मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

ट्याटुलाई कला र संस्कृतिसँग जोड्नेछु : रेशम

ट्याटुलाई कला र संस्कृतिसँग जोड्नेछु : रेशम


  • दिवस गुरुङ
  • असार २७ २०७९, सोमबार

मस्तिष्क पक्षघातले दाहिने हात नचले पनि रेशमको दिमाग भने मज्जाले चल्थ्यो । उनले दिमागसँगै देब्रै हात चलाउन पनि सिके । अहिले उनी देब्रे हातले नै ट्याटु बनाउँछन् ।

कुनै समय थियो, विदेशी पर्यटकहरु नेपाल घुम्न आउँदा फेवातालमा माछापुच्छ«ेको छायाँसहितको फोटो फ्रेम कोसेली पोको पारेरसँगै लान्थे । डिजिटलको जमानमा त आफ्नै क्यामरा र मोबाइलमै धीतमरुन्जेल फोटाहरु कैद गरेर फर्किन थाले । आज समय फेरिएको छ, अनि फेरिएका छन् कोसेलीका स्वरुपहरु पनि । त्यही हिमाल अब क्यामरा वा मोबाइलमा फोटाका रुपमा हैन, ट्याटुका रुपमा शरीरको अंगमा खोपेर जीवनभर बोकेर देश विदेश चहारिरहन्छन्पर्यटकहरु ।

पृथ्वीचोकको देब्रेपट्टि ठूलो भवन छ । त्यहीभवनको माथिल्लो तलको दुई कोठे सटरको प्रवेश द्धारमै ठूलो बोर्ड देखिन्छ, ‘दि आर्ट हाउस ट्याटु सप्लाइस’ । अनि भेटिन्छन्,टाँसिएका विभिन्न आकृतिका चित्रहरु । कति मन्दिरका, बुद्धका त कति सर्पदेखि मानव आकृतिहरु । झन् कोठा भित्रको भित्ताभर स्केच र पेन्टिङहरु सझिएका देखिन्छन् । अनि त्यहीँ साधना गरिरहेका भेटिन्छन् रेशम थापा । उनी कहिले घन्टौं घोत्लिएर कम्प्युटरको स्क्रिनमा विभिन्न आकृतिको डिजाइन गर्छन् त कति आफैं सिसाकलमले सेतो पान्नामा तस्वीर उतार्छन् । ग्राहकको रहर, चाहना र आवश्यकता अनुरुप चित्रहरुको ब्लु प्रिन्ट तयार हुन्छ । अनि सुरु हुन्छ उनको कौशलता देखाउने क्षण । मसिनमा मसी भरेर छालामा चित्र उतार्ने । अर्थात ट्याटु खोप्ने । कैयौं घण्टाको अथक लगाव, मिहिनेत र खटाइले तयार बन्छ ट्याटु ।कुरा गरौं उनै आर्टिस्ट रेशमको ट्याटु मोह ।

केही दिन, हप्ता वा महिनाको लगावले उनी यस कलामा पोख्त भने बनेका हैनन् । उनको चित्रकला, पेन्टिङ र स्केचसँगको निकटता बुझ्न उनको बाल्यकाल फर्किनुपर्ने हुन्छ ।

बाल्यकालदेखिको त्यो चित्र मोहः

पोखरा ३३ बागमारामा ३६ वर्ष पहिला जन्मिएका उनै रेशम थापा सानैदेखि किताबसँग कम र क्यान्भाससँग बेसी रमाउँथे । सिसाकलमभन्दा बढी पेन्टिङ गर्ने ब्रस उनको हातले खोज्थ्यो । अक्षरहरुसँग भन्दा रंगहरुसँग खेल्न रुचाउथे ।

कक्षामा शिक्षकले कुनै कथा वा कविता पढेर सुनाउँदा उनी त्यसका पात्रहरुलाई क्षणभरमै चित्रका रुपमा कापीमा उतारिसक्थे । कहिले पढाइरहेका शिक्षिकाको त कहिले कक्षाकै साथीको तस्वीर हुबहु कापीमा कोर्ने कौशलता देख्दा सबै चकित बन्थे । त्यसैले त सबैको लागि उनलाई बोलाउने प्यारो नाम बनेको थियो, आर्टिस्ट रेशम ।

