पोखरा/ आइतबार पोखरा विमानस्थलको प्रतिक्षालयमा केही युवतीहरुको भिड थियो । सबैको अनुहार निन्याउरो र रुन्चे थियो । सबैको आँखा रसाएको थियो । कतिले आफुलाई सम्हालिरहेका थिए भने कतिको आँसु थामिएको थिएन् । पोखरा विमानथलको यात्रु प्रतिक्षालय दिनभर आसुँले भिजेको छ । भिडमध्येकी एउटी युवती घरीघरी रोइरहेकी थिइन् ।
पोखराबाट बिहान जोमसोम उडेको जहाज सम्पर्कमा आएको थिएन । त्यहाँ रहेको ती युवतीको जमातले एयरहोस्टेज कृष्मी थापालाई हेरिरहेका थिए । बारम्बार विमानस्थलको गेटतिर हेर्ने गर्छिन एक युवती अनि आसुँ झार्छिन । कृष्मी फर्केर आउँदिनन् कि उनीहरुको मनमा गहिरो आशंका गाडिएको थियो । आइतबारको दिन त्यसै गयो सोमबार बिहान उनीहरुले नचिताएकै कुरा भइदियो ।
पोखरा विमानस्थलबाट आइतबार बिहान समिट एयरभन्दा ३ मिनेट ढिला ९ः५५ मा तारा एयरको ट्विनअटर विमान जोमसोम प्रस्थान गरेको थियो । जहाजमा १३ जना नेपाली, चारजना भारतीय, २ जना जर्मनी गरी १९ जना यात्रु र चालक दलका तीन जना सदस्य थिए । त्यहीमध्ये एक थिइन्, विमानकी एयर होस्टेज कृष्मी थापा (मनिषा) ।
पोखरा विमानस्थलको प्रतिक्षालय आइतबार कृष्मीका साथीहरुले भरिएको थियो । उनीहरु कोही एयर होस्टेज छन् भने कोही आफन्तहरु । साथीहरुमाझ सधै हसिँली र फुर्तिली कृष्मीले आफ्नो जीवनमा भने धेरै दुख र संघर्षमा भुलिन् । बुबाले घरबाट निकालि दिएपछि कृष्मी आमासंगै आमाको घरमा बसिन्, हुर्किइन् र एअर होस्टेज बनिन् । कृष्मीका मामाकी छोरी शर्मिला रुपालका अनुसार कक्षा १० सम्म गाउँमै पढेपछि कक्षा १२ वालिङमा पढिन् । त्यसपछि एयर होस्टेज बन्न पोखरा झरिन् ।
पोखरास्थित एयरलायन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीमा नाम निकालेर उनी २०१५ मा भर्ना भइन् । ६ महिना लामो एयर होस्टेज कोर्ष पुरा गरेपछि कृष्मी केही महिना पोखराकै एभिया क्लबमा काम गरिन् । लगत्तै यति एयरलाइन्सले एयर होस्टेजका लागि विज्ञापन निकाल्यो । उनी पास भइन् । यति एयरलाइन्सले उनलाई तारा एयरमा पठाइदियो । विगत ५ वर्षदेखि उनी तारा एयरमा एयर होस्टेजका रुपमा रहेकी थिइन् । परिवारको आर्थिक जिम्मा उनकै काँधमा रहेको एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभा केसीले बताइन् । कृष्मीले परिवारका भाइबहिनीको शिक्षाको जिम्मा आफुले लिएकी थिइन् । मामाका छोरी शर्मिला र उनका भाइलाई पोखरा राखेर पढाएकी थिइन् भने अर्का भाइलाई काठमाडौंमा विज्ञान पढाएकी थिइन् । मामाकी छोरी शर्मिलालाई पनि कहिलेकांही एयर होस्टेज बन्न सुझाव दिन्थिन् । शनिबार भेटेर पनि उनलाई कृष्मीले राम्रो मान्छे बन्न भनेकी थिइन् ।
