पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार बिहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् ।
आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेती गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै पुगेको बेला चिन्ता प्रकट गरे । मेयर आचार्यले आफूसंगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई कारण समाधान के हुन सक्छ बताउन भनेसँगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए ।
उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्ने हुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झ¥यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए ।
उनले मल्चिङ र यसको फाइदा लगायतका विषयमा कृषक र मेयर आर्चायका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई जानकारी दिएका थिए । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा समेत उनले जानकारी दिए ।
मेयर आचार्य पोखरा २१ मा ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरे । कृषक कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएकामा पाँच हजार किलो बेचे बेचेका छन् ।अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बजारबाट व्यापारी पुगेर ल्याउने गरेको उनले जानकारी दिए ।





