पोखरा/ दीपक मनाङेको नामबाट चर्चित गण्डकीका सांसद राजीव गुरुङले संसदमा बोल्ने चाहना कहिल्यै देखाएनन् ।
त्यसो त मनाङेले संसद छिर्न पनि अरु सांसदभन्दा झण्डै एक वर्ष कुर्नुप¥यो । फौजदारी अभियोग लागेका मनाङले २०७५ साल माघ १४ गतेमात्र संसद छिरेका थिए । सपथबारे के गर्ने भन्ने अन्यौल भएका बेला उनले पत्रकारहरुसँग भनेका थिए,‘ सभामुख (नेत्रनाथ अधिकारी)ले कानून बुझेका रहेनछन्, बुझाएँ ।’ सभामुखलाई कानून बुझाए कि बmुझाएनन् कुन्नि ? तर उनलाई सपथ खुवाइयो । त्यसपछि सांसदको रुपमा उनी संसद जान्थे, नबोलेरै फर्कन्थे । नबोलेर के भो त ? भाग्य बलियो थियो । नबोलिकनै उनी गण्डकीमा तीनपटक मन्त्री बने । तीन पटक नै उनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाए ।
उनै मनाङे संसदको बर्खे अधिवेशनमा सांसदले उठाएका प्रश्नको जवाफ दिने गरी प्रदेश सभाको रोष्टममा उभिए । रोष्टममा उभिनु के थियो उनले खेलकुदमन्त्रीको पद नै अर्कालाई दिन मन लागेको सुनाए । मन्त्री हुँदा आत्तिएको उनको जिकिर थियो । उनले आफूलाई भाषणबाजी गर्दै हिँड्ने नेता नभएको बताउनसमेत भ्याए ।
‘जमानामा कांग्रेसमा थिए, त्यतिबेला पनि मैले काम गर्ने हो, म भाषण गर्दै हिड्ने होइन, मेरो सट्टा कसैलाई भाडामा भाषण गर्दिए त्यसलाई १०÷२० हजार दिन्थेँ’, मन्त्री मनाङेले भने ।
नचाहिने ठाउँमा नेताहरुले भाषण गरेको र जनताले विरोध गरिरहेको उनले टिप्पणी थियो । ‘चाहिने नचाहिने ठाउँमा भाषण गरेर के पाउँछौँ हामीले ? पब्लिकले यत्रो विरोध गरेछ । प्रदेश नै खारेज गर्नुपर्छ भनेको छ । मनाङ मुस्ताङ त खारेजकै पक्षमा हो, अरु जिल्लाले त मोज गरिराछ’,उनले थपे ।
भाषणवाज नभएको बताए पनि उनले आफूलाई देश विदेशका घटनाक्रमबारे जानकार रहेको पुष्टि गराए अनि नेपालमा श्रीलंकाकोजस्तो संकट आउनसक्ने चेतावनी दिन भ्याए ।
‘श्रीलङ्का नेपाल हुँदैन, त्यो कसरी हुन्छ ? नेपाल श्रीलङ्का जस्तो होइन । नेपाली त्यस्तो एग्रेसिभ हुँदैन’,उनले भने,‘ तर रिसाइकसेको नेपालीले छाड्दैन ।’
युवा तथा खेलकुद मन्त्रालयमा चालु आर्थिक वर्षको ५ करोड बजेट फ्रिज हुने अवस्थामा छ । बजेट किन फ्रिज भयो भन्ने सांसदहरुको जवाफमा उनले त्यो रकम सामाजिक विकास मन्त्रालयको रहेको र गलत तरिकाले आफ्नो मन्त्रालयमा ल्याइएको जिकिर गरे ।
‘म एउटा कुराको जानकारी दिन चाहन्छु, ५ करोड युवा तथा खेलकुदको बजेट होइन । यसलाई गलत तरिकाले युवा तथा खेलकुद मन्त्रालयमा ल्याएको रहेछ । यसरी बुझ्नुपर्छ । २ करोड ५० लाख चाहिँ म आफैले बनाएको बजेट हो’,उनले भने,‘ त्यसलाई मैले कसरी लागू गर्ने मलाई थाहा छ । यसमा ३३ प्रतिशत खेलाडीलाई ३३ प्रतिशत अपाङ्गलाई र ३३ प्रतिशत हामीले युवाहरुलाई सहभागी गराउने भनेर निर्णय गरेका छौँ ।’
