पोखरा/ अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको हिँकु केभमा २०७७ माघ ४ गते चार कोरियालीसहित ७ जना बेपत्ता भए । हिमपहिरो र आँधीमा फसेका ४ जना कोरियाली, एक जना चिनिया र २ जना नेपाली पदप्रदर्शक हिमपहिरोको शिकार भएका थिए । उनीहरुमध्ये २ जनाको शव तीन महिनापछि फेला प¥यो, बाँकी ५ जनाको शव त्यसअघि फेला परेको थियो ।
अन्नपूर्ण आधार शिविर पदयात्रामा रहेका उनीहरु बाक्लो हिमपातले गन्तव्यमा नपुगी फर्कंदै थिए । हिमपातवीच हिमनदी तर्न नसक्दा उनीहरुको ज्यान गएको थियो । त्यसमाथि हिमआँधीले उनीहरुलाई हिउँको खाल्डोमा धकेल्न सहयोग पु¥याएको थियो ।
‘एकदम हिउँ परेको बेला हिमनदीले साथीहरुलाई बगायो, आँधीले उँडाउला जस्तो गरेको थियो’,उक्त घटनामा घाइते भएर बाँच्न सफल पर्यटक सहयोगी जगदीश खत्रीले भने,‘हिमपातका बेला हिमनदी तर्न नसक्दा दुर्घटना हुन पुग्यो ।’
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपाल भित्रने विदेशी पर्यटकको ४० प्रतिशत अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्न रुचाउँछन् । बाँकी, विभिन्न संघसंस्थाका कार्यक्रममा सहभागी हुने, सगरमाथा आरोहण गर्ने र शहरी क्षेत्र मात्र घुमेर फर्कने पर्यटक छन् । अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटक गाइडले अहिलेसम्म हिमनदी कसरी तर्ने भनेर तालिमसमेत पाएका छैनन् ।
अन्नपूर्ण क्षेत्रलाई मुख्य आधार बनाएका पर्यटक गाइड दीलिप आचार्यले हिमाली क्षेत्रका जोखिमबाट जोगिने उपायका बारेमा अहिलेसम्म कुनै तालिम नपाएको बताए । ‘पर्यटक गाइडलाई पर्वतारोही गाइडले जस्तै तालिम पाउनुपर्छ’। उनले भने, ‘हिमपात र हिमनदी जुनसुकै बेला उर्लन सक्छ, पर्यटकको ज्यान जोगाउनुपर्छ ।’
पदयात्री पर्यटकलाई मात्र होइन, पोखराका पर्वतारोहण सहयोगीले पनि सुरक्षाका बारेमा जानकारी पाउन सकेका छैनन् । जबकि, गण्डकीमा मात्र ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमाल छन् । अन्नपूर्ण पहिलो ८ हजार ९७ मिटर, धौलागिरी ८ हजार १६७ र मनास्लु ८ हजार १५६ मिटर अग्ला छन् । यी हिमाल आरोहण गर्न चाहने आरोहीले पोखराबाट तालिमप्राप्त अनुभवी गाइड पाउन सक्दैनन् ।
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष शेषकान्त घिमिरेले गण्डकी प्रदेश पदयात्रा र पर्वतारोहणको केन्द्र भएपनि यसक्षेत्रमा सरकारी लगानी हुन नसकेको गुनासो गरे । ‘नेपाल आउने धेरै पर्यटक अन्नपूर्ण क्षेत्रमा जान्छन्, तर उनीहरुलाई दक्ष पर्यटक गाइड पाइदैन’, उनले भने, ‘यहाँ हिमाल चढ्न आउनेले पनि काठमाडौंबाट गाइड बोकेर आउनुपर्छ ।’
हिमाल आरोहण गाइड शेर्पाबाहेक काठमाडौंबाट आउने पर्यटक गाइड पोखराका जति पनि गुणस्तरीय नभएको उनको दाबी छ । पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था र सरकारले यसतर्फ ध्यान दिन नसकेको उनले बताए ।
ज्यान जाने जोखिम
पर्यटक गाइड तथा पर्वतारोही मधु गुरुङ र शान्ति गुरुङले हिमाल आरोहणमा उचित शिक्षा नपाउँदा ज्यान जाने जोखिम मोल्नुपरेको छ । नेपाल र विदेशका गरी आधा दर्जनबढी हिमाल आरोण गरेका उनीहरुले पहिलो पटक सन् २०११ म अन्नपूर्ण चौथो हिमाल आरोहण गरेर महिलातर्फ रेकर्ड राखेका थिए । अन्नपूर्ण चौथो आरोहण गरेर फर्कदा हिउँ परिरहेको थियो । चुलीबाट फर्कदा अचानक उनीहरु हिमपहिरोमा फस्न पुगे ।
