बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?


  • ढोरपाटन संवाददाता
  • असार ६ २०७९, सोमबार

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ ।

बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता आएको हो । आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रमुख वृहस्पति गौतमले उक्त प्रतिवद्धता जनाएका हुन् ।

लामो समयदेखि अलपत्र परेको आयोजना समयमा पुरा नभएकोले नगरक्षेत्रमा पानीको समस्या भएपछि नगरपालिकाले चासो राखेको हो । ‘जनताले छिटो र गुणस्तरीय पानी खान पाउनुपर्छ’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘कुनैपनि बहानामा ढीला गरिने काम स्विकार्य छैन ।’ उनले पुस मसान्तपछि एक दिन पनि जनताले कुर्न नसक्ने समेत उनले बताए ।

ठेकेदार गौतमले भने इलेक्ट्रोनिक्स सामाग्री ल्याउनु पर्ने भएकोले एलसी खोलेर ल्याउनु पर्ने भन्दै राज्यका निकायले एलसी खोल्ने काममा साथ दिनुपर्ने बताए । ‘कतिपय अवस्थामा एलसी खोल्न र सामाग्री ल्याउने काममा भन्सारमा समस्या हुन्छ, त्यसैले सरकारी निकायले सहजीकरण गरिदिनुपर्छ’ गौतमले भने, ‘काम ८० प्रतिशत सकिएको छ, अब सामान फिटिङ र रंगरोगनको काम भएकोले समयमै गर्न सकिन्छ ।’ गौतमले एलसी खोलेपछि ३ महिनामा सामान ल्याउन सकिने बताए ।

नगरपालिकाको भेटमा आयोजना प्रमुख पौडेलले ढीला भए ठेकेदारलाई कारवाही गरिने बताए । उनले कानूनी रुपमा पनि कारवाही गर्न पाउने अवस्था नआएसम्म दबाव मात्र दिन सकिएको बताए । ‘अब भने कानूनी रुपमा कालोसूचीमै राख्न सकिने अवस्था आउँछ’ उनले भने, भौगोलिक कठिनाइले कतिपय काम ढीला भएको हो ।’ बानपा–३ को कैलाम पोखरीबाट लिफ्टमार्फत भीरलाकुरी लगेर बजार क्षेत्रमा पानी खुवाउने योजना छ ।

बागलुङ बजारमा हाल वितरित पानी धमिलो र गुणस्तरहिन आएकोले उपभोक्ताले धेरै बिरोध गरेका छन् । खानयोग्य पानी नआएपछि उपभोक्ताले स्वच्छ पानीको माग गर्दै आन्दोलन गरेका छन् । उपभोक्ताले जिल्ला प्रशासनमा समेत ज्ञापनपत्र बुझाएका छन् । प्रशासनले स्वच्छ पानी खुवाउने बिषयमा पहल गरेको छ । प्रशासनले उपभोक्ताको हितमा काम गर्न समितिलाई निर्देशनसमेत दिएको छ ।
सदरमुकामदेखि झण्डै १२ किमी पश्चिमको भुँदीखोला र रेशखोलाबाट ल्याएको पानीले बागलुङ बजारमा वितरण गरिएको छ । उक्त पानीको पाइपलाइन पटक पटक बिग्रेर मर्मत गर्दा लामो समयसम्म बजारमा खानेपानी अभाव हुने गरेको छ । हाल खाइरहेको पानीको मुहान खुला भएको र पहाडी क्षेत्रबाट आउने भल सोझै पस्ने भएकोले धमिलो पानी आउने समितिका उपाध्यक्ष निरज शाक्यले बताए ।
आइतबार नगरप्रमुख श्रेष्ठ सहितको टोलीले पानीको मुहानको अबलोकन गरेर तत्काल सफा पानी खुवाउने अबस्था सिर्जना गर्न समिति, प्राविधिक र आयोजना समेतलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->