पोखरा/ स्थानीय तह निर्वाचन अन्तरगत पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । पोखरा महानगरपालिका वडा नं. १२ को मत गणनासंगै मतगणना सुरु भएको हो ।
जिल्ला समन्वय समितिको हलमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले मत खन्याई सुरु गरेका हुन् । वडा नं. १२ को मत खन्याउने क्रममा सिल नं. नभनेपछि उम्मेदवारका प्रतिनीधिले केहि बेर भित्रै होहाल्ला समेत गरेका कारण १२ को मतगणनामा अवरोध भएको छ ।
यस्तै वडा १ को पनि मत गणना सुरु भएको छ । पोखरा नगर उपत्यका विकास समितिको हल नं. १ मा वडा १ को मतगणना सुरु भएको छ ।
यस्तै समितिकै हल नं. २ मा वडा २३ को मतगणना हुने भएको छ । राजनैतिक पार्टीका उम्मेदवारको प्रतिनीधि नभएका कारण मत गणना कार्यमा निकै ढिला भएको छ ।
पोखरामा कुल १ लाख ४२ हजार २ सय २६ मत खसेको थियो । सर्वदलीय बैठकले दिउँसो २ बजे बाट मत गणना गर्ने भनिएपनि उम्मेदवारहरुले मतगणनाका लागि प्रतिनीधि पठाउन ढिला गरेका कारण मतगणनामा ढिला भइरहेको छ ।
निर्वाचन आयोगले पटक पटक उम्मेदवारका प्रतिनीधि पठाउन आग्रह गर्दा समेत अझै उम्मेदवारहरुले प्रतिनीधि नपठाउँदा ढिला भएको हो ।
पोखरा उपत्यका नगर विकास समिति र जिल्ला समन्वय समिति मतगणना स्थल अघि नेकपा माओवादी महानगर कमिटिले नाराबाजी गरेका छन् ।
उनीहरुले मतगणना स्थलमा अन्य पार्टीका प्रतिनीधिलाई प्रवेश दिएको तर माओवादीका प्रतिनीधिलाई भने प्रवेशमा रोक लगाएको भन्दै विरोध गरेका थिए ।




