रानाभाटसहितबाट उनले घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले हिजोको पोखरा के थियो, अहिले कस्तो छ र भोलि कस्तो बनाउने भन्ने योजनासहितको घोषणापत्र ल्याइएको दाबी गरे । उनले आफूले भ्रष्टाचार नगर्ने र निर्माण गरिने सिस्टमले पनि भ्रष्टाचार हुन नदिने प्रतिवद्दता जनाए । घोषणपत्रको डिजिटल प्रस्तुतिको क्रममा उनले समुन्नत पोखराको लागि ७ वटा प्रस्थान बिन्दु तय गरिएको पनि बताए ।
घोषणापत्रमा पोखरा महानगरमा पाँच दलीय गठबन्धन सरकारः विकास हामी सवैको अधिकार भन्ने शीर्षकमा शिक्षित, सभ्य तथा मर्यादित महानगरवासी, सुरक्षित र न्यायपूर्ण समाज, स्वास्थ्य र सन्तुलित पर्यावरण, सुशासन र जवाफदेहिता, स्रोतको समुचित व्यवस्थापन र प्रविधिमैत्री सेवा प्रवाहलाई समुन्नत पोखराको आधार मानिएको छ । त्यस्तै क्षेत्रगत विकासअन्तर्गत निःशुल्क शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य,उद्यमशीलता र रोजगारको प्रतिवद्धता गरिएको छ । नेतृत्व सम्हालेको ६ महिनामै ३ हजारलाई रोजगारी दिने घोषणापत्रमा उल्लेख छ । पोखरालाई सेटलाइट सहर बनाइने पनि घोषणापत्रमा उल्लेख छ । ‘सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित रहेर महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधिन क्षेत्रीय वसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दाँया बाँया इलेक्ट्रिक ट्रेन सञ्चालन गरिने छ’,घोषणापत्रमा भनिएको छ । पर्यटन प्रवद्र्धन, खेलकुदको विकास तथा सहरी स्वच्छताको लागि पनि घोषणापत्रमा आकर्षक योजनाहरु पस्किएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले सुशासनको मामिलामा आफूले कुनै सम्झौता नगर्ने प्रतिवद्दता जनाइन् ।