बजेट फ्रिज भए पनि सरकारको पैसा सरकारकै खातामा जाने भएकाले प्रश्न गर्न आवश्यक नरहेको बताउँदै उनले अगाडि भने,‘‘यही कुरा प्राइभेटमा बाहिर बसेर गरेको राम्रो हुन्छ, अस्ति दिएको भए कति राम्रो हुन्थ्यो मलाई,’ उनले भने, ‘यहाँ आएर दिनुहुन्छ, कति गाह्रो हुन्छ मलाई ।’
मन्त्री मनाङेले आफ्नो जिल्ला मनाङमा सबैभन्दा धेरै बजेट पर्यटन क्षेत्रमा आवश्यक पर्ने बताए । तर सरकारले आवश्यक बजेट नदिएको उनको गुनासो छ । ‘सबभन्दा धेरै बजेट चाहिने टुरिजममा हो मेरो जिल्लामा’, उनले भने, ‘५ लाख दिएको छ, घोडा पनि जादैन, खच्चड पनि हिँड्दैन त्यतिमा ।’
उनले आफ्नो मन्त्रालयलाई ५७ करोड चाहिने भन्दै नत्र काम नहुने र बजेट नै नराख्न आग्रह गरे । अहिलेको सरकारले काम गर्ने खर्च मात्र गर्ने गरेको भन्दै उनले अघिल्लो सरकार ठीक भएको समेत बताए ।
‘५७ करोड दिनुपर्छ नत्र काम छैन, नराख्नुस् । केही गर्न सक्दैन । त्यो मन्त्रीको बेइज्जत हुन्छ । तलब सुविधा उति नै हुन्छ, पुलिस दिइहाल्छ । बरु यो हिसाबले पहिलाको ठीक थियो, ७ वटा मन्त्रालय थियो, खर्च बच्थ्यो । अहिले त खर्च गइराछ, काम छैन,’ उनले भने । शिक्षामा एउटा शीर्षकमा १६ लाख र अर्कोमा १० लाख पाएको भन्दै उनले कृषि, स्वास्थ्य, बनमा नपाएको गुनासो गरे ।
मन्त्री मनाङेले आफ्नै युवा तथा खेलकुद मन्त्रालय अहिले चलाए जसरी चलाउन आवश्यक नरहेको बताए । उनले भने, ‘यो मन्त्रालय यसरी नै चलाउने हो भने काम छैन ।’
मन्त्रालयमा कर्मचारी हेरफेर भइराखेको भन्दै उनले आपत्ति जनाए । ‘७ महिनामा ५ वटा सचिव चेन्ज भएको छ, यस्तो त संसारमा हुँदैन । आएको पनि थाहा छैन, गएको पनि थाहा छैन,’ उनले भने, ‘किनभन्दा बजेट छैन भन्छ । सचिवको काम बजेट हेर्ने होइन, तलब हेर्ने हो । नेपालमा हेर्दो रहेछ ।’
आफू खेलकुद मन्त्री भए पनि आप्mनो जिल्ला मनाङमा ५ वटा खेलमैदानका लागि ८ लाखका दरले बजेट दिएको उनले बताए । अरु मन्त्रीले बजेटजति आफ्नै जिल्लामा खन्याएको उनको आरोप छ ।
उनले मुख्यमन्त्री र मन्त्रीलाई आफूहरुले गर्दा बनेको टिप्पणी गरे । ‘मुख्यमन्त्री र अर्थमन्त्रीले बुझ्ने भनेको हामीले गर्दा तपाईंहरु बन्ने हो, तपाइहरुले बनाएर हामी बन्ने होइन’,उनले प्रश्न गरे, ‘मन्त्री र सांसदको हालत यस्तो छ, हामी सबै जोडेर बहुमतको सरकार बनाएको होइन ?’




