शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

लामो दौडका घोडा : नवराज

लामो दौडका घोडा : नवराज

पार्टीको आन्तरिक राजनीति र जनप्रतिनिधि दुबै भूमिकामा अब्बल देखिएका नवराजसँग लामो राजनीति यात्राको सामथ्र्य छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २ २०७९, बिहिबार

पाँच वर्षअघि नेकपा एमाले कास्कीले नवराज ओझालाई रुपा गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । स्कूले जीवनदेखि नै राजनीतिमा होमिएका नवराज त्यो बेला मात्र २९ वर्षका थिए । एमालेका घगडान नेतालाई पछि पार्दै टिकट पाएका नवराजले आफूलाई प्रमाणित गरे । उनी भारी मतले विजयी बने । उनै नवराज २०७९ को स्थानीय चुनावमा अध्यक्षमै दोहोरिए । रुपालाई नमूना पालिकामा रुपान्तरण गरेका ओझा दोस्रो कार्यकाल विजयी हुने केही भाग्यमानीमध्ये गनिए ।

साविकको थुम्की, रुपाकोट, देउराली, सिद्ध र हंसपुर गाउँ विकास समिति मिसिएर बनेको ९४ दशमलव ८१ वर्गकिलोमिटर क्षेत्रफलको रुपालाई समृद्ध बनाउने उनको नारा बिक्यो । ‘समृद्ध रुपा बनाउने अभियानमा छौं, अघिल्लो कार्यकाय बाटो, विद्यालय, खानेपानी, स्वास्थ्य क्षेत्रमा विकासका थुप्रै योजना सम्पन्न गरेका छौं, अब जनतालाई आर्थिक रुपमा मजबुत बनाउने र सबै हिसाबमा नेपालकै नमूना गाउँपालिका बनाउने हो’,उनले भनेका छन् । त्यसो त, रुपाको अध्यक्ष भइरहँदा पार्टीभित्र पनि उनको हैसियत बढेको छ ।

अखिलको स्कूलिङ,नेकपा सिद्ध गाउँपालिकाको सहसचिव,अखिल पृथ्वीनारायण क्याम्पसको वाणिज्य विभाग प्रमुख,युवा संघ कास्कीको कार्यवाहक अध्यक्ष,युवा संघको गण्डकी अध्यक्ष,जिल्ला कमिटी कास्कीको सदस्य हुँदै अहिले उनी कास्की एमालेको उपसचिवको जिम्मेवारीमा छन् । १०औं कास्की जिल्ला अधिवेशनबाट उपसचिव बनेसँगै उनको पार्टी आन्तरिक राजनीतिमा पनि प्रभाव बढ्दो छ । २ पटक गाउँपालिका अध्यक्ष र पार्टीको उपसचिवको भूमिकासँगै उनको राजनीतिक कद बढ्दै गएको छ । एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको ‘विश्वासपात्र’ ओझा पार्टीको आन्तरिक राजनीति र जनप्रतिनिधि दुबै भूमिकामा अब्बल देखिएका छन् ।

कास्की क्षेत्र नम्बर १ खगराज अधिकारीको चुनावी क्षेत्र हो । खगराज राजनीतिक जीवनको उत्तरार्धमा छन् । खगराजपछि सो क्षेत्रको एमाले विरासत थाम्ने दौडमा हालका कास्की अध्यक्ष मनबहादुर गुरुङ,लेखक तथा वुद्धिजीवि झकल सुवेदी, मादी गाउँपालिकाका निवर्तमान अध्यक्ष वेदबहादुर गुरुङ,व्यवसायी पुष्पज्योति ढुंगानालगायत दौडमा छन् ।

जिल्ला उपसचिव ओझा स्वभाविक रुपले यौ दौडका बलिया प्रतिस्पर्धी हुन् । मुख्य कुरा, उनलाई उमेरले साथ दिएको छ र युवा नेतृत्वको अपेक्षा गर्नेहरुमाझ रोजाइमा पर्ने प्रचर सम्भावना देखिएको छ । ‘नवराज कास्कीको राजनीतिमा उदाउँदा र सम्भावनायुक्त चतुर नेता हुन्’,उनको राजनीतिक जीवनलाई नजिकबाट बुझेका एक एमाले नेताले भने,‘गुटगत राजनीतिभन्दा माथि उठे भने उनी आउँदो चुनावमा संघ र प्रदेश सांसदमध्ये एक हुने सम्भावना ज्यादा छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->