बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नमखुलेक र मार्चेमा चौरीको रगत पिउने मेला

नमखुलेक र मार्चेमा चौरीको रगत पिउने मेला


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७९, मंगलबार

बागलुङ/ तीन बर्षदेखी कोरोना त्रासका कारण रोकिएको चौंरीको आलो रगत पिउने मेला यो बर्ष धुमधाम भयो । हिमाल पारीको जिल्ला मुस्ताङका उच्च लेकहरुमा मेला भर्नकै लागि सायौं मानिसहरुको भीड लाग्यो । चौरी र मानिसको भीडले मुस्ताङका लेकहरु भरीभराउ थिए । चौंरी पालेका किसान गोठालो लागेर मेलामा पुगे, देशभरबाट चौंरीको आलो रगत पिउनेहरु र आलो रगत पीएको हेर्नेहरुको समेत मेलामा भीडनै थियो ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ नमखुलेकमा चौंरीको आलो रगत पिउने मेला सुरु भएको छ दिन बित्यो । सातौं दिनमा यो मेला सकिने छ । बर्सेनि बैशाख र श्रावण महिनामा याक÷चौंरीको आलो रगत खाने मेला लाग्ने गर्छ । कोरोनाका कारण तीन बर्षदेखि रोकिएको मेला यो बर्ष सञ्चालन हुँदा सयौं जिल्ला बाहिरका पर्यटक नमखुलेक पुगेको वडाध्यक्ष प्रदिप थकालीले बताए । ‘यहाँको पर्यटनको एउटा आयाम हो चौंरीको रगत पिउने मेला’ थकालीले भने ‘बर्षेनी दुई सिजनमा मेला चल्छ, मुलुकभरबाट यहाँ मानिसहरु आउँछन् ।’

नमखुलेंकमा लागेको मेलामा मात्रै यो बर्ष झण्डै दुई सय जनाले चौंरीको आलो रगत पिएका छन् । ‘सात दिनसम्म बिहान र बेलुका गरेर रगत पिउने चलन छ’ थकाली भन्छन् ‘लामो समयको बसाईले अन्य क्षेत्रको कारोवार पनि बढाउँछ ।’ चौंरी पालेका किसानले प्रतिगिलास रगतको दुई सय रुपैयाँ लिने गरेका छन् । नमखुलेंकमा मात्रै किसानले ३ सय बढी चौंरी र याक पालेका छन् । साउने सिजनको मेलामा १ सय ५० बढी चौंरीको आलो रगत निकालिएको थकालीले बताए ।

कोरोनाको जोखिम कम हुँदै गएपछि मुस्ताङका याक र चौंरी पालकहरूले ३ वर्षसम्म रोकिएको आलो रगत खाने मेलालाई यसवर्ष पूनः निरन्तरता दिएको थकाली बताउँछन् ।
मुस्ताङको नमखुलेंकसहित थासाङ गाउँपालिकाको मार्चे लेंकमा पनि चौंरीको आलो रगत पिउने मेला हुने गरेको छ । त्यहाँ नमखुलेंकमा भन्दा धेरैले आलो रगत पिएकोे जोमसोमका पशुपालक भुपेन्द्र शेरचनले जानकारी दिए । ‘चौंरीको आलो रगत खानकै लागि बाहिरी जिल्लाबाट आएका पर्यटकहरु लेकसम्म पुग्छन्’ किसान शेरचन भन्छन् ‘जिल्लाभित्रकै नागरिकको बीचमा लोकप्रिय रहेको रगत खाने मेला देशभर चर्चित छ ।’

याक र चौंरीको आलो रगत पिउनाले शरीरको पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ । हिमाली उच्च लेंकमा पालन गरिएका याक र चौँरीले लेकमा पाइने यार्सागुम्बा, पाँचऔले, निरमसी, जटामसी, कुटुकी, वन लसुन र जिम्बु आदि जटिबुटी खाने भएकाले याक र चौंरीको आलो रगत स्वास्थ्यका लागि फाइदाजनक हुने जनविश्वास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->