पोखरा/ पोखरा १८ को सुन्दर पोखरीका अरुका घरमा पानीका धारा छन् । तर, बुद्धिमान विकको घरमा पानी छैन । उनले पानीका लागि केही वर्ष अघि १ हजार रुपैयाँ पनि तिरेका थिए । तर, पछि फेरि १० हजार रुपैयाँ थप्न भनेपछि उनले पानी जोड्न सकेनन् ।
विकको घरमा जडान गरेको पानीको मिटर पनि थुतेर लगेको उनी निराश हुँदै गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालसँग गुनासो गरे, ‘१० हजार थप्न नसकेपछि मैले पहिला तिरेको १ हजार पनि फिर्ता पाएका छैन । छिमेकीकोबाट पानी लिएर आउनुपर्छ ।’
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बरालले पोखरा १८ मा खाने पानीको योजनामा पैसा उठाउने गलत भएको दावी गरे । ‘केही काम श्रमदान गर्नुपर्ने थियो,’ उनले भने, ‘तर पैसा उठाउन पाइँदैन ।’
बुढिमुल लिफ्ङि खानेपानी योजना आफ्नो पहलमा प्रदेश सरकारले खानेपानी योजना हालेको बजेटको योजनामा नै स्थानियबाट पैसा उठाउन नपाउने प्रष्ट योजनामा भएको उनले बताए । यस विषयलाई प्रदेश सरकारले छानबिन गर्ने बताए ।
१ घर १ धारामा योजनामा जनताबाट १ रुपैयाँ पनि माग्न नमिल्ने तर ११÷११ हजार उठाउनु गलत रहेको उनको दावी छ । ‘११ हजार कहाँ गयो किन उठाइयो खोजी गर्नुहोस अहिले नै सोध्नुपर्छ,’ उनले भने, ‘जनताको पसिना बिकासका नाममा दुरुपयोग भयो कि भएन ।’ वडाका अन्य योजनमा निशुल्क खानेपानी जडानको काम गरिएको छ ।
खानिसकेको बाटो बन्द
पोखरा १८ मा हिमालयन फ्रन्ट रिसोर्टपछाडि प्रगति टोलमा १० घर बस्ती छ । उक्त बस्तीमा जाने बाटो केही वर्ष अघि नै खनिएको थियो । केही समयअघि उक्त बाटोमा पर्खाल लगाएर बाटो बन्दा भएको स्थानीय कल्याण बराल बताउँछन् । ‘पोखरा नजिकैको ठाउँ भएर रुकुम रोल्पाको अनुभव भयो,’ उनले भने, ‘हामीलाई न्याय दिने सरकार नै आएको छैन ।’
स्थानीयले अनुरोध गरेपछि उक्त बाटो खुलाउनको लागि जिल्ल्ला प्रशासन कार्यालय कास्कीले पोखरा १८ वडा कार्यालयलाई पत्राचार पनि गरेको थियो । तर, लामो समय भइसक्दा पनि बाटो अहिलेसम्म खुल्न सकेको छैन ।





