पोखरा/ देशभर रासायनिक मलको अभाव चर्किरहेका बेला प्राङ्गरिक मल भने खेर गइरहेको छ । नेपालीको मुख्य खाद्यान्न धान रोपाई धुमधामले चलिरहँदा किसानले खेतमा मल राख्न पाएका छैनन् । सरकारले यस आर्थिक वर्षमा रासायनिक मल खरिदमा ३० अर्ब रुपैयाँ विनियोजन गरेपछि किसानलाई आवश्यक मल उपलब्ध गराउन सकेको छैन ।
रासायनिक मल खरिद गरेर किसानलाई अनुदानमा वितरण गरिरहेको सरकारले प्राङ्गरिक मलमा भने कुनै अनुदान दिएको छैन । जसका कारण प्राङ्गरिक मल खेर गएको गण्डकी उर्जाका संचालक कुशल गुरुङ बताउँछन् । उनी भन्छन्, ‘रासायनिक मल नपाएर किसान हैरान छन्, तर प्राङ्गरिक मल प्रयोग गर्न सरकारले कुनै सहुलियत दिएको छैन ।’
धान रोप्दा मल राख्न नपाउँदाको असर उत्पादनमा पर्ने कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख मनोहर कडरिया बताउँछन् । रासायनिक मल अभाव चर्किदा किसानलाई प्राङ्गरिक मल प्रयोग गर्न प्रोत्साहन दिनुपर्ने उनको भनाइ छ । तर, सरकारसँग प्राङ्गरिक मलमा अनुदान दिने नीति छैन ।
नेपालमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले मल खरिद विक्रीको अनुमति पाएको छ । तर यी दुबै कम्पनीले आवश्यक मल विक्री वितरण गर्न सकेका छैनन् । रासायनिक मलको अभाव खड्किँदा पोखरा– ३२ मझुवास्थित प्राङ्गरिक मल उत्पादक कम्पनी गण्डकी उर्जाबाट उत्पादित मल विक्री नै हुन सकेको छैन । गण्डकी उर्जामा अहिले पनि करिब ३ सय टन प्राङ्गरिक मल बाँकी छ । प्राङ्गरिक मल प्रयोग गर्न सरकारी नीति बाधक भएको गण्डकी उर्जाका संचालक कुशल गुरुङ बताउँछन् ।सरकारले प्राङ्गरिक मल खरिदमा लागतको आधा बढी अनुदान दिन्छ । प्राङ्गरिक मल खरिदमा भने कुनै अनुदान पाउँदैन । अहिलेसम्म सरकारले प्राङ्गरिक मल खरिदमा किसानलाई कुनै अनुदान नदिएको गुरुङको भनाइ छ ।
यस्तै, एलपी ग्यासमा पनि सरकारले प्रति सिलिण्डर ९ सय ८० रुपैयाँ अनुदान दिन्छ । अहिले उपभोक्ताले १ हजार ८ सय रुपैयाँमा प्रति सिलिण्डर ग्यास किनिरहेका छन् । जुन प्रत्येक सिलिण्डर खरिद गर्दा नै सरकारी अनुदान कटाएर मुल्य राखिएको छ । तर बायोग्याँसमा भने कुनै अनुदान छैन । गण्डकी उर्जाबाट उत्पादित बायोग्याँस एलपी ग्यासभन्दा प्रीतकिलो ३ रुपैयाँ सस्तोमा बेच्नुपरेको गुरुङले बताए ।
‘रासायनिक मल र प्राङ्गरिक मलमा सरकारले ठूलो रकम अनुदानमा खर्च गर्छ, त्यही पनि विदेशबाट आयात गर्दा समयमै उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘हामीले यहीं उत्पादन गरेको बायोग्याँस र प्राङ्गरिक मलमा कुनै अनुदान छैन, रासायनिक मल र एलपी ग्याससँग प्रतिश्पर्धा गर्नुपरेको छ ।’
गण्डकी उर्जा पूर्ण क्षमतामा संचालन गर्दा बार्षिक १५ सय टन मल उत्पादन गर्न सक्छ । तर अहिले बार्षिक ४ सय टन मात्र उत्पादन गरिरहेको छ । अहिले बार्षिक ३ सय टन प्राङ्गरिक मल विक्री भइरहेको गुरुङले बताए । प्राङ्गरिक मल प्रयोग गर्दाका फाइदा बुझेका किसान र केही सरकारी निकायले समेत किसानलाई अनुदानमा वितरण गर्न उक्त परिमाणमा मल खरिद गरेको उनको भनाइ छ ।
प्राङ्गरिक मल थुप्रिँदा उद्योगमा राख्ने ठाउँसमेत अभाव भएको गुरुङले बताए । उद्योगबाट उत्पादित ग्याँस पोखराका केही रेष्टुरेण्ट, होटल, अस्पताल लगायतले प्रयोग गरिरहेका छन् । एलपी ग्याससँग प्रतिश्पर्धा गर्नुपरेकाले बायोग्यासको मुल्य घटाउन उपभोक्ताले दबाब दिइरहेको उनले बताए ।
