पोखरा/ पोखराको जिरोकिलो मिटरदेखि हरिचोकसम्मको बाटो अहिले छ लेनको बनेको छ ।
कालो पिच रहेको सिधा सडकमा तीव्र गतिमा गाडी हुँइकिन्छन् । छ लनेको उक्त सडक जति सवारीका लागि फराकिलो छ उतिनै खतरा पनि छ । जिरोकिलो मिटरदेखि हरिचोकसम्म जाने भूपीशेरचन राजमार्गअन्तर्गतको उक्त राजमार्गमा एउटा साघुँरो पुल छ । त्यो पुल हो फिर्के पुल । जुन पुल बागलुङ बसपार्क र पस्र्याङको बीचमा पर्दछ ।
बुधबार राती उक्त पुलको छेउबाट २ जना सवार ग ४ प ८३२५ नम्बरको स्कुटर खोलामा खस्यो । हरिचोकतर्फबाट जिरोकिलोमिटर तर्फ आउँदै गरेको स्कुटर फिर्के खोलामा खस्दा दुवै जना घाइते भए । उनीहरु घाइते भए । उनीहरु जहाँ खसे त्यहीँ नजिक ठडाइएको पिलरको रड बाहिर निस्किएको छ । पुलबाट खोला करिब २० देखि ५० मिटर मात्रै तल होला तर, त्यहाँ जुन रुपमा पिलरका लागि बनाइएको विम छ त्यो भने निकै खतराजनक छ ।
अघिल्लो वैशाखदेखि बिहीबारसम्म एकै स्थानबाट ४ गाडी खोलामा खसिसके । उक्त दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी क्षति भने ठूलो भइरहेको छ ।
फराकिलो सडमा साघुँरो पुल त्यसमा पनि ट्राफिक संकेत नहुनुनै दुर्घटनाको मुख्य कारण हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक (इन्सपेक्टर) प्रकाश शाहले फराकिलो सडकमा साघुँरो पुल हुनुनै दुर्घटनाको मुख्य कारण रहेको बताउँछन् ।
यो समाचार तयार पार्न जादाँ तत्काल उनले आफ्नो टोली लिएर दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाग्रस्त क्षेत्रमा २ वटा हिलट्यांक समेत राखे ।
केही समयपछि राख्ने योजना बनाएका उनले तत्कालै उक्त स्थानमा आफै पुगि दुर्घटना न्यूनीकरणका लागि ट्राफिक संकेतसहित उक्त हिलट्यांक राखेका हुन् । उनले त्यसलाई थप प्रभावकारी बनाउन छेउमा सचेतनामुलक बोर्ड समेत राख्ने बताए ।
दुर्घटना हुने भएपछि यस अघि पनि ट्राफिक प्रहरीले सम्बन्धित निकायलाई पटक–पटक आह्वान गरेको थियो । तर, कुनैपनि निकायले त्यसलाई गहन रुपमा भने लिएन । उनका अनुसार सडक विभागले पुल बनाउने टेन्डर दिएपनि प्राविधिक कारण देखाउँदै पुल निमार्ण हुन नसकेको जानकारी पाएको उनले बताए ।
‘दुबैतर्फ बाटो फराकिलो छ । पुल साघँुरो छ भन्ने कुरा थाहा हुँदैन् । विशेष गरी हरिचोकबाट आउँदा लेनचाहिँ सिधैं पुलको साडइ तर्फ नलागि खोला तर्फ लाग्छ । त्यसकारण त्यहाँ दुर्घटनाहरु बढिरहेका छन्’, उनले भने,‘हामीले सम्बन्धित निकायसंग तुरुन्तै बनाउन आग्रह गरेका छौँ । कहिजो मात्रै नभई पटक पटक हरिचोकतर्फबाट आउने सवारी खस्ने गरेको पाइन्छ ।’
२०७८ बैशाख १० गते ग ३ च ६५८३ नम्बरको कार पनि त्यहीँ बाट खसेको थियो । यस्तै सोही वर्षको असार ८ गते ग३च ३२०६ नम्बरको गाडी, भदौ २३ गते युएनको ६०–०–४६७ नम्बरको गाडी समेत उक्त स्थानबाट खसेको थियो । सबै दुर्घटनामा मानवीय क्षति नभएपनि पनि सवारी क्षति ठूलो र हरेक पटक घाइते भने भइरहेका छन् । उनले हरिचोकदेखि जिरोकिलोमिटरतर्फ अर्थात फिर्के पुल भएर जाने सबै सवारी चालक तथा सर्वसाधारणलाई सचेत हुन आग्रह समेत गरे ।
अझै बन्न सकेन पुल
सडक विस्तार भएसंगै पुल भएको स्थानमा नयाँ पुल बनाउने योजना समेत बनेको थियो । २०७७ सालमा टेन्डर भएको पोखरा महानगरपालिका ५ का वडा अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उक्त टेन्डर शान्ति आर.ओ.जे. जेभि निमार्ण कम्पनीले प्राप्त गरेको हो । तर, स्थानीयको विरोधका कारण पुल निमार्ण हुन नसकेको उनीहरुको भनाई रहेको बरालले जानकारी दिए । निमार्ण कम्पनीका ठेकेदार भने धेरै रहेका छन् । तीमध्ये दुई जना चाहिँ उमेश शाह र समिर केसी रहेका छन् ।
‘हामीले बुझेँ अनुसार त्यहाँका १८ परिवारले आफ्नो जग्गा परेको भन्दै मुद्धा हालेका रहेछन्’, उनले भने,‘अहिलेसम्म मुआब्जा नपाएकाले काम रोकिएको हो । हामीले सुनेको नेपाल सरकारले अब मुआब्जा दिदैँछ । मुआब्जा पाएपछि पनि काम रोकियो भने निमार्ण कम्पनीलाई नै कारवाही हुनेछ ।’उनका अनुसार पुलका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ । पुल ३ वर्षदेखि अलपत्र पर्दासमेत राज्य मौन हुँदा दुर्घटना भने बढेको बढ्यै छ ।





