मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

पोखरा बसपार्कमा सामान्य सुधार

पोखरा बसपार्कमा सामान्य सुधार


  • ढोरपाटन संवाददाता
  • असार १७ २०७९, शुक्रबार

पोखरा ९, पृथ्वीचोकमा रहेको बसपार्क सुधार थालिएको छ । बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्याइएको छ भने भने पश्चिम भागमा नाला निर्माण भएको छ ।
पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धूलोमुक्त बनाउन लागिएको बताए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धूलोमुक्त हुँदैछ’, उनले भने, ‘पोखरा महानगरपालिका र प्रदेश सरकारकोसमेत सहयोगमा बसपार्कले अब रुप फेर्दैछ ।’

यसैबीच पोखरा बसपार्कको बुधबार मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धूलो र हिलोमुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनको उद्घोष छ । बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो ।

गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए ।

पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ वर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->