पोखरा । नेपाल मगर महिला संघको ७ औं राष्ट्रिय महाधिवेशन आइतबार पोखरामा हुने भएको छ ।
सामाजिक न्याय र मगर महिला मुक्तिका लागि २०५५ सालमा स्थापित संघको ७ औं महाधिवेशन पोखरा सभागृह हलमा हुने भएको शनिवार आयोजित पत्रकार सम्मेलनमा संघकी अध्यक्ष विनिता आले मगरले जानकारी दिइन् ।
उनले मगर संघको जिल्ला कार्यालय पृथ्वीचो रंगशाला अघि देखि सांस्कृतिक ¥याली सहित सभागृहमा आएर महाधिवेशन गर्ने जानकारी दिइन् ।
‘नेपाल मगर महिला संघ असोजमा २३ वर्षको पुग्दैछ । यसै परिवेशमा नेपाल मगर महिला संघले आफ्नो सांगठनिक इतिहासमा ७ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको हो’ उनले भनिन् ।
उत्पीडितहरुको पक्षमा आन्दोलनको समिक्षा, आरक्षण बचाउ आन्दोलन समीक्षा, मगरात आन्दोलनको रणनीति, लैङ्गीक हिंसा र समानताको आन्दोलनको रणनीति र विशेषगरी मगर महिलाहरु तेहोरो रुपमा विभेदमा परेको विषयलाई उठान गरि रणनीतिक योजना बनाउनेमा महाधिवेशन केन्द्रित हुने बताइन् ।
‘जनसंख्याको आधारमा पूर्ण समानुपातिक महिला प्रतिनीधित्वको लागि हाम्रो आन्दोलन सशक्तिकरण र पहिचानको संरक्षण, सम्बद्र्धनको पक्षमा महाधिवेशन केन्द्रित हुनेछ ।
महाधिवेशनमा सात प्रदेशका ५६ जिल्ला प्रतिनीधि, विदेश शाखा, विदेशका महिला प्रमुख तथा महिला विभाग प्रतिनीधि र पर्यवेक्षक गरि २५० जनाको सहभागिता रहने संघकी महासचिव धनकुमारी रानामगरले जानकारी दिइन् ।