उनी चित्रकला प्रतियोगितामा जाँदा खालीहात कहिल्यै फर्कन्थेनन्, कहिले पुरस्कार बोकेर आउँथे त कहिले अनुभवहरु बटुलेर । क्यान्भासमा रंगहरुसँग रंगिन चाहने उनको हातले गणितका शुत्र र विज्ञानका हिसाबहरुसँग जोड घटाउ खेल्न सकेनन् । घोकेका अंग्रेजीका जीवनीहरु हैनन्, कापीमा उतारे आफैंले कल्पेका ती जीवनीकारका चित्रहरु । क्यान्भाससँगको सम्बन्ध नजिकिएसँगै चिसियो पाठ्यपुस्तकहरुसँगको सम्बन्ध । वि.सं. २०६० मा कक्षा १० को परीक्षा दिए, तर उनी पास भएनन् । परीक्षामा फेल भएपनि जीवनमा उनी कहिल्यै फेल भएनन् । सफलताका सिढीँहरु उक्लिनै रहे ।

फेरि उनले एस.एल.सीको रि इग्ज्याम दिए, नतीजा झन् पहिलाको भन्दा नाजुक आयो । अनि उनले त्यहीदिनदेखि सदासदाका लागि जिन्दगीको बाटो नै मोडे । अनि रोजे चित्रकलाको बाटो ।

जिन्दगीको त्यो नयाँ मोडः

परिवारको एक्लो छोरो । छोरोले राम्रो पढेर केही राम्रै गरोस् भन्ने चाहना उनका परिवारले समेत साधेका थिए । तर उनले आम मानिस हिड्ने बाटो रोजेनन् ।एसएलसी सिध्याएर सबै साथीहरु विभिन्न विषयका ब्रिज कोर्सहरु गर्न थाले । उनी त्यो भीडमा मिसिएनन् । उनले रोजे आफ्नै रहरको बाटो । त्यतिबेला चित्रकलाको बाटो त्यति सहत त कहाँ थियो र ?

उनको भेट भयो चित्रकार दुर्गा केसीसँग । उनी उनै केसीसँग केही महिना चित्रकलाको तालिम लिए । यसैमा अझ निखार्दै र परिस्कृत बन्दै गए । अनि उनै गुरु केसीकै युनिक आर्ट ग्यालरीमा आबद्द भए । त्यतिबेला बजारमाखुबै चल्ने साइन बोर्ड आर्ट थियो । ‘तिनताका अहिलेको जस्तो प्रिन्टिेट फ्लेसको प्रविधि नै भित्रिएको थिएन,’ उनी थप्छन्, ‘त्यसैले साइन बोर्ड आर्टिस्टहरुको माग बजारमा राम्रो थियो ।त्यतिबेला साइन बोर्ड तयार पारेरै पनि राम्रो कमाइ हुन्थ्यो । दिनरात खटिँदा पनि काम भ्याइदैनथ्यो ।’

ट्याटु कलाले तानेको उनको मनः

केही वर्षमा उनले आफ्नै सानो आर्ट ग्यालरीसुरु गए, बिरौटामा । विदेशी पर्यटकसँगै भित्रिएको थियो आधुनिक ट्याटु प्रचलन । तर पोखरा शहरमै अन्त कतै ट्याटु सेन्टरहरु थिएनन् । एकाध थिए लेकसाइडमा । उनलाई यो कला पनि सिक्न मन लाग्यो । मन लागेर मात्र कहाँ सबथोक पुग्नु र? पोखरामा त के नेपालमै त्यसबेला ट्याटु खोप्ने मेसिनहरु किन्न पाइदैनथ्यो । व्यवसाय गर्नेहरुले आवश्यक सबै सामानहरु विदेशबाटै झिकाउँथे ।सामानहरु झिकाउन न विदेशमा उनका कोही आफन्तहरु थिए, न उनीसँग पर्याप्त लगानी नै थियो ।

जहाँ रहर, त्यहाँ उपाय भनेझैं उनले आफैंले तयार पारे ट्याटु खोप्ने मेसिन । लुगामा लगाउने रंगलाई ट्याटुको रंग बनाए । लुगा सिउने सानो सियोले निडलको काम ग¥यो । अनि विभिन्न सामानहरुको प्रयोग गरेरै कामचलाउ मेसिन बनाए । ‘त्यसरी खोपिने ट्याटु हाइजिनिक त थिएन, तर त्यतिबेला नाममात्रको ट्याटु खोप्दा पनि युवाहरु खुबै रमाउँथे,’ उनी थप्छन्, ‘म दिनभर साइन बोर्ड तयार पार्थे । साँझ फुर्सदमा ट्याटु बनाउन सिक्थे । मेसिनको क्यार क्यार आवाज सुनेर यहाँ ट्याटु पनि बन्दो रहेछ भनेर केही युवाहरु आउन थाले । विस्तारै यो एक कान, दुई कान, मैदान हुँदै सबैमा फैलियो । सुरुमा त आफ्नै साथीभाईलाई सित्तैमा ट्याटु खोप्न सुरु गरँे । पछि यसैमा हात बस्दै गएपछि भने पैसामा अरुका पनि ट्याटु खोपाएँ ।’

