बागलुङ/ हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको सुविधासम्पन्न प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षबाट प्रयोगमा ल्याउनेगरी प्रशासनिक भवन निर्माण गरेको हो ।
गत आर्थिक बर्षको अन्त्यसम्ममा भवन निर्माणको ८५ प्रतिशत काम सकिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए । ‘अब सामान्य कामहरु बाँकी छन्, तोकिएको समयभित्रै भवन हस्तान्तरण हुनेमा हामी आशावादी छौं’ रानाले भने ‘अहिले साँघुरो भवनबाट सेवा प्रवाहमा समस्या भैरहेको छ, भवन निर्माण सम्पन्न भएपछि धेरै सहज हुनेछ ।’ साविकको कागवेनी गाउँविकास समितिको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको गाउँपालिकाले दुई बर्षअघिदेखि आफ्नै भवन निर्माणको काम थालेको थियो ।
४ करोड लगानीमा निर्माण भएको दुईतले भवनमा गाउँपालिकाका बिभिन्न शाखा सञ्चालनका लागि आवश्यक कार्यकक्ष, सभाहल शौचालय लगायतका संरचना तयार भएका छन् । भवन निर्माणका लागि श्री गीता/क्रियटीभ जेभीले जिम्मेबारी पाएका थिए ।
भवन निर्माण पश्चात गाउँपालिकाका सेवालाई थप सहज र सरल बनाईने रानाले बताए । पुरानो भवनबाट सेवा प्रवाह गर्दै एकै ठाउँमा सम्बन्धित शाखाहरु सञ्चालन गर्न समेत कठिन रहेको छ । गाउँपालिकाले प्रशासकीय भवन निर्माणको कामलाई प्राथमिकतामा राखेर अघि बढाएको थियो । गण्डकी प्रदेश सरकार, संघीय सरकार र गाउँपालिका समेतको साझेदारीमा भवन निर्माण थालिएको थियो ।
निर्माणाधिन भवनलाई प्रयोग गरेर गाउँपालिकाले कार्यपालिका बैठक, गाउँसभा तथा अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्नेछ । भवन निर्माण पूर्व यहाँ सार्वजनिक कार्यक्रम गर्नका लागि सभाहलको समस्या थियो ।