उनले ८ दिनअघि मात्रै सामाजिक सञ्जालमा एउटा लेख पोष्ट गरेकी थिइन् । उक्त लेखमा लेखिएको थियो ‘आइ लभ ह्वइन आई रियलाइज् आई एम ह्यान्डलिङ अ सिचुएसन बेटर देन माई वल्ड सेल्फ उल्ड हाएब’ अर्थात ‘मलाई मन पर्छ जब मैले महसुस गरें कि मैले परिस्थितिलाई राम्रोसंग नियन्त्रण गरिरहेको छु जुन मेरो पुरानो आत्मले हुनेछ ।’
यो भनाई उनकै जिवनको वास्तविकता हो । बुबाले घरबाट निकालिदिए पछि आमाको संघर्षमा सफलताको गाथा चुम्दै गर्दा उनले ठुलो जिम्मेवारी बोकेकी थिइन् । ८ दिनअघि लेखेको लेख अनुसार सायदै उनले केही समय त आइतबार परिस्थितीलाई नियन्त्रण लिने प्रयास गरेकै होलिन् विडम्बना उनले परिवारको जिम्मालाई नियन्त्रणमा लिए जसरी आइतबारको परिस्थितिलाई नियन्त्रणमा लिन सकिनन् । परिस्थिति नियन्त्रण बाहिर गयो बादलमा हराएको जहाज बादलमै बिलाएसंगै बिलाईन एक संघर्षशील युवती कृष्मी ।
विमानस्थलको प्रतिक्षालयमा भेटिएकी शर्मिलाले आँशु पुछेर भनिन्, ‘हिजो राती पनि तिमीहरु राम्रोसँग पढ, राम्रो मान्छे बन्नुपर्छ, म छु, भन्नुभयो, आज उहाँ कहाँ हुनुहुन्छ ?’
शनिबार साँझ पनि कृष्मी, उनका बहिनी शर्मिला, एयर होस्टेज साथी सलिना राणा लगायत लेकसाइड घुमेर फर्किएका रहेछन् । लेकसाइडमा खानपिन गरेर कृष्मी एयरलाइन्सको क्याम्पमा फर्कने बेला घर पुगर फोन गर्न भनेको सलिनाले बताइन् ।
‘हिजो बेलुका राम्रोसँग जा है, घर पुगेर फोन गर भनेको थियो, उनले भनिन्, ‘के भयो के भयो मनिषा एकदम राम्रो मान्छे हो के ।’ नागरिकतामा कृष्मी थापा लेखिएको उनलाई घरपरिवार र साथीले मनिषा भनेर बोलाउँथे ।
तारा एयरअन्तर्गत जोमसोम, लुक्ला र नेपालगञ्ज उडानमा कृष्मीले एयर होस्टेजको काम गर्थिन् । मुस्ताङबाट फर्किएर आइतरबार नै काठमाडौं जाने र सोमबार अर्कै रुटमा जाने उनको कार्यादेश थियो । तर उनी मुस्ताङबाट फर्किनन् ।
कृष्मी हराएको थाहा पाउनासाथ झण्डै चार बर्षसंगै बसेकी उनका अर्की एयरहोस्टेज साथी दिपाली सिंह बिदा मागेर पोखरा आएकी छिन् । दिपाली र कृष्मीको भेट काठमाडौंमा साथीमार्फत भएको थियो । जब उनीहरु भेटे, सँगसँगै बस्न तयार भए । अहिले उनीहरु आ–आफ्नै कामको शिलशिलामा छुट्टिएका छन् । तर उनीहरुको सामिप्यता छुट्टिएको छैन ।