‘हिमपहिरोमा पर्दा भुइचालो आएजस्तो जमिन कामेको थियो’, आरोही मधुले भनिन्, ‘त्यसपछि हिमपहिरोले बेरेर लग्यो, होस् नै रहेन ।’
उनका अनुसार त्यतिबेला हिमपहिरोले सिधै तल झार्दा ४ घण्टा हिड्नुपर्ने बाटो एकैछिनमा तल पुगेका थिए । उनीहरु जुन ठाउँमा अड्किए, त्यहाँबाट तल खसेको भए ज्यान नै जाने भिर रहेको उनले बताइन् । ‘भर्खर परेका नरम हिउँ भएकाले पनि बाँचियो, पुरानो हिउँ भएको भए हामी यहाँ हुन्थेनौं’, उनले भनिन्, ‘हिमपहिरोमा परेकाले हामी सबै घाइते भएका थियौं ।’
हिमपहिरोमा पर्दा श्वास फेर्नै मुश्किल भएको अर्का पर्वतारोही एवं पर्यटक गाइड शान्तिले बताइन् । ‘हिमपहिरोले अड्किएको ठाउँमा मेरो शेर्पा गाइडले नानी भनेर बोलायो, म त सपनामा बुबा आमाले बोलाएको जस्तो ठानेको थिए,’ उनले भनिन्, ‘बिस्तारै होसमा आउँदा हिउँमा पुरिएको थिए ।’
उनीहरुका अनुभवमा हिमालतिर पदयात्रा जाने पर्यटक गाइड र पर्वतारोहीका गाइडलाई उच्च स्तरको तालिम आवश्यक छ । तर उनीहरुलाई यस्तो अवस्थामा ज्यान जोगाउने उपाय कसैले सिकाएका छैनन् ।
हिमालतिर पर्वतारोहणमा होस् वा पदयात्रामा जाने पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव सुदीप गौतमले बताए । ‘नेपालको पर्वतारोहण र पदयात्रा सकेसम्म सुरक्षित पानुपर्छ’, उनले भने, ‘हामीले उपयुक्त तालिम पायौं भने पर्यटक र पर्वतारोहीको ज्यान जोगिन्छ, नेपालका हिमाल सुरक्षित भए पर्यटक पनि बढ्न सक्छ ।’
हिउँ भएका ठाउँमा अहिले पनि कतिपय पर्यटक र गाइड हिमपहिरोमा फस्ने, डुब्ने, बगाउने जस्ता घटनाका शिकार हुनुपरेको उनीहरुको अनुभव छ । मधु र शान्ति हिमाल आरोहण र पदयात्रामा जाँदा पटक पटक यस्ता समस्या देखेको बताए ।
‘हिमालमा कहाँ पाइला राख्ने, कहाँ नराख्ने भनेर त तालिम लिनुपर्छ’, उनीहरु भन्छन्, ‘कुन ठाउँमा पाइला राख्दा सुरक्षित हुन सकिन्छ, त्यसबारे पहिला नै एकिन गर्न सक्नुपर्छ ।’ हिमालमा पदयात्रा गर्ने पर्यटक गाइडलाई पनि यस्ता तालिम अनिवार्य दिनुपर्ने उनीहरुको जोड छ ।
अन्नपूर्ण आधार शिविर जाने पदमार्गको हिँकुकेभमा कोरियाली र चिनिया पर्यटक लगेका गाइडले यसबारे जानकारी पाएका भए उक्त दुर्घटना नहुने उनीहरुको तर्क छ । यस्तै, हिमपात र आँधीका कारण पनि धेरै पर्यटक र उनीहरुका नेपाली सहयोगीले ज्यान गुमाउन परेको उनीहरुले बताए । उनीहरुको एउटै गुनासो छ, ‘नेपालमा धेरै विदेशी र नेपालीले हिमालमा ज्यान गुमाउँदासमेत सरकारले सुरक्षाका उपाय सिकाउन कुनै चासो दिएन ।’
नयाँ संभावनाको खोजी
नेपाली आरोही तेन्जिङ नोर्गे शेर्पा र ब्रिटिश आरोही एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा आरोहण गर्नुभन्दा ३ बर्षअघि नै फ्रान्सेली टोलीले ८ हजार ९७ मिटर अग्लो अन्नपूर्ण प्रथम आरोहण गरेका थिए । विश्वमै पहिलो पटक ८ हजार मिटरमाथि मानिसले पाइला टेकेको भन्दै त्यतिबेला विश्वभर चर्चा कमाएको थियो । फ्रान्सेली टोलीका आरोही मौरिस हर्जोगको आरोहण सफल भएको खुशीयालीमा फ्रान्स सरकारले तीन दिन राष्ट्रिय बिदा दिएको थियो ।
‘किलर माउण्टेन’ को उपमा पाएको अन्नपूर्ण पहिलो आरोहणका लागि निकै अप्ठ्यारो हिमाल मानिन्छ । यस हिमालमा निकै भीर रहेको र निरन्तर हिमपहिरो झर्ने गरेको आरोहीहरुको अनुभव छ ।
विश्वमै पहिलो पटक ८ हजार मिटरमाथि पाइला टेकेका मौरिस हर्जोगले त्यतिबेला हात र खुट्टा गुमाउनुपरेको थियो । फ्रान्स फर्केपछि उनले लेखेको ‘अन्नपूर्ण’ पुस्तक अहिले पनि विश्वमै सर्वाधिक बिक्री भएको पुस्तकमा दरिएको छ ।
विभिन्न ६० भाषामा प्रकाशित उक्त पुस्तकले नेपाललाई हिमाल र पर्वतारोहणको देशका रुपमा चिनाउन सफल भएको थियो ।
हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको दिनलाई नेपालमा अन्नपूर्ण दिवस घोषणा गरिएको छ । तर उक्त दिवसका महत्व र आगामी कार्यभारका विषयमा भने कुनै पनि सरकारी र गैरसरकारी संस्थाले महत्व दिएका छैनन् ।
नेपाल पर्वतारोहण संघ गण्डकीले यही दिवसका अवसरमा कास्कीमा नयाँ पदमार्गको खोजी गरेका छन् । उनीहरुले पोखराबाट घाचोक हुँदै टुसेगाउँ, खुमाइडाँडा, कोर्चोक, नाउजेखर्क, रानीखर्क, तीनशीर पुग्ने नयाँ पदमार्गको खोजी गरेका छन् । तीनशीरको हिमनदीमा पर्यटक र पर्वतारोही गाइडलाई हिमपहिरो र हिमनदी तर्ने तौरतरिका सिकाएर पिपरखर्क, करुवागाउँ हुँदै पोखरा र्फकने नयाँ रुटको खोजीसमेत गरेका छन् ।
पोखरा भएर बग्ने सेती नदीको मुख्य मुहान रहेको अन्नपूर्ण र माछापुच्छ«े हिमालको बिचमा तीनशीर पर्ने नेपाल पर्वतारोहण संघ गण्डकीका सचिव सुदीप गौतमले बताए । ‘तीनवटा मुलबाट निस्केको पानी एकैठाउँमा जम्मा भएर बगेकाले तीनशीर भनिएको छ,’ उनले भने, ‘यो धेरैबर्ष अघि धार्मिक क्षेत्रका रुपमा प्रख्यात थियो ।’
उनका अनुसार तीनशीरमा जनैपूर्णीमाका अवसरमा मेला लाग्ने गरेको थियो । त्यतिबेला कास्की र आसपासका जिल्लाबाट समेत करिब ५ हजार मिटर उचाइको उक्त स्थानमा स्नान गर्न जाने भक्तजनको घुइँचो लाग्थ्यो ।
अन्नपूर्ण क्षेत्रका स्थापित पदमार्गमा मोटरबाटो बनेपछि नयाँ पदमार्गको रुपमा उक्त क्षेत्रलाई स्थापित गर्न सकिने गौतमले बताए । ‘सबैतिर डोजर चलाएर पदमार्ग बिगारियो, नयाँ पदमार्गका रुपमा यो तीनशरा राउण्ड अत्यन्त रोमाञ्चक हुन सक्छ,’ उनले भने, ‘हामी यस पदमार्गलाई स्थापित गर्छौ ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराइले यस्ता पदमार्गको संरक्षणमा स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । ‘पदमार्ग पत्ता लगायो डोजर कुँदाएर बाटो बनाउने होइन,’ उनले भने, ‘पदमार्गमै पर्यटकलाई सुविधा दिन सक्नुपर्छ, पदमार्ग बिगार्न दिनुहुँदैन ।’
उक्त पदमार्गको सम्भाव्यता खोजी गर्न २० जनाको टोली गएका छन् ।उनीहरुलाई तीनशीर हिमपहिरोमा पर्वतारोहण सम्बन्धी तालिमसमेत दिने योजना छ । भोजपुरका पर्वतारोही गाइड दोर्ची शेर्पाले हिमपहिरो तर्ने तरिकादेखि हिमालमा आइपर्ने जोखिम र त्यसबाट ज्यान जोगाउने उपायका बारेमा सिकाउने छन् । गण्डकीका हिमालमा पर्यटन प्रवद्र्धन गर्न अब नयाँ तरिकाले जानुपर्ने देखिन्छ, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशीराज भण्डारीले भने, पुरानो तरिकाले अब पर्वतारोहण र पदयात्राका समस्या समाधान हुँदैन ।’




