पोखरा/ ‘तीव्र गति जीवनको क्षति’ प्रहरीले सडक छेउ टाँस्ने चेतावनीमूलक नारा हो,यो । सचेतनामूलक यो नारालाई चालकहरुले भने विरलै मनन गर्छन् ।
पछिल्लो समय निकै चर्चा कमाएको भुपी शेरचन राजमार्ग (पोखरा–बागलुङ राजमार्ग) अन्तर्गत पोखरा महानगरपालिका २५ हेम्जाको राजमार्गमा पनि ठ्याक्कै यही भएको छ । याम्दी पुलदेखि घट्टे खोलासम्मको चिल्लो र फराकिलो सडकमा त कसले गाडी नहुँक्याओस् ! आजकल सो सडकमा गाडी गुड्दैनन्, बत्तिन्छन् ।
ट्राफिक नियम अनुसार बजार क्षेत्रमा ४० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिमा सवारी चलाउन पाइँदैन् । तर, बजार क्षेत्रमै पर्ने सो राजमार्गमा कसैले पनि यो नियमलाई ध्यान दिँदैनन् । जसले गर्दा त्यहाँ दुर्घटना हुने क्रम बढेर गएको छ । चिप्लो सडक बनेपछिमात्रै सो क्षेत्रमा १० जनाले ज्यान गुमाएका छन् । तीमध्ये एउटाको यो आर्थिक वर्षमा ज्यान गएको हो । प्रहरीका अनुसार मृत्युको कारण तीव्र गति नै हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रम्ुख तथा प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार तीमध्ये अधिकांश मोटरसाइकल छन् ।
‘मोटरसाइकल तीव्र गतिमा चलाउँदा अनियन्त्रित भइ कोही अन्य सवारीमा ठोक्किने त कोहीले पैदलयात्रीलाई ठक्कर दिने गरेको पाइयो’,उनले भने । उनका अनुसार सो राजमार्ग अन्यत्रको भन्दा फरक छ तर सहरी क्षेत्रमा कसरी गाडी चलाउने भन्नेबारे चालक सचेत नहुँदा समस्या देखिएको छ ।
कानुनले बजार र बस्ती क्षेत्रमा सवारीको गति ४० किलोमिटर प्रतिघण्टा तोकेको छ । हेमजामा मात्रै नभइ अन्य सडकमा समेत वर्षेनी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दो छ । कास्की ट्राफिक प्रहरीले शुक्रबार हेमजामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्यात्मक आँकडा हेरी सवारीको गति परिक्षण समेत गरेको छ । गति मापन यन्त्र (राडार गन) प्रयोग गरी गति मापन गर्दा प्रत्येक आधा घण्टामा ४० वटा सवारी ८० देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्ने गरेको भेटिएको छ ।
‘हामीले देखेँ अनुसार त्यहाँ ८० देखि १२० सम्म पुग्ने रहेछन् गाडीहरु अनि दुर्घटना नहोस कसरी ? त्यहाँ भएका सबै दुर्घटना तीव्र गतिकै कारण हो’, उनले भने । तीव्र गतिमा सवारी चलाउनेलाई एक हजार रुपैयाँ जरिवानासहित सम्झाएर छाड्ने गरेको शाहले बताए