‘कृष्मी मेरो रुममेट हो, हामी दुखसुखका कुरा गथ्र्यौं, भाइबहिनीलाई पढाउन सकेकोमा एकदम गर्व गर्थिन्,’ दिपालीले भनिन्, ‘निराश भएर बस्ने खालकी थिइनन्, आफनो काममा एकदम खुशी थिइन् ।’ समय पाउनासाथ घुम्ने र रमाइलो गर्ने कृष्मीको बानी थियो । साथीहरुलाई पनि उनले घुम्न जाम् भनिरहन्थिन् । दिपालीका अनुसार उनले साथीहरुलाई परिवारको सदस्य र साथीका आफन्तलाई आफनै मान्छे ठान्थिन् । कृष्मीले सधैं आफनै दिदीको व्यवहार गरेको पोखराकी प्रमिला घलेले सम्झिइन् । प्रमिलाका बहिनी पनि एयर होस्टेज हुन् । बहिनीका साथी कृष्मी । ‘मेरो बहिनीको साथी कृष्मीले मलाई दिदी
भन्थिन्, आफना दुखसुख नलुकाई बताउँथिन्,’ उनले भनिन्, ‘मलाई मेरो बहिनी भन्दा फरक कहिल्यै लागेन ।’
एयरलाइन्स फ्लाइट अटेन्डेन्ट एकेडेमीका म्यानेजिङ डाइरेक्टर शोभाले पनि कृष्मीको त्यहीं बानी आफुलाई मन परेको बताइन् । आफ्नो विद्यार्थी भए पनि कृष्मीले साथी र अभिभावकका रुपमा आफुलाई सम्झिने गरेको उनले बताइन् । ‘म काठमाडौं जाँदा कृष्मीसँग बस्थें, उनी पोखरा आउँदा हामी भेट भइराख्थ्यौं,’ उनले भनिन्, ‘कृष्मी एकदम सच्चा दिलकी थिइन्, इमान्दार मान्छे, केही छलकपट थिएन ।’
एयर होस्टेज पास भएपछि कृष्मीले नागरिकता पाउन पनि संघर्ष गर्नुपरेको शोभाले सम्झिइन् । आमाको नाममा नागरिकता नदिने प्रशासनले बुबाका नाममा नागरिकता बनाउन भन्यो । तर उनका बुबा उनी र उनका आमाबाट धेरै टाढा पुगिसकेका थिए । ‘कृष्मीको नागरिकता बनाइदिन बुबाले मान्नुभएको थिएन, धरैपछि मानेका हुन्,’ उनले भनिन्, ‘यति धेरै दुख गरेर पनि एकदम खुशी थिइन्, आफ्नो भन्दा अरुको खुशी चाहन्थिन् ।’
फेसबुकमा राख्दै उनले २०२१ नोभेम्बर ११ मा यस्तो लेखेकी थिइन् । ‘हजुरले जीवनमा धेरै कुराको अनुभव गर्दै आउनुभएको छ त्यहीं अनुभवबाट हामीलाई सिकाउँदै, बुझाउदै आउनुभएको छ, हजुर जस्तो आमा, सासुआमा र हजुरआमा (बुडीमम्मी) पाउनु हामी सबै परिवारको सौभाग्य हो, विशेष गरि म आफुले आफुलाई एकदम भाग्यशाली सम्झिएकी छु म सानो हुदाँ हजुरको काखमा हुर्किन पाएँ हजुरको स्याहार–सुसाहर पाँए जब ठुलो भए एउटा नारी भए त पनि कसरी निडर भएर जीवनमा संघर्ष, आत्मविश्वास, आत्मबल र हिम्मतका साथ अगाडी बढ्न सक्नुपर्छ । समय चलिराख्ने चिज हो हरेक औँसी पछि पुर्णिमा आँउछ त्यसैले हरेस कहिले नखानु म कुनै दिन कमजोर भए भनि हजुरको कुरालाई याद गर्छु ! मेरो प्रेरणा र हिम्मतको श्रोत हो हजुर सधैभरि यसरी हाँसेको देख्न पाम, हजुरको सेवा गर्न पाम र हजुरले जति खुशी माया दिनुभएको छ त्यसको हजार गुना दिन सकुम यहि मेरो जीवनको लक्ष्य हो…।’