पोखरा महानगरका कृषि महाशाखा प्रमुख कडरियाले बायोग्यास र रासायनिक मल प्रयोग गर्न प्रोत्साहन दिनुपर्ने बताए । स्थानीय सरकारले मात्र नभइ संघीय र प्रदेश सरकारले यस्तो नीति लिनुपर्ने उनको भनाई छ ।‘प्राङ्गरिक मल प्रयोगको फाइदा बुझ्ने हो भने सरकारले रासायनिकमा भन्दा धेरै प्राङ्गरिक मलमा अनुदान दिनुपर्छ,’ उनले भने, ‘प्राङ्गरिक मलले वातावरण, समाज, पानी सबै स्वस्थ राख्ने भएकाले पनि यसको महत्व सरकारले बुझ्नुपर्छ ।’
रासायनिक मलको प्रयोगले माटोको गुणस्तर घटाउँदै लैजाने उनले बताए । तर प्राङ्गरिक मलले माटोको गुणस्तर बढाउने उनको भनाई छ । प्राङ्गरिक मल प्रयोग गरेर उत्पादित खाद्यान्न सबैभन्दा स्वास्थ्यकर हुने भन्दै उनले प्राङ्गरिक खेती अभियान चलाउनुपर्ने बताए ।‘रासायनिक मल पानीमा पुग्यो भने पानी नै दूषित पार्छ, माछा लगायत जलचर मार्छ,’ उनले भने, ‘प्राङ्गरिक मलले पानी सफा राख्छ, माछालाई आहार दिन्छ ।’
बजारमा अहिले प्राङ्गारिक मलको मूल्य प्रतिकिलो ३० रुपैयाँ छ । जबकी, सरकारले दोब्बर अनुदान दिएको रासायनिक मलको मुल्य प्रतिकिलो कम्तिमा २२ रुपैया रहेको कडरियाले बताए । ‘रासायनिक मलमा प्रतिकिलो राज्यले जति रकम अनुदान दिएको छ, त्यति नै रकम प्राङ्गरिक मलमा अनुदान दिने हो भने हारालुछ हुन्छ,’ उनले भने, ‘प्राङ्गरिक मल प्रयोग गरेर उब्जिएका खाद्यान्न र तरकारीको मुल्य नै उच्च छ, उपभोक्ताको स्वास्थ्यमात्र नभइ वातावरणीय स्वास्थ्यका लागि पनि हितकर छ ।’
उत्पादन लागत उठाउन प्राङ्गरिक मल धेरै प्रयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार १०० किलो युरिया मलमा ४६ किलो नाइट्रोजन बालीले पाउन सक्छ । खाद्यान्नका बालीलाई सबैभन्दा बढी नाइट्रोजन तत्व आवश्यक पर्ने कडरियाले बताए । जबकी, १०० किलो प्राङ्गरिक मल प्रयोग गर्दा बालीले ३ किलो मात्र नाइट्रोजन प्राप्त गर्छ । यही कारण रासायनिक मलभन्दा १५ गुणा बढी प्राङ्गरिक मल प्रयोग गर्नुपर्ने कडरियाले बताए ।
रासायनिक मलबाट बालीले नाइट्रोजन मात्र प्राप्त गर्ने भन्दै उनले प्राङ्गरिक मलबाट नाइट्रोजनसँगै फोस्फरस, पोटास लगायतका तत्व पनि प्राप्त गर्ने बताए ।
रासायनिक मलको सट्टा प्राङ्गरिक मल प्रयोग गर्दा अहिले पनि उत्पादन बढाउन सकिने उनको भनाइ छ । तत्काल मल धेरै प्रयोग गरेपनि माटो र बालीलाई कुनै असर नगर्ने भन्दै उनले उत्पादनका भविश्यका लागि प्राङ्गरिक मल नै हितकर हुने उनले बताए । रासायनिक मल प्रयोग गरेको जमिनमा अर्को बर्ष झन् झन् बढी रासायनिक मल प्रयोग गर्नुपर्ने र जमिनबाट उत्पादन घट्दै जाने तर प्राङ्गरिक मल प्रयोग गर्दा उत्पादन बढ्दै जाने कडरियाको भनाई छ । उनले भने– ‘प्राङ्गरिक खेती भनेको दिगो हो, यसका फाइदा मात्र छन्, बेफाइदा केही छैन ।’
गण्डकी उर्जाले वरपरका गाउँबाट गोबर खरिद गरेर बायोग्याँस र प्राङ्गरिक मल उत्पादन गरिरहेको छ । यसका साथै पोखरा महानगरबाट संकलन हुने कुहिने फोहोरसमेत कम्पनीले खरिद गरेर मल र ग्याँस उत्पादनमा लगाएको कम्पनीका संचालक गुरुङले बताए ।
यहीं उत्पादन भएको प्राङ्गरिक मल र ग्याँसमा सरकारले वास्ता नै गरेन, उनले भने, विदेशबाट ल्याउनुपर्ने रासायनिक मल र एलपी ग्याँसलाई प्रोत्साहन गरेको छ, यसले अर्थतन्त्रलाई पनि राम्रो गर्दैन ।’





