पोखरा/ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले सत्ता गठबन्धनमा बबण्डर निम्त्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रमहरु नै छुटाएर बजेट पेश गरेको भन्दै सत्ता गठबन्धनभित्र आलोचना सुरु भएको हो । सोही कारण आइतबारबाट सुरु हुने भनिएको बजेटमाथिको छलफल नै स्थगित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तत्काल संसद बैठक नराख्न आग्रह गरेपछि आइतबारको बैठक स्थगित भएको हो ।
तत्काल बैठक नराख्न भनेपछि अर्को सूचना जारी नभएसम्मका लागि असार ५ गतेको बैठक स्थगित गरिएको छ,’ प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेलले भने, ‘अर्को बैठक कहिले बोलाउने सरकारकै अनुरोधपछि मात्र टुंगो लाग्ने छ ।’
बजेटप्रति सत्ताको नेतृत्व गरेको कांग्रेससहित माओवादीभित्र पनि असन्तुष्टि छ । सरकारका प्रवक्ता कुमार खड्का अनुसार बजेटको वार्षिक पुस्तिका नआइसकेको र बजेटमा सहमति कायम गर्नुपर्ने भएकाले संसद बैठक स्थगित भएको बताएका छन् । यता,बजेटबारे छलफल गर्न आइतबार माओवादीले पनि बैठक राखेको छ । कांग्रेसले पनि बजेटबारे छलफल गर्न बैठक राख्दैछ । अर्थमन्त्रीले ९ प्रतिशतभन्दा बढी बजेट आफैसँग राराखेकोमा पनि आपत्ति जनाइएको छ ।




