पोखरा/पोखरा महानगरपालिकाले तीन महिना भित्र महानगर भित्रका सबै घर कम्पाउण्डमा विरुवा रोप्न नगरवासीलाई अनिवार्य गरेको छ ।
महानगरका मेयर धनराज आचार्यले अबको तीन महिना भित्र प्रत्येक घरमा विरुवा रोप्ने घोषणा गरे । विश्व वातावरण दिवशको सन्दर्भ पारेर उनले यस्तो घोषणा गरेका हुन् ।
५० औं विश्व वातावरण दिवशको महानगरले आयोजना गरेको बृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक घर एक बृक्षारोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक विरुवा उपलब्ध गराउने समेत जानकारी दिए । त्यसका लागि वातावरण शाखाले तयारी अगाडि बढाउने उनले बताएका छन् ।
केही वर्ष अगाडि सेती नदिमा आएको अप्रत्यासित बाढी, गतवर्ष मनाङ र मादीमा आएको वाढीको स्मरण गर्दै उनले वातावरणीय सन्तुलन कायमका लागि बृक्षारोपण अनिवार्य रहेको धारणा राखे ।
सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना विरुवा भएपनि रोप्न नगरवासीलाई आग्रह गरेका छन् ।
पोखरामा विगतमा प्रशस्त मात्रामा रहेका पोखरी, बर पिपल चौतारा मासिएको उल्लेख गर्दै उनले सडकका किनारामा कस्तो विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसंग बसेर निस्कर्ष निकाल्ने बताए ।
‘विगतमा पोखरामा प्रशस्त पोखरीहरु थिए । चौताराहरु थिए । प्रशस्त बर पिपलका विरुवाहरु थिए, ति सबै मासिए ।’ उनले भने, ‘अब जे जति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी विरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसंग बसेर निर्णय गर्ने छौं ।
अनि पोखरालाई नारा अनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउने छौं ।’
मेयर आचार्यले खाली जमिनमा बृक्षारोपण कार्यक्रम गर्न पोखरा स्थित सम्पूर्ण संघसंस्थाहरुलाई आग्रह समेत गरेका छन् ।
बृक्षारोपणका लागि बृक्षारोपण मात्र नभएर त्यसको संरक्षण हुनुपर्नेमा जोड दिँदै उनले आफूले रोपेका विरुवाको संरक्षणपनि सम्बन्धित संस्थाले नै गर्नुपर्ने बताए ।
सरकारले निजी जमिनमा रोपिएका रुख कटानको सन्दर्मभा लिएको निर्णयले आम नागरिकलाई आम्दानी दिने विरुवा रोपेर आयअर्जन गर्ने बाटो खोलिदिएको धारणा राख्दै उनले बृक्षारोपण गरेर यसको फाइदा लिन समेत आग्रह गरेका छन् ।




