पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबार पोखरामा साइकल दौड प्रतियोगिता हुने भएको छ ।
साइकलको प्रवद्र्धन गर्ने उद्देश्यसहित साइक्लिङ संघ कास्की र साइकल सिटी पोखराको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
४५ किलोमिटर दुरीको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको समितिका सदस्य सचिव सुवास सड्काले जानकारी दिए ।
पोखरा १६ स्थित कालीखोलाको पुलबाट सुरु हुने प्रतियोगिता ¥यालेचौर, मौजा, आँटीघर, अर्मलाकोट, ढिकीडाँडालगायत ठाउँ हुँदै कालीखोलाको पुलमै आएर टुंगिने छ ।
प्रतियोगितामा सहभागी हुन ड्यामसाइडस्थित खेलकुद विकास समितिको कार्यालय, न्यूरोडस्थित साइकल ल्याण्ड, सिर्जना चोकस्थित चालिसे साइकल, पोखरा माउण्टेन बाइक एडभेन्चर हल्लनचोकमा पाइने फारम भर्नुपर्ने छ ।
काठमाडौँमा साइक्लिष्ट उषा खनाललाई सम्पर्क गरेर फारम भर्न सकिने आयोजकले जनाएको छ । तोकिएका स्थानबाट शुक्रबार दिउँसो २ बजेसम्म फारम भर्न सकिने सहआयोजक साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र पाउने छन् । सहभागी सबैलाई मेडल र प्रमाणपत्र दिइने छ ।
खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले पछिल्लो समय साइकल प्रति धेरैको रुचि बढेकाले प्रतियोगताले साइकल चलाउनेलाई खेलकै रुपमा विकास गर्न थप सहयोग पुग्ने बताए ।





