पोखरा/ पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आवद्ध कर्मचारी संगठनहरु आन्दोलनमा उत्रिंदा सर्वसाधारण बिरामी मर्कामा परेका छन् । नेपाली कांग्रेस, एमाले र माओवादी निकट कर्मचारी संगठनले झण्डै १ महिनादेखि अस्पतालको ओपिडी सेवा आंशिक बन्द गराएका छन् भने अस्पतालका मानव संशाधन एवं प्रशासन शाखा र डिनको कार्यालयमा तालाबन्दी गरेका छन् ।
अस्पतालले विभिन्न सेवा सुविधाबाट कर्मचारीलाई वञ्चित गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाली कांग्रेस निकट नेपाल स्वतन्त्र कर्मचारी युनियन मणिपाल शिक्षण अस्पतालका अध्यक्ष नवराज भण्डारीका अनुसार विगत २२ दिनदेखि अस्पतालको ओपिडी सेवा आंशिक बन्द गराएको बताए ।
अस्पताल प्रशासनले सन् २०१० मा कर्मचारी संगठनहरुसँग गरेको सहमति अहिलेसम्म कार्यान्वयन नगरेको, सुत्केरी र किरिया बिदा नदिएको, उपदान नदिएको, कर्मचारीको तलब वृद्धी नगरेको लगायतका कारण आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।
आन्दोलनरत कर्मचारी संगठनहरुले नयाँ कर्मचारीलाई स्थायी गर्न समेत माग राखेका छन् । अस्पताल प्रशासनले अस्थायी कर्मचारीलाई सुविधा दिन सामाजिक सुरक्षा कोषमा जाने प्रतिवद्धता जनाए पनि अहिलेसम्म नगएको भण्डारीले बताए ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका कर्मचारी संगठनहरुले ४ महिनाअघि अस्पतालका मानव संशाधन तथा प्रशासन प्रमुख भानु भारद्धाजको कार्यकक्षमा ताला लगाएका थिए । त्यसपछि उनीहरुले डिनको कार्यालयमा ताला लगाएका थिए । अहिलेसम्म उक्त ताला खुलेको छैन ।
प्रशासन प्रमुख र डिनको कार्यालयमा ताला लगाएर माग राख्दासमेत सुनुवाई नभएकाले अस्पतालको ओपिडी सेवा बन्द गर्न परेको भण्डारीले बताए । उनका अनुसार विगत २२ दिनदेखि ओपिडी सेवा आंशिक रुपमा बन्द छ ।
‘शुरुमा हामीले विहान ८ बजेदेखि १० बजेसम्म ओपिडी बन्द गराएका थियौं, माग सुनुवाई नभएकाले दिउँसो १ बजेसम्म ओपिडी बन्द गराएका छौं,’ उनले भने ।
कर्मचारीको आन्दोलनका कारण सर्वसाधारण बिरामीका उपचामा बाधा पुगेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालमा दिनहुँ बिरामीको भीड लाग्ने गरेपनि दिउँसो ५ घण्टा बढी ओपिडी सेवा बन्द हुन जाँदा बिरामीले उपचार नपाएका हुन् । कर्मचारी संगठनका नेताहरुले यसप्रति क्षमाप्रार्थी रहेको बताए ।
अस्पताल प्रशासन र कर्मचारीविच सन् २०१० मा भएको संझौता अनुसार नै कर्मचारीले उपदान पाउँदै आएका थिए । नयाँ श्रम ऐन आएपछि पनि कर्मचारीले पुरानै ऐन अनुसार सुविधा मागेको अस्पताल प्रशासनले जनाएको छ ।
नेकपा एमाले निकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल शिक्षण अस्पतालका अध्यक्ष अमृत पौडेलले पुरानै ऐन अनुसार आफुहरुले सुविधा पाउनुपर्ने दाबी गरे । नयाँ श्रम ऐनमा पनि यसअघिको संझौता अनुसार कर्मचारीले सुविधा पाउने व्यवस्था गरेको भन्दै उनले उपदानमा जान चाहने कर्मचारीले पुरानै ऐन अनुसार सुविधा पाउनुपर्ने उनले दाबी गरे । नयाँ ऐन अनुसार उपदानमा निस्कँदा १ लाखदेखि डेढलाख रुपैयाँसम्म कम सुविधा पाउने उनको भनाई छ ।
कर्मचारीलाई दिनुपर्ने सुविधाका विषयमा सुत्केरी र किरया बिदाका बारेमा अस्पताल प्रशासनले उल्लेख नै नगरेको र विगत ७ बर्षदेखि कार्यरत कर्मचारीलाई समेत स्थायी नगरेको उनको दाबी छ । आन्दोलनरत कर्मचारीले तलबवृद्धीको समेत माग राखेका छन् ।
