पोखरा/ पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
ग्लो नामक संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा संस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए ।
उनले बालबालिकाका लागि मात्र नभई सिप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला तथा एकल महिलाका लागि निशुल्क सिलाई तालिम शुरु गर्ने योजना अघि सारेको समेत बताए ।
विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो विद्यालयसंग संस्था जोडिने काम भएको बताए । संस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि न्यानो लुगा, शैक्षिक सामाग्री, तथा कम्प्युटर सम्बन्धि कार्यक्रम गर्दा विद्यार्थीको पढाईमा सहयोग पुगेको बताए ।
पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्नका लागि यसरी नै सहयोगि हातको खाँचो रहेको सुनाए ।
२०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे ।
बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए ।





