मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

किसानलाई अनुदान र सम्मान

किसानलाई अनुदान र सम्मान


  • ढोरपाटन संवाददाता
  • साउन २० २०७९, शुक्रबार

पोखरा/ पोखरा महानगरपालिकाले कृषकहरूलाई २० लाख बराबरको अनुदान वितरण गरेको छ । मेयरमैत्री बाख्रा पालन प्याकेज कार्यक्रमअन्तर्गत ती समूहहरूलाई ५ लाखका दरले २० लाख बराबरको अनुदान वितरण गरिएको हो । पोखरा महानगरपालिका पशु सेवा शाखाद्धारा आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सो अनुदान वितरण गरेका हुन् ।

अनुदान प्राप्त गर्नेमा मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वा, सराङकोट बाख्रा पालन समूह पोखरा १८, लगनशील बाख्रा पालन कृषक समूह पोखरा ३२ र बेगनास बाख्रा पालन समूह पोखरा ३१ रहेका छन् । प्रत्येक समूहलाई ५ लाखका दरले अनुदान वितरण गरिएको हो । अनुदानले १०० बढी कृषकहरू लाभान्वित हुनेछन् । सो क्रममा मौजा हिल लाइभस्टक फार्म पोखरा २० का कृषक दुर्गाबहादुर गुरुङलाई ‘सर्वोत्कृष्ट वर्ष कृषक’ घोषणासहित सम्मान गरिएको छ । गुरुङले पोखराका विभिन्न स्थानलाई बाख्रा पालनको पकेट क्षेत्रको रूपमा विकास गर्न तथा कृषकहरूलाई प्रोत्साहन गर्ने कार्यमा उल्लेखनीय योगदान गर्दै आएका छन् । यस्तै पोखरा महानगरपालिका भित्र रहेका १७ वटा उत्कृष्ट कृषि फार्महरूलाई पनि सम्मान पत्रले सम्मान गरिएको छ । सम्मानित कृषकका प्रत्येक फार्महरूमा सय बढीको संख्यामा बाख्राहरू पालिएका छन् ।

उक्त अवसरमा प्रमुख आचार्यले आगामी ५ वर्ष भित्र पोखरा महानगरपालिकालाई कृषि तथा पशुजन्य उत्पादनहरू तरकारी, दूध, अण्डा, मासु तथा फलफूलमा आत्मनिर्भर बनाइने बताए ।
कार्यक्रममा पोखरा १३ का वडा अध्यक्ष किरण बराल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डे, कृषि विकास महाशाखाका प्रमुख मनोहर कोरिया, बाख्रा पालन किसान समूह कास्कीका अध्यक्ष एवं वर्ष उत्कृष्ट कृषक दुर्गा बहादुर गुरुङ, पशु सेवा शाखाका प्रमुख नवराज अधिकारी, नमुना प्राङ्गारिक कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ बराल र बाख्रा पालक किसान मिना गुरुङ लगायतले बाख्रा तथा पशुपालनको विषयमा बोल्नुभएको थियो ।

मिलीजुली बाख्रा पालन कृषक समूह पोखरा १३ आर्वाका अध्यक्ष ऋषिराम पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मोहोर पानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल तथा सञ्चालन बाख्रा पालक कृषक कृष्णराज बरालले गर्नुभएको थियो ।

यसअघि बाख्रा मेलामा बोका तथा बाख्राको विद्यामा उत्कृष्ट किसानहरूलाई नगद सहित सम्मान प्रदान गरिएको थियो । बाख्रा पालन तर्फ शङ्कर बराल, ऋषिराम बराल, रमा बराल र बद्री प्रसाद देवकोटा क्रमशः प्रथम, द्धितिय, तृतीय र सान्त्वना भए भने बोका पालन तर्फ ईश्वर बहादुर सिं, विष्णु बहादुर बराल, गीता बराल र कमल बराल प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुन सफल भए ।

पोखरा महानगरपालिकाका ६७ जना कृषकहरूले व्यवसायीक कृषक परिचय पत्र प्राप्त गरेका छन् । वर्णशंकर र शुद्ध गरी पोखराका कृषकहरूको फार्ममा ६७ हजार बढी बाख्राहरू पालिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->