आफँैले तयार पारेको मेसिनबाट ट्याटु खोप्दा हाइजिनिक त थिएन थिएन, यसले विभिन्न शारीरिक रोगहरु पनि निम्त्याउन सक्थ्यो । उनी यसबारे सजक भने थिए । त्यसैले ऋण काढेरैविदेशबाट केही थान आधुनिक ट्याटु खोप्ने मेसिनहरु झिकाए । एक जना साथी र उनको सामुहिक लगानीमा पृथ्वीचोकमा खुल्यो, ट्याटु हाउस एण्ड हेन्डसम पार्लर । साथीले पार्लरको जिम्मा समाल्थे, उनी ट्याटु खोप्ने ।

त्यो अकल्पनीय बज्रपातः

सुखदुःख जेनतेन उनको व्यवसाय चलिरहेको थियो । तर समय कहाँ सधैँ उस्तै चल्दो हो र ? उनी दिनभर कम्प्युटर कै स्क्रिनमा घोत्लिरहन्थे । अबेर साँझसम्म काममै हुन्थे । दिमागको काम बेसी, शारीरिक काम कम । एक त शारीरिक व्यायम कम थियो, अर्को उनी रक्सी र चुरोट अत्याधिक सेवन गर्थे । यसैको असर देखियो उनको स्वास्थ्यमा । एकदिन उनी मस्तिष्क पक्षघातको भिक्टिम बने ।

विगतमा फर्कदै उनी भन्छन्, ‘२०७० फागुनताका थियो । केही दिनदेखि मेरो टाउको असह्य दुखिरहेको थियो । एकदिन बिहानै ट्वाइलेट जाँदा चक्कर लागेर म ढल्न लागेको थिएँ । बुबाले आएर मलाई समात्नुभयो । तर मेरो दाहिने भाग नै नचलेको महसुस गरे । दाहिने हात चलाउन खोजेँ, तर सकिनँ । दाहिने खुट्टा अघि सार्न खोजेँ, सम्भव भएन । मेरो त बोली पनि बन्द भएको थियो । मुखबाट वाक्य त के शब्द पनि फुर्न गाह्रो बनेको थियो । लाग्यो, अब मेरो लागि जिन्दगीले यहीँ विश्राम लिदैँछ । आशा मारेको दिन थियो त्यो ।’

पोखराकै विभिन्न अस्पतालमा उपचार गरेका उनी थप उपचारका लागि काठमाडौं जाँदा बल्ल मस्तिष्क पक्षघात भएको निष्कर्ष भयो । उनी छाँगाबाट खसेझैँ भए । तर अवस्था त्यति गम्भीर नभएकाले पूर्ण सुधार नभएपनि क्रमिक सुधार हुने आश्वासन डाक्टरले दिए । केही हप्ता अस्पतालमै उपचार गरेर उनी पोखरा फर्के । अनि जोडिए एबी केयर सेन्टरमा । महिनौंको फिजियोथेरापी, स्पिच थेरापी, अकुपेस्नल थेरापीले स्वास्थ्यमा केही सुधार भयो ।

साइकलले फर्काएको उनको मुस्कानः

एकदिन उनी नजिकैको चौरमा थेरापी गर्दै थिए । दुई जना साइकल चलाएर त्यहीँ आएर आराम गरे । अचानक उनलाई पनि साइकल चलाउने रहर जाग्यो । दाहिने हातले हेन्डल समात्न अझै मिल्दैनथ्यो । पछाडिबाट एकजनाले समातेर उनी साइकलिङ गर्न थाले । कति बेला उनलाई एक्लै छाडिदिएछन्, उनले पत्तै पाएनन् । त्यसदिन पछि उनलाई फरक आत्मविश्वास जाग्यो, अब म साइकल पनि कुदाउन सक्छु ।
उनी पुरानो साइकल चलाउन थाले । साइकल त सबैभन्दा अचुक औषधि नै रहेछ, विस्तारै स्वास्थ्यमा सुधार आएपछि उनलाई लागेको थियो । शारीरिक मात्र हैन, मानसिक रुपमा पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधारहरुको जस उनी साइकललाई दिन्छन् । उनलाई थप हौसला मिलोस् भनेर विश्व साइकलयात्री पुष्कर शाहले आफ्नो पुस्तक विक्रीबाट उठेको रकम उनलाई सहयोग गरेका थिए । त्यहीँ रकमबाट उनले किने नयाँ साइकल । अनि उनी त्यसैमा पोखरा वरपर डुल्न थाले । विस्तारै उनमा दोस्रो जीवन बाँच्ने आशा पलायो ।

