पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मानमा युनियन कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लोकतन्त्रका लागि लडेका पत्रकारमाथि अंकुश लगाउने नियत नभएको बताए ।
संचारमाध्यममा आउने समाचारप्रति सरकारले सुझावका रुपमा लिएको तर सामाजिक संजालमा गरिने टिकाटिप्पणी मर्यादा विपरीत रहने गरेको उनको भनाई रहेको छ । ।
उनले गण्डकी प्रदेशमा यातायात, मालपात लगायतका कर वृद्धि सम्बन्धमा भएको टिकाटिप्पणीबारे त्यसबारे सच्चाएर सरकार अघि बढेको बताए ।
उनले करका आएका टीकाटिप्पणीलाई मन्त्रालगयत छलफल गरेर अघि बढ्ने प्रतिबद्धतासमेत गरे ।
नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष शिव लम्साल, उपाध्यक्ष नकुल अर्याल, गण्डकी उपाध्यक्ष ऋषिकान्त पौडेल र महासचिव दिलीप पौडेललाई प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले सम्मानपत्र सहित सम्मान गरे ।
कार्यक्रममा प्रेस युनियनका अध्यक्ष शिव लम्सालले श्रमजीवी पत्रकारको पक्षमा युनियनले काम गर्ने बताए ।
सरकारले तोकेको न्युनतम तलबले पत्रकारलाई नपुग्ने भन्दै उनले यसको पुनर्विचार गर्न सरकारलाई आग्रह समेत गरे ।
ठूला संचारमाध्यममा काम गर्ने पत्रकार र साना संचारमाध्यममा काम गर्ने पत्रकारलाई सरकारले एउटै नीतिले हेर्नुपर्ने बताए । उनले संगठनले कसैलाई काखा कसैलाई पाख नगर्ने समेत सुझाव दिए ।
नेपाली काग्रेसका गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेलले लोकतन्त्रको पक्षमा लडेका संचारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको हुने बताए ।
युनियनका उपाध्यक्ष नकुल अर्याल, ऋषिकान्त पौडेल र महासचिव दिलिप पौडेलले पत्रकारलाई व्यवसायी बन्न आग्रह समेत गरे ।