अस्पताल प्रशासनले आन्दोलनरत कर्मचारीलाई पटक पटक वार्ताका लागि लिखित रुपमा बोलाएपनि अस्विकार गरेको दाबी गरेको छ । ‘वार्तामार्फत समस्याको समाधान गर्न २ वटा पत्र लेखिसक्यौं, उहाँहरु आउनुभएको छैन,’ अस्पतालका मानव संशासन तथा प्रशासन प्रमुख भानु भारद्धाजले भने ।
एमाले निकट कर्मचारी संगठनका अध्यक्ष पौडेलले वार्ताका लागि २ वटा पत्र प्राप्त भएको स्विकार गरे । तर पत्रमा वार्ता गर्ने स्थान र समय उल्लेख नभएकाले वार्तामा जान नसकेको उनको भनाई छ । वार्ताको आह्वान श्रम कार्यालय र जिल्ला प्रशासनलाई देखाउन मात्र पत्र लेखेको उनले दाबी गरे ।
अस्पताल प्रशासनले राजनीतिक दलका भातृ संगठनहरुले निरन्तर आन्दोलन गर्दा अस्पतालको सेवा प्रभावित हुन पुगेको बताएको छ । विगत १२ बर्ष भन्दा अघिदेखि मणिपाल अस्पतालमा कर्मचारीले निरन्तर आन्दोलन गर्दै आएका छन् । अस्पतालमा पूर्णकालीन नियुक्ती पाएका कर्मचारीसमेत अन्यत्र अस्पतालमा काम गर्न जाने र मणिपालमा आन्दोलन गरेर सेवा अवरुद्ध पार्ने मनसाय राखेको प्रशासनले जनाएको छ ।
कर्मचारी युनियनहरुले भने मणिपाल अस्पतालमा काम गरेपछि बाँकी समय अन्यत्र काम गर्न पाउनु आफुहरुको अधिकार भएको दाबी गरेका छन् । एमाले निकट नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष पौडेलले अस्पतालले आफुहरुको समय दिनमा ८ घण्टा मात्र खरिद गरेको बताए ।
‘हामीलाई अस्पतालले दिनमा ८ घण्टा मात्र खरिद गरेको हो, त्यसपछि बाहिर गएर काम गर्न पाइन्छ,’ उनले भने, ‘नत्र कर्मचारीलाई किन्न प¥यो, हामी २४ घण्टा नै जतिबेला भन्यो त्यतिबेला हाँजिर हुन तयार छौं ।’
अस्पतालको ओपिडी सेवा बन्द गरेपनि आकस्मिक कक्ष, आइसियु लगायतका सेवा भने बन्द नगरेको उनको भनाई छ ।
नेपाली कांग्रेस निकट नेपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष भण्डारीले पनि अस्पतालमा काम गर्ने समय सकिएपछि बाँकी समय कहाँ जान्छ, के गर्छ भनेर पछि लाग्न नहुने बताए । उनले भने, ‘सबैको जिम्मा लिन सकिँदैन, अस्पतालमा ड्युटी सकिएपछि कहाँ जान्छ, के गर्छ पछि लाग्दिन ।’
अस्पतालमा नियुक्ती लिँदा मणिपाल बाहेक अन्यत्र काम नगर्नेगरी पूर्णकालीन कर्मचारी नै अन्यत्र काम गर्ने गरेका छन् । मणिपालमा दिनभर आन्दोलन गर्ने र साँझविहान अन्यत्र आफ्नै लगानीका वा अन्य स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीले अस्पताललाई धरासायी बनाएको प्रशासनको दाबी छ ।
‘यहाँ दिनभरी आन्दोलन गरेर सेवा अवरुद्ध पार्ने मात्र गरिराख्नुभएको छ, जसको फाइदा उहाँहरु अर्को अस्पताललाई होस् भन्ने चाहनुहुन्छ,’ मणिपाल अस्पतालका एक उच्च अधिकारीले भने, ‘यहाँ फुल टाइम भनेर नियुक्ती लिएकाहरु अन्यत्र काम गर्ने र लगानी गर्ने गरिराख्नुभएको छ ।’
यता, नेकपा माओवादी निकट अखिल नेपाल स्वास्थ्य श्रमिक स्वास्थ्य श्रमिक संघ मणिपाल शिक्षण अस्पतालका अध्यक्ष कमल अधिकारीले अहिले आन्दोलनमा उत्रिएका कर्मचारीले कहींकतै काम नगर्ने अन्य स्वास्थ्य संस्थामा लगानी नगरेको दाबी छ ।
‘अरु अस्पताललाई फाइदा हुनेगरी मणिपालमा आन्दोलन गर्ने कुरा हाम्रो हकमा लागु हुँदैन,’ उनले भने, ‘अहिले हामी जतिपनि आन्दोलित छौं, हामीले अन्यत्र जागिर खाएका छैनौं, र कुनै स्वास्थ्य संस्थामा लगानी गरेका छैनौं ।’
अस्पताल प्रशासनसँग आफुहरुले एउटा पनि नयाँ माग नराखेको उनले बताए । उनले भने, ‘पुरानै सहमति कार्यान्वयन होस् भनेका हौं, मणिपाल अस्पताल डुबोस् भनेर सोचेका पनि छैनौं ।’





