पोखरा /एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा नेपालले विजयी सुरुवात गरेको छ ।
मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै सुखद् सुरुवात गरेको हो ।
जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रन बनाउँद अल आउट हुन पुग्यो । भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गरेनन् ।
नेपालकी स्पिनर संगिता राईले २.५ ओभरमा ६ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् । सीता रानामगरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र अश्मिना कर्माचार्यले १÷१ विकेट लिए ।
त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर ब्याटिङ थालेको नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालले सुरुवातमे १२ रन बनाउँदा ३ विकेट गुमाउन पुगेको थियो ।
नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रनको योगफल बनाएको थियो । नेपालकी काजल श्रेष्ठले २६ बलमा १ चौकासहित २० रन जोडिन् । इन्दु बर्माले २६ बलमा १ चौकासहित २० रनमा आउट हुन पुगिन् ।
रुविना क्षेत्री बेलबासेले २२ बलमा १ चौकासहित २१ रनमा आउट भइन् । ओपनर विन्दु रावल दोस्रो ओभरको दोस्रो बलमा सोनम पल्डनको बलमा एक रनमा एलबीडब्लू आउट भईन् । ज्योति पाण्डे दोस्रो ओभरको अन्तिम बलमा शून्यमा रन आउट भइन् ।
अञ्जु गुरुङले नेपाली प्रमुख ब्याटर तथा अनुभवी खेलाडी सीता रानामगरलाई ४ रनमा क्याच आउट गरेपछि नेपालले खराब सुरुवात गरेको हो । सीताले १५ बल खेलेकी थिइन् । ममता चौधरी ३ र डली भट्ट ५ रनमा आउट भए ।
भुटानकी सोनम पाल्डनले ४ ओभरमा १ मेडनसहित १३ रन खर्चेर ४ विकेट लिइन् । अञ्जु गुरुङले ४ ओभरमा १२ रन खर्चेर १ विकेट लिइन् । टाँसी चेकीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् ।
समूह बी मा नेपाल सहित हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो । नेपालले दोस्रो खेलमा शनिबार कुवेतसँग खेल्नेछ ।
नेपालको खेल तालिका
असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत
असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन
असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ





