पोखरा/ मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरु सहमतिमा आएसँगै आइतबारबाट अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रुपले संचालनमा आएका छन् ।
नयाँ व्यवस्थापकको रुपमा आएको बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग संवोधन गर्ने प्रतिवद्धता जनाएसँगै भएपछि विवाद टुंगिएको हो ।
लामो समयदेखि मणिपाल शिक्षण अस्पतालका कर्मचारी युनियनले विभिन्न मागहरु राख्दै अस्पताल प्रशासनमा ताला लगाइ विरोध गरिरहेका थिए । तर, प्रशासनले २ महिना भन्दा लामो समयसम्म पनि मागको सुनुवाई नगरेपछि कर्मचारी युनियनले बहिरंग विभाग (ओपीडी) सेवासमेत आंशिक रुपमा बन्द गरेका थिए । विगत १ महिनादेखि ओपीडी सेवा प्रभाविता भएपछि शुक्रबार त्रिपक्षीय वार्ता बसेको थियो ।
त्रिपक्षीय वार्ता बस्दै गर्दा बतास समुहले कर्मचारीको माग सुनुवाई गर्ने लिखित सहमति गरेपछि आइतबारदेखि ओपीडी सेवा पूर्ण रुपमा खुलेको मणिपाल स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले जानकारी दिए । ‘शुक्रबार त्रिपक्षीय वार्ता भएको थियो । वार्तामा सहमति भएसँगै आइतबारबाटै आन्दोलन फिर्ता भएको छ’, उनले भने । पटक–पटक अस्पताल प्रशासनसँग वार्ता बस्ने गरे पनि सुनुवाइ भने कहिल्यै नभएको बताए । मणिपाल कर्मचारी युनियन समन्वय समितिका अध्यक्ष जीवनबहादुर थापाले मणिपाल कलेज तथा अस्पतालले विगत लामो समयदेखि कर्मचारीहरुको यथोचित मागहरु सम्बोधन नगर्दा धर्ना र विरोधका कार्यक्रम गर्न बाध्य भएको बताए । उनले शुक्रबारको वार्ताले सकरात्मक परिणाम दिएको र कर्मचारीको माग पूरा गर्ने भएपछि हालसम्म गरेका सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए ।
कर्मचारी युनियन, मणिपाल अस्पतालको तर्फबाट डीन तथा सिईओ डा. दिलिपचन्द्र अग्रवाल, मानव संसाधन प्रमुख भानु भारद्धाज र बतास समूहबीच छलफल भएको थियो ।
छलफलपछि बतास समूहले हाल करारमा रहेका कर्मचारीलाई वरिष्ठता तथा कार्यकौशलका आधारमा ६० दिनभित्र नियमित (स्थायी) बनाउनेलगायत ८ बँुदे लिखित सम्झौता गरेको छ ।
वार्तामा छलफल भए अनुसार अस्पतालमा कार्यरत कर्मचारीको सेवा सुविधा समय सापेक्ष बनाउन र कर्मचारीले पनि आफ्नो क्षमता, योग्यता तथा पद अनुसार काम गर्ने र भविष्यमा कुनै समस्या आएमा वार्ता वा छलफलबाट नै समाधान खोज्ने र बन्द, ताला लगाउने गतिविधि नगर्ने सहमति भएको छ । वार्ताले श्रम ऐन आउनुपुर्व नियुक्ति भएका स्थायी कर्मचारीको सेवा सन् २०१० नोभेम्बर १ मा जिल्ला प्रशासन कार्यालय कास्कीमा सम्झौता भए अनुरुप उपदान लिने दिने सहमति भएको छ ।
सम्झौतापत्रको बुँदा ५ मा सुत्केरी र किरिया बिदा दिने निर्णय गरेको छ । कर्मचारीको मुख्य मागअन्तर्गत सुत्केरी बिदा र किरिया बिदा पनि रहेको थियो । सम्झौता पत्रमा भनिएको छ,‘मणिपाल कलेज अफ मेडिकल साइन्स तथा मणिपाल अस्पतालमा कार्यरत कर्मचारी सुत्केरी हुँदा श्रम ऐन २०७४ तथा नियमावली २०७५ बमोजिमको सुत्केरी बिदा र आइपर्ने किरिया बिदा समेत प्रदान गर्न सहमत छौँ । उल्लेखित बिदा नपाइ तलब कट्टि भएका कर्मचारीको हकमा पनि कट्टि भए बराबरको रकम, आवश्यक कागजात पेश गरेपछि समायोजन पक्षमा दुवै पक्ष सहमत छौँ ।’
मणिपाल कर्मचारी युनियन समन्वय समिति, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ, मणिपाल स्वतन्त्र कर्मचार युनियन र मणिपाल कलेज अफ मेडिकल साइन्स तथा मणिपाल अस्पताल व्यवस्थापनबीच अनौपचारिक र औपचारिक वार्ता पछि सहमति जुटेको हो ।





