पोखरा/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले पोखरा उपत्यका नगर विकास समितिलाई पत्र काट्दै १५ दिनभित्र विभिन्न कागजात उपलब्ध गराउन पत्राचार गरेको छ । विभिन्न चारवटा शीर्षकमा उजुरी परेपछि अख्तियारले समितिको कार्यालयलाई पत्राचार गर्दै आवश्यक विवरण मगाएको हो ।
समिति मातहतमा रहेका तीन ठाउँको ६३ रोपनी जग्गा हालै प्रक्रियाविपरित निवर्तमान जिसीले आफन्तलाई भाडामा लगाइएको खुलासा भएपछि अहिले पोखरामा उनको चौतर्फी आलोचना भइरहेको छ । मेयर जिसीले गरेको सम्झौतापत्रमा साक्षी बसेका समितिका कर्मचारीलाई महानगरले आफू मातहतमा तानेको छ ।
महानगरको स्वामित्वमा आउनुपूवै तत्कालीन मेयर जिसीले पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि पर्यटन बसपार्क आफ्नै ज्वाईँ राम भण्डारीका भाई विष्णु भण्डारी समूहको कम्पनी शिला शालिकग्राम कन्सट्रक्सन कम्पनीलाई एक दशकको लागि भाडामा दिएका थिए । त्यही बसपार्कको भाडा र त्यहाँ रहेका सटरको भाडा कसरी दिइएको हो भन्दै अख्तियारले समितिको कार्यालयलाई २१ गते मंगलबार पत्राचार गर्दै विभिन्न विवरण माग गरेको हो ।
स्रोतका अनुसार उक्त पत्रमा अख्तियारले प्रतिक्रियासहित आवश्यक विवरण पठाइदिनुहुन भन्दै समितिको कार्यालयसँग चारबुँदे कागजात मागेको छ । नगर विकास समितिको कार्यालयले बिना विज्ञापन करारमा चारजना आफन्तको नियुक्ति गरेको विषयमा अख्तियारले कागजात माग गरेको छ ।
अख्तियारले पत्र प्राप्त भएको मितिले १५ (पन्ध) दिन भित्र उपलब्ध गराउन निर्देशन पनि दिएको छ । अख्तियारले करारमा नियुक्त भएका आफन्तहरुको नियुक्ति गर्दाको कागजात र उनीहरुले बुझेको पेरोल विवरण मागेको छ । यस्तै, कार्यालयमा भएका सवारीको प्रयोजन माग गर्दै चालु आर्थिक वर्ष २०७८/७९ मा गाडी मर्मतमा भएको खर्चसम्बन्धी कागजात पनि उपलब्ध गराउन माग गरेको छ । अनुसन्धानको लागि अख्तियारले पोखरा पर्यटन बसपार्कमा रहेका सटर तथा बसपार्कको भाडा के कसरी दिएको हो ? त्यसको सम्झौता सम्बन्धि कागजात पनि मगाएको छ ।
यस्तै, कार्यालयका कर्मचारीहरुको कार्यालयमा हुने टिएडीए के कति खर्च भएको हो ? प्रतिवेदनसहितका कागजात माग गरेको छ ।