ब्याक टु ट्याटु हाउसः

मस्तिष्क पक्षघात भएपछि दाहिने हात नै चलेन । उनको कमाइ खाने हातै नचलेपछि उनी निराशा बने । कैयौं पटक डिप्रेशनमा पुगिने पो कि भन्ने भय थियो मनमा । तर यति सजिलै हिम्मत हार्ने पक्षमा थिएनन् उनी । हात नचलेपनि दिमाग भने मेरो मज्जाले चल्थ्यो, उनी थप्छन्, ‘मसँगै ट्याटु सिकेका भाइहरुलाई पसलमा ल्याएर फेरि ट्याटु हाउस सुचारु गरेँ । अनि मैले आफैँले देब्रे हातले ट्याटु खोप्न सिक्न थालेँ । यो आफैँमा चुनौतीपूर्ण थियो तर असम्भव भने थिएन ।’

एसएलसी पढिसकेको विधार्थीलाई फेरि नर्सरी कक्षाबाट क ख सिकाउनुजस्तै भयो उनको सिकाइ । पहिला कलम समाउन सिके, अक्षर लेख्न सिके अनि सिके चित्र कोर्न । असम्भव भन्ने चिज केही रहेनछ, उनले आज देब्रे हातले कौशलताका साथ ट्याटु खोपेको देख्दा सबैलाई लाग्छ । हिम्मत हार्न भएन । निरन्तरको मिहिनेत र परिश्रमले जस्तोसुकै सफलता हात पार्न सकिन्छ, उनको जीवनले सिकाउने पाठ हो यो ।

सम्झिए श्रीमती र गुरुलाईः

ट्याटु हाउसमै रहिँरहँदा उनीसँग भेट भयो छेवैको मेनपावरकी स्टाफ भारती गुरुङ । फक्रिएको प्रेम विवाहमा रुपान्तरण गर्न दुई वर्ष लाग्यो । अन्तरजातीय विवाहमा बाधिएका उनलाई साथ, हौसला र उर्जा थपिदिनेमाश्रीमती अग्रपत्तिंmमा पर्छिन् । आजको सफलताको पछि आर्ट गुरु दुर्गा केसी, ट्याटु आर्टिस्ट रक्षे गुरुङलगायत अन्य गुरुहरुलाई नसम्झीरहन सक्दैनन् ।

फेरिएको ट्याटु कल्चरः

ट्याटु कल्चर नेपालमा भित्रिएको धेरै भएपनि अझै यसलाई कला र संस्कृतिसँग जोड्न सकिएको छैन । पहिला उनी ट्याटु खोपाउने काम गर्छु भन्न पनि हिचकिचाउँथे । किनकि तिनताका कुलतमा फसेर बिग्रेका ट्यापे, झ्यापे र हिप्पीसँग ट्याटु जोडिएर आउँथ्यो । आज समय फेरिएको छ । यो पनि कलाको अभिन्न अंग बनिसकेको छ । ट्याटु खोप्ने केबल सोख र रहरमात्र नभएर यो त आफ्ना प्रियजन, प्रकृति, वातावरण वा कुनै वस्तुप्रतिसँगको सद्भाव र प्रेम दर्साउने माध्यम पनि बनेको छ ।

ट्याटुलाई कला र संस्कृतिसँग जोड्ने सपनाः

थारु, नेवार, गुरुङ, मगर लगायत विभिन्न जातजातिमा विभिन्न चित्रहरु ट्याटु झै खोप्ने पुराना परम्पराहरु अझै प्रचलित छन् । अब यस परम्परालाई संरक्षण गर्दै नेपालीमाझ मात्र नभई यसको महत्व विदेशीहरु माझ दर्साएर यसलाई ब्रान्डिङ गराउनु पर्नेमा उनको जोड छ । ट्याटु फगत ट्याबुकै रुपमा नलिएर यसलाई कला र संस्कृतिसँग जोड्दै नेपाललाई विश्वकै ट्याटु हब बनाउने सपना उनले बुनेका छन् ।
अथक मिहिनेत, लगनशीलता र एकाग्रताका अनुयायी हुन् थापा । देशमा सम्भावनाहरु नदेखेर सुनौलो भविष्यको खोजीमा विदेशिएका हजारौं
युवाहरुका लागि मात्र हैनन्, जीवनदेखि नैराश्य बनेर थाकेकाहरुका लागि प्रेरणाका स्रोत हुन् उनी ।

अन्त्यमा उनलाई प्रश्न सोध्छु, हजारौंका हजारौं आकृतिका ट्याटुहरु खोप्ने तपाईकै शरीरमा भने कुनै ट्याटु छैन ? प्रत्युत्तरमा उनी भन्छन्, ‘अभाव, संघर्ष र अथक मिहिनेतका रंगहरुले जीवन रंगाइसक्दा ती ट्याटुका जरुरत नै नपर्दो रहेछ सर ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->