पोखरा – आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।
आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ ।
‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’
पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको छ । पोखरा-१३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।
कास्कीमा एक दिनमै ३२२.८ मिलिमिटर वर्षा
देशका विभिन्न चार ठाउँमा खतराको तहभन्दा धेरै पानी परेको छ । विभागको मापन अनुसार कास्की, सुनसरी, चितवन र झापामा भारी वर्षा भएको छ ।
पछिल्लो २४ घण्टामा कास्कीको लामपाटनमा सबैभन्दा धेरै ३२२.८ मिलिमिटर वर्षा मापन भएको छ । यहाँ १२ घण्टामै ३१३ मिलिमिटर पानी परेको विभागले जनाएको छ । जबकि २४ घण्टामा १४० मिलिमिटर र १२ घण्टामा १२० मिलिमिटरभन्दा धेरै पानी पर्नुलाई खतरा मानिन्छ ।
कास्कीका साथै चितवनको शक्तिखोरमा २४ घण्टामा १९५.६ र १२ घण्टामा १८२.६ मिलिमिटर, इटहरीको तरहरामा २४ घण्टामा १७२ मिलिमिटर र झापाको दमकमा १२ घण्टामा १२०.४ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि देशका धेरै ठाउँमा सामान्यदेखि मध्य वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर मौसम बदली भई वर्षा जारी रहने छ भने केही ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।
भारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेको र केही ठाउँमा चट्याङसहित वर्षा हुने भएकोले सतर्क रहन महाशाखाले सूचना जारी गरेको छ ।
पहिरोमा परी १ जनाको मृत्यु, २ जना घाइते
पोखरा महानगरपालिका–६ डिहिकोपाटनमा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति करिब १ बजे पहिरोमा परेर लक्ष्मी खड्का क्षेत्रीको घरमा डेरा गरी बस्ने २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं.१ भुर्जुङखोला तातोपानी घर भएका उनलाई १ बजेर ५५ मिनेटमा उद्धार गरी पश्चिम क्षेत्रीय अस्पताल पठाइएको थियो । सन्तोषलाई डाक्टरहरुले २ बजेर २० मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पहिरोमा परेर सन्तोषकी दिदी २७ वर्षीया सुनिता सुनार र उनकी १० वर्षीया छोरी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुमा बाहिरी चोट नदेखिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





